Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण ३० शुक्रबार
  • Friday, 14 August, 2020
२०७७ श्रावण २ शुक्रबार १०:२१:००
नयाँCity प्रिन्ट संस्करण

भक्तपुरका दुई पोखरी  तीन सय वर्षअघिको स्वरूपमै

२०७७ श्रावण २ शुक्रबार १०:२१:००

वरिपरि अग्ला घर । नेवार बस्ती, नेवारी कला र संस्कृति । मेला, जात्रा र पर्वमा मौलिक बाजाबाट गुञ्जायमान माहोल । बीचमा दुईवटा खाली मैदान । हिउँदमा बालबालिकाले खेल्ने र ज्येष्ठ नागरिकले घाम ताप्ने चौर । टोलको नाम निगुःपुखः, अर्थात् दुई पोखरी । केही महिनाअघिसम्म भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ स्थित दुई पोखरी क्षेत्रको दृश्य हो, यो ।

यो दृश्य अहिले फेरिएको छ । पानी सुकेपछि पुनर्भरण र संरक्षण नहुँदा मैदानमा परिणत भएका पोखरीले नयाँ जीवन पाउँदै छन् । दुईमध्ये एउटा पोखरीको पुनर्निर्माण सकिएको छ भने अर्को पनि वर्षदिनभित्र तयार हुँदै छ ।

६० वर्षयता पोखरी क्षेत्र कहिले चौर बन्यो त कहिले झाडी । टोलकै अस्तित्वसँग जोडिएका पोखरीमा पानी जमेको हेर्न वर्षायाम नै कुर्नुपथ्र्यो । टोलवासीको माग सम्बोधन गर्दै नगरपालिकाले दुवै पोखरीलाई पुनर्जीवन दिँदै छ ।

यी पोखरीको इतिहास करिब तीन सय वर्ष पुरानो छ । तत्कालीन गंगा महारानीले पोखरी बनाएर स्थानीय बासिन्दालाई पानीको स्रोत जुटाइदिएकी थिइन् । स्थानीय उत्तरकुमार श्रेष्ठका अनुसार समयक्रममा पोखरीमा पानी सुक्न थाल्यो । वरिपरिका पानीका स्रोत मासिए । हिउँदमा सुक्ने र वर्षामा भरिने हुन थाल्यो । तर, पोखरीको रूप नै बदलिने गरी कुनै गतिविधि भएको थिएन ।

०१५ सालमा तत्कालीन राजा महेन्द्रले मध्यपुरथिमी क्षेत्रको भ्रमण गरे । त्यही वेला पोखरीको पानी पूरै सुकाएर मैदान बनाइयो र राजाको सत्कारका लागि प्रयोग गरियो । त्यसयता नै हो, पोखरीको अस्तित्व मेटिँदै गएको पनि । स्थानीय बासिन्दाले पोखरी संरक्षण गर्ने प्रयास नगरेका होइनन्, तर पानीको स्रोत नहुँदा सफल भएन।

‘पोखरी जोगाउने प्रयास पटक–पटक गरियो, तर दिगो हिसाबबाट पानी जमाउन सकिएन,’ उपभोक्ता समितिका अध्यक्ष नीरञ्जन श्रेष्ठ भन्छन् । सहरीकरण बढ्नुअघिसम्म पनि ६ महिना पोखरीमा पानी जम्थ्यो । वरिपरिको क्षेत्र कंक्रिटको जंगलले ढाकिएपछि दुवै पोखरी खाली मैदानमा परिणत भए ।

पोखरी संरक्षणका लागि ०६५ सालमा नगरपालिकाले १० लाख रुपैयाँ दियो । पोखरीको क्षेत्रलाई बार लगाएर घेरियो । पानी पनि हालियो, तर फेरि चाँडै सुक्यो । १२ वैशाख ०७२ को भूकम्पपछि दुवै मैदान अस्थायी टहराले भरिए ।

निगुःपुखुःजस्ता ऐतिहासिक पोखरी, सम्पदा र संस्कृतिको संरक्षण गर्न पुनः जनप्रतिनिधि नै आउनुपर्‍यो । आफूहरूले जिम्मेवारी सम्हालेपछि ऐतिहासिक सम्पदाहरूको संरक्षणलाई प्राथमिकतामा राखेको मेयर मदनसुन्दर श्रेष्ठ बताउँछन् ।

‘पोखरी जोगाउँदा खाली ठाउँ संरक्षण भएको छ । र, त्यहाँको पानी नगरमा आगलागी नियन्त्रणमा उपयोग गर्न सकिने भएको छ । पोखरीको पानी रसाउँदा वरिपरिका मुहान पनि रिचार्ज हुनेछन्,’ श्रेष्ठ भन्छन् ।

नगरपालिकाले विष्णुकुण्डको पुनर्निर्माण गरिसकेको छ । पलि स्वाँ अर्थात् कमल पोखरीको पनि पुनर्निर्माण भइरहेको छ । सबै पोखरी तयार भएपछि आन्तरिक÷बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने मेयर श्रेष्ठ बताउँछन् ।

निगुःपुखःमा उपभोक्ता समितिले पोखरीको चारैतिर इँटाको पर्खाल लगाएको छ । मुनि कालो माटो बिछ्याएर त्यसमाथि इँटा छापेको छ । काठमाडौंको रानीपोखरीकै शैलीमा पुनर्निर्माण भएको वडाध्यक्ष कुमार श्रेष्ठ बताउँछन् । पोखरी संरक्षण तथा पुनर्निर्माणका लागि नगरपालिकाबाट चालू आर्थिक वर्षमा पोखरीवरिपरि पैदलमार्ग र आकर्षक पार्क निर्माणाधीन छन् । योजनामा रहेका आठमध्ये ६ वटा फल्चा निर्माण भइसकेका छन् ।