मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तिवारी यादव वीरगन्ज
२०७७ श्रावण २ शुक्रबार १८:३०:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

वीरगन्ज भन्सारबाट लक्ष्यअनुसार राजस्व संकलन भएन

Read Time : < 1 मिनेट
२०७७ श्रावण २ शुक्रबार १८:३०:००

लकडाउन र सीमानाका बन्दले वीरगन्ज भन्सार कार्यालयको राजस्व संकलनमा असर परेको छ । लामो समयसम्म सीमानाका सिलबन्दी हुँदा अति आवश्यकबाहेकका अन्य सामग्री आयात भएनन् जसको असर राजस्व संकलनमा परेको हो । 

वीरगन्ज भन्सार कार्यालयका अनुसार लकडाउनले तीन महिना राजस्व संकलन प्रभावित भयो । सरकारले १६ चैत ०७६ पछि ५० हजार डलरभन्दा बढी मूल्यका सवारीसाधन, विदेशी मदिरा, इनर्जी ड्रिंक, मरिच, केराउलगायतका सामानमा प्रतिबन्ध लगाएकाले राजस्व संकलनमा कमी आएको भन्सार अधिकृतहरूको भनाइ छ ।

कति संकलन भयो राजस्व
देशको मुख्य भन्सार नाका वीरगन्ज भन्सारलाई एक खर्ब ८८ अर्ब रुपैयाँ राजस्व लक्ष्य तोकिएकोमा एक खर्ब २६ अर्ब रुपैयाँ मात्र असुल भएको छ । वीरगन्ज भन्सार भएर भित्रिने इन्धन र सवारीसाधन आयातमा अधिकतम गिरावट आएपछि राजस्व संकलनमा असर परेको कार्यालयका सूचना अधिकारी विमलकुमार साहले जानकारी दिए । निर्धारित लक्ष्यको ६७ प्रतिशत राजस्व संकलन भएको उनले बताए । यस्तै भन्सारले गत आव ०७५/७६ मा लक्ष्यको ७२ प्रतिशत उठाएको थियो । 

यस्तै सुक्खा बन्दरगाह भन्सारले ३६ अर्ब १९ करोड रुपैयाँ राजस्व असुल गरेको छ । सुक्खा बन्दरगाह भन्सारलाई गत आवमा ४१ अर्ब ८८ करोड रुपैयाँको लक्ष्य दिइएको थियो । वर्षको अन्तिममा लकडाउनका कारण आयात प्रभावित हुँदा लक्ष्य भेट्न नसकिएको भन्सार प्रमुख उमेश श्रेष्ठले बताए । संकलित राजस्व वार्षिक लक्ष्यको ८६ प्रतिशत हो । सरकारले विलासिताका वस्तु आयातमा गरेको नियन्त्रण तथा वैदेशिक व्यापारमा आएको कमीको प्रभाव समग्र राजस्व संकलनमा परेको अधिकारीहरूले बताएका छन् ।