१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण १ बिहीबार ११:५८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मध्यनेपालका पहिरोपीडितले मुख्यमन्त्रीलाई भने– हामीलाई  गाँस होइन वासको व्यवस्था गरिदिनुस्

Read Time : > 1 मिनेट
२०७७ श्रावण १ बिहीबार ११:५८:००

लमजुङको मध्यनेपाल नगरपालिकामा असार २८ गते आएको बाढीले एक सय नाै घर विस्थापित भएका छन् । उक्त क्षेत्रको बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिरो प्रभावित क्षेत्रमा पुगेर स्थलगत निरीक्षण गरेका छन् ।

मुख्यमन्त्रीसँग पहिरोपीडितले आफूहरूलाई गाँसको भन्दा पनि वासको व्यवस्था  गर्न अनुरोध गरे । मध्यनेपाल ६ रानीपानीकी प्रमिला परियारले भनिन्, ‘मन्त्रीज्यू हामीलाई गाँसको भन्दा वासको व्यवस्था गरिदिनुपऱ्याे । बस्न पाए गाँसको व्यवस्था त दैनिक ज्यालादारी गरेर पनि मिलाउने थियौँ ।’

 यस्तै, रानीपानीकै ७८ वर्षीया विष्णु परियार पहिरोमा परी  घाइते भएकी छिन् । उनी सामान्य उपचारपछि हाल मध्यनेपालकै इशानेश्वर माविमा बसेकी छिन् । घर पहिरोले लगेसँगै उनी र उनको पाँचजनाको परिवार विद्यालयमा बस्दै आएका छन् । उनी भन्छिन् , ‘सुरक्षित ठाउँमा बस्नलाई सानो टहरा बनाइदिए पनि गाँसको व्यवस्था  त अरूको काम गरेर भए पनि निर्वाह गर्ने थियौँ ।’

उनी मात्र हाेइन विस्थापित परिवारले गाँसको मात्र नभई वासको पनि व्यवस्था गर्न मन्त्रीसँग माग गरेका छन् । मुख्यमन्त्री गुरुङले पीडित परिवारलाई प्रदेश सरकारले विपतले निम्त्याएको जोखिम, विपतपछिको उद्धार र राहतका कार्यक्रमका साथै बस्ती  स्थानान्तरणका विषयमा  कुनै कसुर बाँकी नराख्ने बताए ।

उनले भने, ‘पीडितको साथमा प्रदेश सरकार र स्थानीय सरकार भएकाले राहत र सुरक्षित स्थानमा बस्ती  स्थानान्तरण केही समयमै गर्छाैँ ।’  जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी गंगाबहादुर थापाका अनुसार मध्यनेपाल– ६ रानीपानीमा ३१ घर, लामासोतीमा २७, मध्यनेपाल-९ रातामाटेमा २१ घर, मध्यनेपाल-६ भदौरेको ११ घर, गुम्बाबेसीमा नौ घर, मध्यनेपाल-३ सूर्यपालमा पाँच घर, मध्यनेपाल-२ पराजुलीटारमा तीन घर, मध्यनेपाल-१ खवासगाउँ र चारचर्दीमा एक–एक घर  गरी एक सय नौ घरपरिवार विस्थापित भएका छन् ।                                                      

विस्थापित परिवार कोही इशानेश्वर माध्यमिक विद्यालय र कोही आफन्तकोमा शरण लिन पुगेका छन् । पहिरो प्रभावित क्षेत्रका स्थानीयलाई प्रहरी र जनप्रतिनिधिले सुरक्षित स्थानमा सारेको मध्यनेपाल नगरपालिकाका नगरप्रमुख रमेशकुमार पाण्डेले बताए । उक्त क्षेत्रको गुम्बाखोला, रिस्तीखोला, चर्दीखोला, गलाडीखोलामा आएको बाढीले विभिन्न स्थानमा क्षति पुगेको नगरप्रमुख पाण्डेको भनाइ छ । 

यस्तै बुधबार  नै लमजुङमा पहिरोले पुरिएर ज्यान गुमाएकाको परिवारलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राहत प्रदान गरेका छन् । मृतकका परिवारलाई बेसीसहरमा भेटेर उनले गण्डकी प्रदेश सरकारका तर्फबाट राहत प्रदान गरेका हुन् ।