मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १ बिहीबार १६:४५:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मौद्रिक नीति कोभिड– १९ केन्द्रित गर्न कांग्रेसको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १ बिहीबार १६:४५:००

नेपाली कांग्रेसले अर्थतन्त्रकेन्द्रित विशेष समितिले आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीति अरू वर्षहरूभन्दा फरक हुनुपर्ने सुझाब दिएको छ । 

कोभिड– १९ को प्रहारबाट विश्व र राष्ट्रिय अर्थतन्त्र नै धराशायी हुने अवस्थामा पुगेको भन्दै आगामी आर्थिक वर्षको मौद्रिक नीति अन्य वर्षको भन्दा महत्वपूर्ण हुने समितिको तर्क छ ।
 
‘कोभिड–१९ को अभूतपूर्व प्रहारबाट विश्व र राष्ट्रिय अर्थतन्त्र नै धराशायी हुने अवस्थामा पुगेको, दशौँ लाख मानिसको आय र रोजगारीमा नकारात्मक असर परिरहेको र अनिश्चितताले गर्दा लगानी एवं आर्थिक गतिशीलतामा निजी क्षेत्र आश्वस्त नहुँदा आगामी आर्थिक वर्षको मौद्रिक नीतिको महत्व अन्य वर्षहरूमा भन्दा अधिक रहेको मान्यता यस समितिको छ,’ समितिको सुझाबमा उल्लेख छ । 

सुझाबमा थप उल्लेख गरिएको छ, ‘अहिलेको महामारीले एकातिर बैंकहरूको निक्षेप तथा अन्य स्रोत परिचालन गरी तरलता वृद्धि गर्ने र कर्जा विस्तार गर्न सक्ने क्षमता कमजोर भएको छ भने अर्कोतर्फ उद्योग–व्यवसाय रुग्ण वा बन्द हुने अवस्थामा विप्रेषण, पर्यटन तथा निर्यातबाट प्राप्त हुने विदेशी मुद्राको आम्दानी कम हुन गई भुक्तानी सन्तुलनमा थप प्रतिकूल प्रभाव पर्ने देखिएको छ ।’

यस वर्ष प्रत्यक्ष र परोक्ष रूपमा मौद्रिक र वित्तीय नीति दुवैको लक्ष्य महामारीले  थोपरेको स्वास्थ्य, आर्थिक र मानवीय संकटबाट नेपाली समाजलाई पार लगाउन सहयोग गर्न केन्द्रित हुनुपर्ने समितिको मत छ । 

वर्तमान चुनौतीहरूको सामना गर्ने सक्ने मौद्रिक नीति पाँच विषयमा केन्द्रित हुनपर्ने समितिको भनाइ छ । 

आर्थिक पुनरुत्थान, दीर्घकालीन आर्थिक वृद्धि, वित्तीय सुधार, विनीमय दर एवं बाह्य भुक्तानी सन्तुलन र नियमन तथा सुपरिवेक्षण क्षमतासहितका विषयमा मौद्रिक नीति केन्द्रित हुनुपर्ने समितिको मत छ ।