मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ श्रावण २ शुक्रबार १३:०२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

उपेक्षामा मोरङ आयुर्वेदिक अस्पताल

Read Time : > 1 मिनेट
२०७७ श्रावण २ शुक्रबार १३:०२:००

संघीय र प्रदेश सरकारले हरेक वर्षको नीति तथा कार्यक्रममा आयुर्वेदिक औषधि र उपचारमा प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै आए पनि व्यवहारमा आयुर्वेदिक संस्थाहरू प्राथमिकतामा पर्न भने सकेका छैनन् । 

विराटनगरमा रहेको  मोरङ जिल्ला आयुर्वेद अस्पताल अझै उपेक्षामा परिरहेको छ ।  

विराटनगर महानगरपालिका– ४ जामुनगाछीमा रहेको मोरङ जिल्ला आयुर्वेद अस्पतालसम्म पुग्ने बाटो  असुरक्षित हुनु, साँघुरो र डुबान क्षेत्रमा रहेको भवनमा अस्पताल सञ्चालन गरिनु अनि अस्पतालमा अन्तरंग सेवाका लागि बेड स्थापना नगरिनुले अझै  उपेक्षामा परिरहेको प्रस्ट भएको हो ।  

सरकारी बेवास्ताकै कारण ०५३ देखि विराटनगरमा जिल्ला आयुर्वेद उपचार केन्द्र मात्र सञ्चालन भएको थियो । 

आफनो भवन नहुँदा विभिन्न स्थानमा भाडाको घरमा सञ्चालन हुँदै आएको केन्द्र ०६५  देखि जामुनगाछीस्थित आफ्नै भवनमा अस्पतालका रूपमा सञ्चालन हुँदै आएको हो । 

तर, आफ्नै भवन निर्माण भएर जिल्लास्तरको आयुर्वेद अस्पताल सञ्चालन भइरहे पनि  अझै शय्या भने स्थापना भएको छैन । 

शय्याया अभावमा चिकित्सकहरूले बिरामीहरूलाई बहिरंग (ओपिडी) उपचार  सेवा मात्र दिइरहेका छन् । 

हाल अस्पतालमा एकजना आयुर्वेदिक चिकित्सक, एक कविराज र दुईजना वैद्यसहित जम्मा १९ जना कर्मचारी कार्यरत छन् । 

अस्पतालले आफ्नै ल्याव र थेरापी सेवा सञ्चालन गरे पनि अझै एक्सरे, अल्ट्रासाउन्ड, अप्रेसन थिएटर आदि स्थापना भएकै छैन । 

जामुनगाछी चौकबाट उत्तरमा रहेको अस्पतालसम्म जाने साँधुरो ग्राभेल बाटो मात्र छ । त्यो पनि वर्षायाममा डुबानमा पर्ने गरेको छ । अस्पतालको भवन पनि वर्षातको समयमा डुबानमा पर्ने गरेको छ ।

बिरानो र असहज स्थानमा भएकोले फाट्टफुट्ट बिरामीहरू मात्र सोधखोज गरेर उपचारका लागि अस्पतालसम्म पुग्ने गरेका छन् । 

अस्पतालका आयुर्वेद  चिकित्सक डा. रविन्द्र निरौलाका अनुसार सामान्य अवस्थामा बढीमा ८० जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन् । 
भरपर्दो र दिगो औषधि उपचारका लागि मानिसले आयुर्वेदिक उपचार पद्धतिमा विश्वास गर्ने गरेका छन् । 

तर, अस्पतालको स्तरोन्नति र प्रचारप्रसारको अभावमा धेरैले अस्पताल र उपचार सेवाबारे जानकारी नै पाएका छैनन् ।

डा. निरौलाका अनुसार पहिलाको तुलनामा मानिसको आयुर्वेदिक औषधि र उपचारप्रति आकर्षण बढिरहेको छ । 

तर ,सरकारले प्रतिबद्धता जनाएअनुसार सुविधासम्पन्न अस्पताल निर्माण गरेर उपचार सेवा दिलाउन कन्जुस्याइँ भइरहँदा अपेक्षाअनुसार आयुर्वेदिक उपचार पद्धतिप्रति मानिसले सेवा भने पाउन सकेका छैनन् । 

अस्पतालले प्रदेश सरकारको सहयोगमा गत वर्षदेखि स्वास्थ्य जीवन, योग शिविर, ज्येष्ठ नागरिक र गाउँघर क्लिनिक आदि कार्यक्रम सञ्चालन गर्ने गरेको छ । 

सीमित बजेटमा वर्षमा एक–दुईपल्ट मात्र गरिने ती कार्यक्रमले आयुर्वेद उपचारको उचित प्रचारप्रसार नहुने गरेको सरोकारवालाहरूरु बताउँछन् । 

जिल्ला आयुर्वेद अस्पतालले बिरामीहरूरुलाई चेकजाँचपछि २३ प्रकारका आयुर्वेदिक औषधिहरु निःशुल्क उपलब्ध गराउने गरेको छ । 

तर, धेरैले अझै आफ्नै जिल्लामा आयुर्वेद अस्पताल छ र त्यहाँ निःशुल्क उपचार हुन्छ अनि औषधि पनि निःशुल्क  पाइन्छ भन्ने जानकारी नै पाएका छैनन् । 

जसले गर्दा व्यावसायिक आयुर्वेदिक क्लिनिकहरूमा बिरामीहरू उपचारका लागि जाने गरेका छन । अर्कोतर्फ जडीबुटी औषधि र परम्परागत उपचारको भर पर्नुपर्दा बिरामीहरू नक्कली कविराज, वैद्यहरूबाट  ठगिने पनि गरेका छन् ।