सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा गएराति गएको पहिरोमा पुरिएर एकै परिवारका पाँचजना बेपत्ता भएका छन् । भोटेकोसी गाउँपालिका– ४ फुल्पिङ गाउँमा पहिरो गएको हो ।
घरमाथिबाट आएको पहिरोले ६५ वर्षीया गेन्जेन आमा भनिने सुमबुटी शेर्पासहित परिवारका पाँचजनालाई पुरेको नेकपा भोटेकोसी गाउँपालिकाका अध्यक्ष आङछिरी शेर्पाले बताए ।
पहिरोले ६५ वर्षीया सुमबुटी शेर्पा, ४० वर्षीया सेमसाङ शेर्पा, ३५ वर्षीया साङ्बु शेर्पा, १६ वर्षीया याङजी शेर्पा र १४ वर्षीया छिरिङवाङमु शेर्पालाई पुरेको छ । उनीहरू सबै एकै परिवारका हुन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ता भएकाको खोजी कार्य जारी राखेको छ ।
पहिरोमा परेर अर्को एक घर पनि पुरिएकाे छ । तर, त्यस घरमा मानिस नबस्ने भएकोले मानवीय क्षति भएको छैन ।