मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण १ बिहीबार १९:२२:००
Read Time : > 1 मिनेट
खेलकुद

राखेपको नयाँ सदस्यसचिवमा नेकपाका केन्द्रीय सदस्यदेखि पूर्वखेलाडीसम्मको आवेदन

Read Time : > 1 मिनेट
२०७७ श्रावण १ बिहीबार १९:२२:००

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को नयाँ सदस्यसचिव पदका लागि २७ जनाले आवेदन दिएका छन् ।

घरेलु खेलकुदको सर्वाेच्च निकाय राखेपको नयाँ कार्यकारी पदका लागि पहिलोपटक आवेदन आह्वान गरिएको हो, आवेदन दिने अन्तिम मिति बिहीबार (१ साउन) साँझ ५ बजेसम्म थियो ।

जसमा सत्तारुढ दल नेकपानिकट व्यक्तिहरूको आवेदन बढी देखिएको छ । खेलकुदसचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रहेको सिफारिस समितिले बिहीबार सार्वजनिक गरेअनुसार नेकपाका केन्द्रीय सदस्यदेखि पूर्वखेलाडीसम्मको आवेदन परेको छ । 

आवेदन खुलेको दोस्रो दिनमै भलिबलका पूर्वखेलाडीद्वय अन्जु श्रेष्ठ र नीलमसिंह बज्राचार्यले आवेदन दिएका थिए । अन्जु नेपाली महिला टोलीकी पूर्वकप्तान हुन् भने नीलम नेपाली भलिबल टोलीले आधिकारिक पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दाकी सदस्य हुन् । 

यस्तै, नेकपाका केन्द्रीय सदस्य लिलबहादुर थापामगरले पनि राखेपको नयाँ सदस्यसचिवका लागि आवेदन दिएका छन् । उनी नेपाल भलिबल संघका पूर्वउपाध्यक्षसमेत हुन् । 

नेकपाका काठमाडौं जिल्ला कमिटी सदस्यद्वय ध्रुवराज न्यौपाने र रामेश्वर श्रेष्ठले पनि आवेदन बुझाएका छन् । स्पोर्टस् साइन्समा विद्यावारिधि गरेका अच्युतम लामिछानेको पनि आवेदन परेको छ । उनले यसअघि राखेपमा खेलकुद विज्ञका रूपमा काम गरेका थिए । 

नयाँ सदस्यसचिवका लागि राखेपकै कर्मचारीहरू पनि प्रतिस्पर्धामा उत्रिएका छन् । राखेपका पूर्वकर्मचारी हर्कबहादुर राई र शिवराज भट्टले सदस्यसचिवका लागि आवेदन दिएका हुन् । निवर्तमान सदस्यसविच रमेश सिलवालको पनि आवेदन परेको छ । 

खेलकुद विकास ऐन ०७७ लागू भएसँगै राखेपको नयाँ सदस्यसचिव नियुक्तिका लागि प्रक्रिया सुरु भएको हो । त्यसका लागि खेलकुद मन्त्रालयले खेलकुदसचिव थपलिया संयोजक तथा राखेपका पूर्वबोर्ड सदस्य इन्दिरा निरौला र राखेपकै पूर्वकर्मचारी रिम रानाभाट सदस्य रहेको तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । सोही समितिले राखेपको नयाँ सदस्यसचिवका लागि आवेदन आह्वान गरेको हो । 

सदस्यसचिवका लागि यस्ता छन् योग्यता
नयाँ ऐनमा राखेपको सदस्यसचिवका लागि नेपाली नागरिक भएको हुनुपर्ने, स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने, ३० वर्ष उमेर पूरा भएको हुनुपर्ने, कुनै पनि कसुर नलागेको हुनुपर्नेलगायत योग्यता तोकेको छ ।

समितिले यी आवेदनबाट एक महिलासहित तीनजनाको नाम राखेपको नयाँ सदस्यसचिवका लागि मन्त्रालयसमक्ष सिफारिस गर्नेछ । मन्त्रालयले सो सिफारिसलाई मन्त्रिपरिषद् बैठकमा लैजानेछ ।

मन्त्रिपरिषद्को बैठकले सिफारिसमा परेका तीनमध्ये एकलाई आगामी चार वर्षका लागि राखेपको नयाँ सदस्यसचिवको रूपमा नियुक्त गर्नेछ । 

सदस्यसचिवका लागि आवेदन दिनेहरू

  • रमेश सिलवाल 
  • अञ्जु श्रेष्ठ 
  • रवि राजकर्णिकार 
  • ध्रुवराज न्यौपाने 
  • विजयकुमार राई 
  • मेघराज पौडेल
  • नीलमसिंह बज्राचार्य 
  • अच्युतम लामिछाने 
  • रोशन महर्जन 
  • अनिल अधिकारी 
  • हर्कबहादुर राई 
  • मीना श्रेष्ठ
  • शिवराज भट्ट 
  • लिलबहादुर थापा 
  • अच्युत खनाल
  • मनबहादुर गुरुङ
  • रामेश्वर श्रेष्ठ
  • सुदिल शाही 
  • सानुराजा केसी
  • किशोर शाही
  • रमेशमान डंगोल
  • खेमराज अधिकारी
  • राम पुडासैनी
  • सुनिल नकर्मी
  • रणबहादुर चन्द
  • दीपेन्द्र ढकाल
  • तेजबहादुर गुरुङ