मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण १ बिहीबार २१:३६:००
Read Time : < 1 मिनेट
समाचार

चिनियाँ राजदूतले अकस्मात् भेटिन् परराष्ट्रमन्त्री ज्ञवाली

Read Time : < 1 मिनेट
२०७७ श्रावण १ बिहीबार २१:३६:००


नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिहीबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग  भेटवार्ता गरेकी छिन् । नेकपा शीर्ष नेता केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच बिहीबार बालुवाटारमा भएको वार्तापछि राजदूत यान्छी मन्त्री ज्ञवालीलाई भेट्न सिंहदरबार पुगेकी थिइन् । बिहीबारको भेट अकस्मात् तय भएको परराष्ट्र स्रोतले जानकारी दिएका छन् ।  

परराष्ट्र मन्त्रालयमा उनीहरूबीच अपराह्न करिब ४५ मिनेट कुराकानी भएको परराष्ट्र स्रोतले बताएको छ । परराष्ट्र मन्त्रालयले बुधबार साँझ तयार गरेको परराष्ट्रमन्त्रीको औपचारिक कार्यतालिकामा उनीहरूबीचको भेटवार्ता उल्लेख थिएन । मन्त्री ज्ञवालीका एक सहयोगीले भेटवार्ताको पुष्टि गरेका छन् । तर, भेटवार्ताबारे औपचारिक प्रतिक्रिया दिन परराष्ट्र मन्त्रालय र नेपालस्थित चिनियाँ राजदूतावासले अस्वीकार गरेका छन् । नेकपाको आन्तरिक शक्तिसंघर्ष बढिरहेका वेला राजदूत यान्छीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा शीर्ष नेता माधवकुमार नेपाल, झलनाथ खनालसँग यसबीचमा भेटवार्ता गरिसकेकी छिन् ।  

चिनियाँ राजदूतले शीर्ष नेताहरूसँग नेकपा र सरकारको स्थायित्वमा जोड दिँदै आएकी थिइन् । चिनियाँ राजदूतले नेकपा शीर्ष नेताहरूसँग गरेको भेटवार्ताको कतिपय वृत्तबाट आलोचना पनि हुँदै आएको छ । परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटवार्तामा पनि राजदूत यान्छीले सरकार र नेकपाको स्थायित्वमा जोड दिएकोे बुझिएको छ ।