१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ श्रावण २ शुक्रबार २१:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिन्धुपाल्चोकका बाढीपहिरोपीडितको घर प्रदेश सरकारले बनाइदिने

Read Time : < 1 मिनेट
२०७७ श्रावण २ शुक्रबार २१:२७:००

बागमती प्रदेश सरकारले सिन्धुपाल्चोकका बाढीपहिरोपीडितका लागि घर बनाइदिने भएको छ । प्रदेश विपत् व्यवस्थापन निर्देशक समितिको शुक्रबार बसेको बैठकले बाढीपहिरोबाट घरमा पूर्ण क्षति भएकाहरूका लागि घर बनाइदिने निर्णय गरेको हो । 

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको समितिको बैठकले घर निर्माणका लागि सम्बन्धित स्थानीय तहले जग्गा उपलब्ध गराउनुपर्ने निर्णयसमेत गरेको छ । स्थानीय तहले उपलब्ध गराउने जग्गामा प्रदेश सरकारले घर निर्माण गरिदिने निर्णय गरेको मुख्यमन्त्री पौडेलले बताए ।

सिन्धुपाल्चोकका बाढीपहिरो पीडितहरूलाई तत्काल राहत पनि उपलब्ध गराइने उनले बताए । पीडित र क्षतिको अवस्थालाई अध्ययन गरेर तत्काल स्थानीय तहमार्फत राहत उपलब्ध गराउने समितिको तयारी छ । बाह्रबिसे नगरपालिकामा ३० लाख, भोटेकोसी गाउँपालिकामा १५ लाख र जुगल गाउँपालिकामा १० लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री पौडेलले बैठकमा जानकारी गराए ।  

प्रदेश सरकारबाट उपलब्ध रकम स्थानीय तहले राहत, घाइतेको उपचार, पुनर्स्थापना कार्यविधिअनुसार गर्न सक्ने व्यवस्था मिलाइएको छ । यसअघि प्रदेश सरकारले निर्णय गरेको मृतकका परिवारलाई एक लाख रुपैयाँ राहतस्वरूप आइतबारसम्म स्थानीय तहमा पठाएर पीडितलाई वितरण गरिने आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले जानकारी दिए । 

विपत् व्यवस्थापन समितिमा तीनजना सांसद मनोनीत 
प्रदेश विपत् व्यवस्थापन निर्देशक समितिमा तीनजना प्रदेश सांसद मनोनीत भएका छन् । समितिको सदस्यमा सांसदहरू राजेन्द्रमान श्रेष्ठ, छिरिङदोर्जे लामा र इन्द्रमाया गुरुङलाई मनोनीत गर्ने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री जमकट्टेलले जानकारी दिए ।

बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामिलामन्त्री जमकट्टेल, प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामालगायत मन्त्रालयका सचिवहरू सहभागी थिए ।