Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण १ बिहीबार ०७:२६:००
Read Time : > 2 मिनेट
नयाँCity

फुर्सदमा पाइलट : कोही उपन्यास लेख्दै कोही साइक्लिङमा रमाउँदै

Read Time : > 2 मिनेट
२०७७ श्रावण १ बिहीबार ०७:२६:००

इन्डोनेसियाको विङ्स एयरलाइन्समा आबद्ध क्याप्टेन वेद उप्रेतीले लकडाउनको फुर्सदलाई लेखनीमा लगाए । उडानसम्बन्धी कथा समेटेर उपन्यास तयार भएको छ । शीर्षक जुराएका छन्, ‘मेरो सानो जहाज’ । लकडाउन पूर्ण रूपमा खुलेर जनजीवन सामान्य बनेपछि उपन्यास प्रकाशन गर्ने उनको सोच छ । सपना देख्ने मान्छेले हिम्मत राखेर मिहिनेत गर्दा जस्तोसुकै सफलता पनि हासिल हुने सन्देश दिन खोजेका छन्, उपन्यासमार्फत ।

सोलुखुम्बु नाम्चेका एक बालकको ‘पाइलट सपना’ उपन्यासको कथानक हो । दुर्गममा जन्मे÷हुर्केका उनी आफ्नो सपना पछ्याउँदै निरन्तर मिहिनेत गरिरहन्छन् । र, पाइलट बनेरै छाड्छन् । उपन्यासमा नेपालमा भएका हवाई दुर्घटनाका प्रसंग पनि जोडिएको छ । ‘उपन्यासले एभिएसन क्षेत्रको जीवनशैली कस्तो हुन्छ भन्ने स्पष्ट दृश्य दिनेछ,’ उप्रेती भन्छन् ।

३५ वर्षे उडान करिअरमा फुर्सद मिल्यो कि उनी सिर्जनशील काममा जुटिहाल्छन् । यति लामो फुर्सद मिलेको भने पहिलोपटक हो । पछिल्ला १६ वर्षदेखि उनी विदेशी एयरलाइन्समा आबद्ध छन् । सन् २००४ मा भारतको एयर डेक्कनमा आबद्ध भएका उनी भारतकै किङफिसर र जेट एयरवेज हुँदै इन्डोनेसिया पुगेका हुन् । इन्डोनेसियाको विङ्स एयरमा उनी साताका ६ दिन उडानमै हुन्थे । कोभिड–१९ ले उनको व्यस्त समयतालिकामा ब्रेक लगाइदियो । लकडाउन घोषणा भएको ९० दिनसम्म इन्डोनेसियामै खुम्चिए । र, त्यही फुर्सदमा उनले उपन्यास तयार पार्न पाए । ‘त्रासपूर्ण समयका बारेमा सोचेर मानसिक समस्या निम्त्याउनुभन्दा सिर्जनशील बनेर फुर्सदको उपयोग गर्ने सोच आयो,’ उनी भन्छन् ।

नेपाली सेनाको पाइलटबाट उनले उडान करिअर थालेका हुन् । त्यसपछि निजी कम्पनी नेकोन एयरमा आबद्ध भए । नेकोन बन्द भएपछि बेरोजगार बनेका त्यस कम्पनीका सबै पाइलट भारतको डेक्कन एयरलाइन्समा पुगे । उप्रेतीको उडान करिअर पनि विदेशी आकाशमा अगाडि बढ्यो । सिनामंगलस्थित एभिएसन म्युजियम र धनगढीको एयरक्राफ्ट म्युजियमका सञ्चालक पनि हुन्, उनी । कञ्चनपुर महेन्द्रनगरमा पनि एयरक्राफ्ट म्युजियम निर्माण गरिरहेका छन् ।

इन्डोनेसियाको विङ्स एयरलाइन्समा आबद्ध क्याप्टेन वेद उप्रेतीले लकडाउनयता उड्डयन क्षेत्रकै कथा समेटेर उपन्यास तयार पारेका छन्, ‘मेरो सानो जहाज’ । उपन्यासमा सोलुखुम्बु नाम्चेका बालकको ‘पाइलट सपना’लाई कथानक बनाइएको छ ।

