- शिरको कुनै भागमा दुखाइ महसुस हुनुलाई टाउको दुखेको भनिन्छ । मस्तिष्कको आवरण, धमनी र मांसपेशीमा हुने पीडा नै टाउको दुख्नु हो । कोभिड–१९ महामारीले निम्त्याएको असामान्य परिस्थितिले तनाव बढाएको छ । यससँगै टाउको दुख्ने समस्या पनि बढेको छ ।
- टाउकोदुखाइका विभिन्न प्रकार छन् । माइग्रेन, क्लस्टर, दिमागमा ट्युमर पलाए, संक्रमण भए, दाग लागे या नसा फुटेर प्रेसर बढेमा टाउको दुख्ने गर्छ ।
- कुनै कारण नदेखिँदा पनि लगातार टाउको दुखिरहने समस्या धेरैमा देखिन थालेको छ, जुन तनावका कारण सिर्जित समस्या हो । करिब ६५ प्रतिशतमा तनावका कारण टाउको दुख्ने गर्छ ।
- तनाव बढ्दै जाँदा टाउको कस्सिएकोजस्तो महसुस हुन्छ । यस्तो समस्यालाई ‘टेन्सन हेडेक’ र ‘स्ट्रेस हेडेक’ पनि भनिन्छ । यो समस्या दुई–तीन दिनसम्म रहन सक्छ ।
- तनावका कारण शरीरमा कोर्टिसोल नामक हर्मोन सक्रिय हुन्छन्, जसले मांसपेशीमा असर पार्छ । र, टाउको दुख्ने समस्या निम्तिन्छ ।
- दुखाइ कम गर्न चिकित्सकको परामर्शमा औषधि सेवन गर्नुपर्छ । तर, समस्या बढ्दै गएमा अस्पताल भर्ना हुुनुपर्छ ।
- रमाइलो माहोलमा जाँदा वा शान्त स्थानमा बस्दा ‘टेन्सन हेडेक’ आफैँ निको हुने गर्छ । समस्या लम्बियो भने दुखाइ कम गर्ने औषधि प्रयोग तथा थेरापीबाट उपचार गर्न सकिन्छ । यस्तोखाले दुखाइमा ‘एन्टिमाइग्रेनल’ औषधि प्रयोग गरिन्छ ।
- अधिकांशमा टाउकोदुखाइ सामान्य समस्या हो भन्ने भ्रम छ । तर, यो अन्य रोगको पनि लक्षण हुन सक्ने भएकाले समयमै परीक्षण र उपचार आवश्यक हुन्छ । सामान्य टाउकोदुखाइले स्वास्थ्यमा अन्य गम्भीर समस्या निम्त्याउन सक्ने भएकाले समयमै उपचार गर्नुपर्छ ।
- दुखाइ कम गर्न पेनकिलरको जथाभावी प्रयोग भने गर्नुहुँदैन । आफूखुसी पेनकिलर प्रयोग गर्दा स्वास्थ्यमा अन्य खालको जटिलता निम्तिन सक्छ । त्यसैले चिकित्सकसँग परामर्श लिऔँ र तनाव व्यवस्थापनमा केन्द्रित होऔँ ।