मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
वीर अस्पतालमा कोरोना परीक्षण गर्दै सर्वसाधारण । तस्बिर : ज्ञानेन्द्र कार्की
२०७७ श्रावण ३ शनिबार ०४:०५:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

उपत्यकामा समुदायमा कोरोना नफैलिएको स्वास्थ्य मन्त्रालयको दाबी : चार हजार आठ सय नमुना परीक्षण गर्दा तीनजनामा मात्रै संक्रमण

Read Time : > 2 मिनेट
२०७७ श्रावण ३ शनिबार ०४:०५:००

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भन्छन्– अहिलेसम्म काठमाडौं सुरक्षित छ : नमुना परीक्षणले अहिलेसम्म काठमाडौं उपत्यका सुरक्षित रहेको देखिएको छ । प्रभावित विभिन्न ठाउँमा समुदायबाट संकलित चार हजार आठ सय नमुना परीक्षण गर्दा तीनजना मात्रै संक्रमित देखिएको छ । यसले काठमाडौं सुरक्षित छ भन्न सकिन्छ । तर, संक्रमण छैन भनेर मास्क नलगाउने, सार्वजनिक यातायातको प्रयोग गर्ने, भिडमा जाने, दूरी कायम नगर्ने गरेमा जुनसुकै वेला पनि संक्रमण फैलिन सक्छ । व्यक्तिगत सावधानी र होसियारीले नै आफू र अरूलाई कोरोनाबाट बचाउन सकिन्छ, यसमा सबै सचेत हुनुपर्छ । 

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्– परीक्षणले आशा जगाएको छ, तर पछिल्लो आवागमनले जोखिम बढाएको छ : सरकारले समुदायमा केन्द्रित रहेर गरेको परीक्षणले राम्रो संकेत गरेको छ । यसले नमुना लिइएको वेलासम्म संक्रमण छैन भन्ने पुष्टि गरेको छ । ४८ सयको परीक्षण गर्दा तीनजनामा मात्रै संक्रमण देखिएको छ । त्यसमा पनि दुईजना बाहिरबाट आएका छन् । यसले आशा जगाएको छ, तर यो स्वाब संकलन गर्दासम्मको अवस्था मात्रै हो । तत्काल चिन्ताजनक अवस्था नदेखिए पनि भोलि के हुन्छ भन्ने यसले निर्धारण गर्दैन । सार्वजनिक यातायात खुलेका छन्, काठमाडौंबाहिरका प्रभावित स्थानबाट आउनेको संख्या रोकिएको छैन । त्यसले जोखिम बढाएको छ ।

सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण अझै समुदायमा नपुगेको बताएको छ । उपत्यकामा गरिएको नमुना परीक्षणमा समुदायमा संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । 

उपत्यकामा संक्रमितको संख्या बढ्न थालेपछि मन्त्रालयले एक हप्ताभित्र अतिप्रभावित ठाउँहरूबाट पाँच हजार नमुना संकलन गरी परीक्षण गर्ने योजना बनाएको थियो । शुक्रबारसम्म संकलन गरिएका पाँच हजार नमुनामध्ये चार हजार आठ सयको रिपोर्ट आइसकेको छ । जसमा तीनजनामा मात्रै कोरोना पोजेटिभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए । 

महाशाखाका अनुसार संक्रमित देखिएकाहरू टोखा नगरपालिका–६ हरियाली बस्तीका हुन् । उनीहरूमध्ये दुईजना एक महिनाअघि बेलायतबाट फर्किएका हुन् । एकजना भने काठमाडौंकै ब्युटिपार्लरमा कार्यरत थिइन् । उनको ‘ट्राभल हिस्ट्री’ खुलेको छैन । उपत्यकाकै कुनै अस्पतालबाट उनमा संक्रमण भएको महाशाखाको अनुमान छ । अहिले ‘कन्ट्र्याक्ट ट्रेसिङ’ भइरहेको छ । 

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण अतिप्रभावित क्षेत्रमा बसोवास गर्ने नागरिकको वर्गीकरण गरेर स्वाब संकलन गरेको थियो । कपन, बुढानीलकण्ठ, भैँसेपाटी, तिनकुने, चाँगुनारायण, गोदावरी, लुभु, कालिकास्थान, महाराजगन्ज, कलंकी, बल्खु, जगती, टेकुका विभिन्न स्थानमा ‘मास’बाट नमुना संकलन गरिएको थियो । 

नमुना परीक्षणको नतिजाका आधारमा समुदायमा अझै संक्रमण नफैलिएको पुष्टि भएको डा. पाण्डेको भनाइ छ । ‘अस्पतालहरूमा श्वासप्रश्वासका बिरामी नबढ्नु, समुदायमा मानिसहरू बिरामी नपर्नु, संक्रमितहरू युवा अवस्थाका मात्रै हुनु, संक्रमितमध्ये ९८ प्रतिशत विदेशबाट आएका हुनु र उनीहरूको सम्पर्कमा आएका केहीलाई मात्रै संक्रमण देखिएकाले आजका दिनसम्म समुदायमा संक्रमण फैलिएको छैन भन्ने बलियो आधार बनेको छ,’ उनले भने । 

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले सरकारले समुदायमा केन्द्रित रहेर गरेको परीक्षणले राम्रो संकेत गरेको बताए । ‘यसले नमुना लिइएको वेलासम्म संक्रमण छैन भन्ने पुष्टि गरेको छ,’ उनले भने, ‘४८ सयको परीक्षण गर्दा तीनजना मात्रै संक्रमण देखिएको छ । त्यसमा पनि दुईजना बाहिरबाट आएका छन् । यसले आशा जगाएको छ तर, यो स्वाब संकलन गर्दासम्मको अवस्था मात्रै हो ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पनि अहिलेसम्म काठमाडौं उपत्यका सुरक्षित रहेको दाबी गरे । ‘समुदायबाट संकलित चार हजार आठ सय नमुना परीक्षण गर्दा तीनजना मात्रै संक्रमित देखिएपछि हालको अवस्थामा काठमाडौं सुरक्षित छ,’ उनले भने । तर, संक्रमण छैन भनेर मास्क नलगाउने, सार्वजनिक यातायातको प्रयोग गर्ने, भिडमा जाने, दूरी कायम नगर्ने गरेमा जुनसुकै वेला पनि संक्रमण फैलिन सक्ने उनले बताए । व्यक्तिगत सावधानी र होसियारीले नै आफू र अरूलाई कोरोनाबाट बचाउन सकिने डा. गौतमको भनाइ छ ।

कोरोना निको हुनेको संख्या पनि बढ्दै

कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको छ । गत २० दिनमा संक्रमितको संख्या थपिनेभन्दा निको हुने बढी छन् । पछिल्लो २४ घन्टामा एक सय एकजनामा संक्रमण देखिएको छ भने दुई सय ८५ जना निको भएर घर फर्केका छन् । देशभर संक्रमितको संख्या १७ हजार चार सय ४५ पुगेको छ भने ११ हजार पाँच सय ३४ जना निको भएका छन् । पछिल्लो २४ घन्टामा चार हजार ६ सय ८८ नमुना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यसैबीच, संक्रमणबाट शुक्रबार एकजनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ । शुक्रबार मृत्यु भएका सप्तरीका ७३ वर्षीय वृद्ध मुटुरोगबाट पीडित थिए । श्वासप्रश्वासमा समस्या देखिएपछि ३० असारमा उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । उपचारकै क्रममै उनको मृत्यु भएको हो ।