पुर्पक्षका लागि थुनामा रहेका कैदीले गरे कारागारको सौचालयमै आत्महत्या
हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका दोलखाका एक पुरुषले कारागारको सौचालयमै आत्महत्या गरेका छन् । कालिञ्चोक गाउँपालिका–५ लापिलाङस्थित ढुंगेका २४ वर्षीय च्याङा शेर्पाले गएराति चरिकोट कारागारको सौचालयमा झुन्डिएर आत्महत्या गरेका हुन् । अदालतको आदेशपछि उनलाई मंगलबार मात्रै पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।
शेर्पाले कारागारभित्रै शौचालयको झ्यालमा जुत्ताको लेसमा झुन्डिएर आत्महत्या गरेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) बासुदेव पाठकले जानकारी दिए । मध्यराति शेर्पा शौचालय गएको र लामो समयसम्म नफर्किएपछि खोजतलास गर्दा साँढे १२ बजे शेर्पालाई शौचालयको झ्याँलमा झुन्डिएर मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
शेर्पालाई दोलखा प्रहरीले २० पुसमा श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ गरेको थियो । पक्राउपछि २४ दिन प्रहरी हिरासतमा रहेका उनलाई मंगलबार मात्रै प्रहरीले अनुसन्धान पुरा गरी जिल्ला अदालतमा बुझाएको थियो । शेर्पाकी श्रीमती लक्की शेर्पा १६ पुसमा चरिकोटस्थित आफ्नै कोठामा सल बेरी झुन्डिएरको अवस्थामा फेला परेकी थिइन् । मृतक शेर्पाको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा राखिएको छ ।