उप्रेतीसँगै विङ्स एयरमा कार्यरत क्याप्टेनद्वय लियो उबाहाङ चेम्जोङ र शैलेश निरौला पनि अहिले स्वदेशमा छन् । तीनैजना लामो समयदेखि सहकर्मी हुन् । चेम्जोङले नेकोन एयरबाट करिअर सुरु गरेका थिए । तीनैजना भारत हुँदै इन्डोनेसिया पुगे । चेम्जोङ इन्डोनेसियामा लकडाउन सुरु हुनुअघि नै स्वदेश फर्किए । नेपालमा पनि लकडाउन भएपछि इन्डोनेसिया फर्किन पाएनन् । नेकोन एयर बन्द भएपछि उनी वर्षदिन बेरोजगार बनेका थिए । ‘त्यसपछि यति लामो समय उडानमा जान नपाएको यो पहिलोपटक हो,’ उनी भन्छन् ।

काठमाडौं बसिरहँदा उनको ध्यान ‘साइक्लिङ’मा छ । कलेज पढ्दा साइकल चलाउँथे । तर, साइक्लिङ टुर गएका थिएनन् । लकडाउनयता उनले काठमाडौंनजिकका गन्तव्यको फेरो मारिरहेका छन् । ललितपुरको लेले, चोभारको डाँडो, दक्षिणकाली, कीर्तिपुर उनी साइकलमा पुगिरहने गन्तव्य हुन् ।

  • लियो उबाहाङ चेम्जोङ
     

‘साइक्लिङमा मनमोहक प्राकृतिक दृश्यमा हराउन पाइन्छ,’ उनी भन्छन्, ‘मनमा आनन्द र ऊर्जा सञ्चार हुन्छ ।’ यसबीचमा काठमाडौंमा रहेका र स्कुल पढ्दैदेखि छुटेका पुराना साथीभाइसँग सम्बन्ध नवीकरण गर्न पाएकामा उनी दंग छन् ।

निरौला पनि चेम्जोङजस्तै साइक्लिङमा रमाएका छन् । लकडाउन खुकुलो भएसँगै काठमाडौंवरिपरिका गन्तव्यमा दैनिक साइक्लिङ जान्छन् । ‘एसएलसी दिएपछि २५ वर्षअघि साइक्लिङ गरेको थिएँ, त्यसपछि अवसर मिलेको थिएन,’ उनी भन्छन्, ‘यसले शरीर स्वस्थ राख्न त मद्दत पुगेकै छ । स्वदेशी प्राकृतिक वातावरणमा घुलमिल हुन पाउँदा सबै तनाव टाढा भागेको छ ।’

सातामा एक दिन लामो दूरीमा साइक्लिङ गर्छन् । अन्य दिन नजिकका गन्तव्य पुग्छन् । दहचोकस्थित कालु पाण्डे समाधीस्थल, बुढानीलकण्ठ, टोखा, टौदह, पाइलटबाबा आश्रम साइकलबाटै पुगिसकेका छन् । पछिल्ला दिनमा सवारीसाधन बाक्लिएका कारण चक्रपथ परिक्रमा मुस्किल बनेको उनी बताउँछन् । भन्छन्, ‘तर, चुनौतीपूर्ण साइक्लिङ पूरा गर्दा झनै आनन्द मिल्दो रहेछ ।’

                     ......

संसारभर करिब तीन लाख एयरक्राफ्ट पाइलट कार्यरत रहेको सिमुलेटर निर्माता कम्पनी सिएई इनकर्पोरेटको अनुमान छ । कोभिड–१९ महामारीका कारण संसारभरका करिब ५१ प्रतिशत जहाज ग्राउन्डेड छन् । तिनमा कार्यरत पाइलट र क्याबिन क्रु कामविहीन बनेका छन् । महामारीका वेला बेरोजगार बनेका थाइल्यान्डका केही पाइलटले मोटरसाइकलमा खाना घरघर पुर्‍याउने काम थालेका छन् । ५० जनाभन्दा बढी पाइलट अहिले ‘फुड डेलिभरी म्यान’ बनेको सिएनएनले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

विदेशी एयरलाइन्समा कार्यरत नेपाली पाइलट पनि अहिले स्वदेश फर्केर परिवारसँग समय बिताइरहेका छन् । तिनैमध्येका हुन्, एयर इन्डियामा कार्यरत पाइलट भाष्कर पन्त । उडान रोकिएपछि नेपालमा लकडाउन सुरु हुनुअघि घर फर्किए । ‘यो निकै महत्वपूर्ण समय रहेछ । पहिलोपटक यति लामो समय परिवारसँग बिताउने अवसर पाएको छु,’ उनी भन्छन् । कोभिड–१९ ले उड्डयन क्षेत्रमा ठूलो असर पारेको छ । यो पाइलटहरूका लागि मुस्किल समय भएको उनी बताउँछन् ।