१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
भद्रपुरस्थित श्रम कार्यालय मेची पुगेका चिया बगानका मजदुर । 
२०७७ श्रावण १ बिहीबार १७:२४:००
Read Time : > 1 मिनेट
समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहको चिया बगानमा कार्यरत मजदुर ज्याला नपाएपछि श्रम कार्यालय पुगे

Read Time : > 1 मिनेट
२०७७ श्रावण १ बिहीबार १७:२४:००

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको झापास्थित हिमालय–महालक्ष्मी चिया बगानका मजदुर सेवासुविधा नपाएको भन्दै श्रम कार्यालय पुगेका छन् । चिया बगानले पछिल्लो समय ज्याला समयमा दिन छाडेको भन्दै मजदुरहरू बुधबार श्रम कार्यालयमा पुगेका हुन् । भद्रपुरस्थित श्रम कार्यालय पुगेका उनीहरूले समयमा ज्याला नपाएको तथा अन्य पारिश्रमिक पनि नपाएको भन्दै ज्याला र पारिश्रमिक दिलाइदिन निवेदन दिएका छन् । 

ज्यालाबाट सञ्चय कोषको पैसा काटे पनि खातामा जम्मा नगरेको, दुई वर्षअघि मजदुरले आन्दोलन गरेको समयमा सहमति भएको २५ सय रूपैयाँ र १ साउन ०७५ देखिको बढेको ज्याला पनि नदिएको उनीहरूको भनाइ छ । मजदुर नेता दीपक फुँयालका अनुसार बगानबाट सेवानिवृत्त हुँदा पनि उपदान र बगानले सञ्चय कोषबापतको पैसा दिएको छैन । ज्यालाबाट काटेको सञ्चय कोषबापतको रकममा मालिकले रजाइँ गरेको मजदुरहरूको आरोप छ । ‘हाम्रो ज्यालाबाट सधैँ काट्छन् । तर, सञ्चय कोषमा जम्मा हुँदैन,’ मजदुर गायत्री घिमिरेले भनिन्, ‘सञ्चय कोषमा पैसा जम्मा भएको होला भनेर ऋण खान गएको ६ वर्षदेखि खातामा पैसा छैन ।’ 

बगान व्यवस्थापनले समयमा ज्याला नदिँदा परिवार चलाउन मुस्किल भएको मजदुर सुष्मा शाक्य बताउँछिन् । ‘बगानलाई अझै राम्रो बनाउने चाहना छ,’ उनले भनिन्, ‘तर, समयमा ज्याला नै दिँदैन । ज्याला नदिएपछि त कसरी काम गर्ने ? ज्याला लिने वेलामा सधैँ लफडा गर्नुपर्छ ।’ 

बगानका मजदुरसँग बगानले सात दिनमा ज्याला दिने मौखिक सहमति छ । बगान धराशायी भएको भन्दै पछिल्लो समय व्यवस्थापन पक्षले १५ दिनमा दिने मौखिक सहमति गरेको छ । तर, अहिले महिना दिनमा पनि ज्याला दिन छाडेको मजदुर नेता पदम विक बताउँछन् । ‘एक महिनामा ज्याला दिन्छ । त्यो पनि १४ दिनको दिन्छ,’ उनले भने, ‘ज्याला नपाएर मजदुरले प्रत्येक महिना कार्यालय घेराउ नै गर्नुपर्छ ।’

पूर्वराजपरिवारको स्वामित्वमा रहेको यो चिया बगान कुनै वेला आकर्षणको केन्द्र थियो । अरु बगानमा नभएका सेवा–सुविधा यो बगानमा थिए । तर, पछिल्लो समय सबै सेवा–सुविधा कटौती गरेर मजदुरलाई हैरान बनाएको अखिल नेपाल ट्रेड युनियन महासंघका प्रदेश १ इञ्चार्ज भूपाल सापकोटा बताउँछन् । उनले भने, ‘वर्षैपिच्छे व्यवस्थापक फेरिँदा बगान बन्द हुने अवस्थामा पुग्यो ।’

मजदुरको गुनासो सुन्दै श्रम कार्यालय मेचीका प्रमुख दुर्गा आचार्यले मजदुरलाई न्याय दिलाउने बताए । उनले व्यवस्थापन पक्षसँग पनि छलफल गरेर अघि बढ्ने बताए । ‘ज्याला बैंक खातामा जानुपर्ने हो । तर, त्यो पनि रहेनछ,’ उनले भने, ‘तपाईंहरूको निवेदन लिएर व्यवस्थापन पक्षसँग पनि छलफल गर्छौँ ।’ पूर्वराजा शाहको स्वामित्वमा रहेको यो बगान सोल्टी ग्रुपले व्यवस्थापन गर्दै छ । पछिल्लो दुई वर्षदेखि भारतीय कम्पनीले यो बगान ठेक्कामा चलाउँदै आएको छ । बगानमा तीन सय १८ जना स्थायी मजदुर छन् भने त्यति नै संख्यामा अस्थायी पनि कार्यरत छन् ।