१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ श्रावण १ बिहीबार १८:५५:००
Read Time : < 1 मिनेट
अर्थ

भैरहवा भन्सारबाट लक्ष्यको आधा मात्रै राजस्व असुली

Read Time : < 1 मिनेट
२०७७ श्रावण १ बिहीबार १८:५५:००

भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष ०७६/७७ मा लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेन । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनले भैरहवा भन्सारको राजस्व असुली प्रभावित भएको भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत पूर्णप्रसाद लम्सालले बताए ।  

भन्सार विभागले भन्सार कार्यालयलाई आर्थिक वर्ष ०७६/७७ मा एक खर्ब ६ अर्ब ८९ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो । तर, आर्थिक वर्ष ०७६/७७ मा भन्सार कार्यालयले लक्ष्यभन्दा करिब ३५ अर्ब ७१ करोड कम राजस्व संकलन गरेको छ । भन्सारले ६६.३१ प्रतिशत राजस्व असुली गरेको सूचना अधिकारी लम्सालले बताए । आर्थिक वर्ष ०७६–७७ मा यस भन्सार कार्यालयले दैनिक औसतमा १९ करोड राजस्व असुली गरेको छ । यस्तै लकडाउनको अवधि ११ चैतयता नौ अर्ब ३५ करोड ४४ लाख मात्र राजस्व संकलन गर्न सकेको छ । लकडाउनको अवधिमा एक सय १२ दिन भन्सारले सो राजस्व संकलन गरेको हो । लकडाउनमा पनि दैनिक औसत आठ करोड २१ लाख राजस्व संकलन गरेको छ ।

११ चैतमा लकडाउन भएपछि देशको दोस्रो ठूलो नाका भैरहवा भन्सार कार्यालयको राजस्व असुली प्रभावित भएको हो । कोरोना भाइरस फैलिन नदिन नेपाल र भारत दुवै देशमा लकडाउन भएपछि भारत तथा तेस्रो मुलुकबाट पहिलेको तुलनामा कम मालवस्तु आएका कारण राजस्व कम भएको सूचना अधिकारी लम्सालले बताए । 

सरकारले गरेको लकडाउनका कारण मालवस्तुको आयात–निर्यातमा नेपाल वा भारत सरकारले कुनै अवरोध वा रोक नलगाए पनि आयातमा कमी आएको उनले बताए ।