१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सागर चन्द काठमाडौं
२०७७ श्रावण १ बिहीबार ०६:२०:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अपांगता भएका ६७ हजार विद्यालय तहका विद्यार्थीलाई वैकल्पिक विधिबाट पढ्न सकस

Read Time : > 3 मिनेट
सागर चन्द, काठमाडौं
२०७७ श्रावण १ बिहीबार ०६:२०:००

कोभिड–१९ का कारण बालबालिका विद्यालय गएर अध्ययन गर्न नसक्ने भएपछि सरकारले वैकल्पिक विधिबाट पठनपाठन सुरु गरेको छ । सरकारले सामान्य अवस्थाका बालबालिकालाई लक्षित गरेर वैकल्पिक कार्यक्रम सञ्चालन गरे पनि अपांगता भएका बालबालिकालाई भने अध्ययन गर्न कठिन भएको छ । 

 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको फ्लास रिपोर्ट २०७५ अनुसार विद्यालय तह (कक्षा १–१२) मा ६६ हजार नौ सय ५५ अपांगता भएका विद्यार्थी भर्ना भएका थिए । आठ प्रकारका अपांगता भएका बालबालिका विद्यालयमा भर्ना भएका थिए । तर, ती सबैलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्न नसक्दा सिकाइ निरन्तरतामा समस्या भएको छ । केन्द्रको रिपोर्टअनुसार सबैभन्दा बढी शारीरिक अपांगता भएका बालबालिका छन् । कतिपय बहुअपांगता भएका बालबालिकासमेत छन् । अपांगता भएका बालबालिका विद्यालयको पहुँचमा पुगेका छैनन्, पुगेकाले पनि पढाइलाई निरन्तरता दिन सकेका छैनन् । 

सबै विद्यालय अपांगता भएका बालबालिकामैत्री नहुँदा विद्यालयमा पुगेका बालबालिका माथिल्लो कक्षामा छाड्ने गरेका छन् । आधारभूत तहमा भर्ना भएका बालबालिकामध्ये माथिल्लो कक्षामा जाने संख्या कम छ । केन्द्रको रिपोर्टअनुसार आधारभूत तह (१–८)मा अपांगता भएका बालबालिकाको कुल संख्या ५२ हजार तीन सय ६६ छ । तीमध्ये सामुदायिक विद्यालयमा अध्ययन गर्ने ४३ हजार चार सय ५२ र निजी विद्यालयमा अध्ययन गर्ने आठ हजार नौ सय १४ रहेको छ । 

त्यसैगरी, माध्यमिक तहमा (कक्षा ९–१२) मा अपांगता भएका १४ हजार पाँच सय ८९ बालबालिका अध्ययनरत छन् । तीमध्ये सामुदायिक विद्यालयमा अध्ययन गर्ने १० हजार पाँच सय १८ र निजी विद्यालयमा अध्ययन गर्ने चार हजार ७१ बालबालिका छन् । आधारभूत तहमा कुल विद्यार्थीको ०.९४ प्रतिशत र माध्यमिक तहमा ०.८८ प्रतिशत अपांगता भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पछिल्लो तथ्यांकअनुसार बालविकासदेखि कक्षा १२ सम्म कुल ८१ लाख २७ हजार एक सय ८३ विद्यार्थी छन् ।

शिक्षा मन्त्रालयले गत १ असारबाट वैकल्पिक विधिबाट पठनपाठन सुरु गर्न निर्देशन दिएको थियो । सोहीअनुसार केन्द्रले टेलिभिजन, रेडियोबाट कार्यक्रम सञ्चालन गर्नुका साथै अनलाइनमा पाठ्यक्रमअनुसारका सामग्रीसमेत रोखेको छ । अपांगता भएका सबैलाई ती कार्यक्रम र सामग्री काम लागेका छैनन् । दृष्टिविहीन बालबालिकाले ब्रेललिपि पुस्तक तथा कान नसुन्नेहरूका लागि सांकेतिक भाषामा पठनपाठन गरेको छैन । अपांगता भएका क्षेत्रमा काम गर्ने व्यक्तिहरूले गुनासो गरेपछि केन्द्रले उनीहरूका माग सम्बोधनको तयारी गरेको छ । 

शिक्षा मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका १ असारबाट कार्यान्वयनमा आएको छ । निर्देशिकामा विद्यार्थीलाई पाँच किसिमले वर्गीकरण गरी शैक्षिक गतिविधि गर्नुपर्ने उल्लेख गरेको छ । प्रविधिमा जोडिएकालाई प्रविधिको प्रयोग गरेर शैक्षिक गतिविधिमा संलग्न गराउनुपर्ने निर्देशिकामा उल्लेख छ । त्यसैगरी, प्रविधिको पहुँचमा नभएकालाई समुदायमा रहेका सिकाइ केन्द्र वा विद्यालयमा एकआपसमा भौतिक दूरी मिलाइ श्रव्य–दृश्य प्रविधिमार्फत सिकाउने व्यवस्था गर्नुपर्ने तथा केन्द्रले तयार पारेका सामग्री प्रिन्ट गरी स्थानीय तहले उपलब्ध गराउनुपर्ने उल्लेख गरेको छ ।

यस्ता छन् विद्यार्थीका पीडा
ह्विल चेयरमा बसेका सुरञ्जन राउत टेबलमा राखिएको ट्याबमा कक्षा ९ को गणित विषयको समूह भन्ने पाठको भिडियो हेर्दै छन् । खुट्टा मात्र होइन, हात पनि मुस्किलले चलाउन सक्ने सुरञ्जन प्रस्टसँग बोल्न पनि सक्दैनन् । सुस्त गतिको इन्टरनेटका कारण रोकिँदै चलिरहेको भिडियोतर्फ संकेत गर्दै उनी भन्छन्, ‘यसरी त पढ्नै सकिँदैन ।’ 

हुम्लाका सुरञ्जन लकडाउनअगाडिसम्म नियमित स्कुल जान्थे । जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयमा अध्ययनरत उनले लकडाउन भएपछि न राम्रोसँग पढ्न पाए, न घरै जान पाए । मुस्किलले हात र औँला चलाउन सक्ने सुरञ्जनलाई युट्युबमा पढाइको भिडियो खोज्न नै घन्टौँ समय लाग्छ । भेटिएको भिडियो पनि सुस्त गतिको इन्टरनेटका कारण अडिन्छ । त्यसमाथि डिजिटल माध्यमको पढाइमा अन्तक्र्रिया नहुुँदा उनी पढाएको बुझ्नै सक्दैनन् ।

विद्यालयपरिसरमै रहेको होस्टेलमा बसिरहेका सुरञ्जनजस्तै अपागंता भएका धेरै विद्यार्थी लकडाउन अवधिमा पढाइबाट वञ्चित भएका छन् । सरकारले टेलिभिजन र रेडियोमार्फत दूरशिक्षाका कक्षा सञ्चालनगरे पनि अपांगता भएका विद्यार्थी भने दूरशिक्षाको पहुँचमा पुगेका छैनन् ।

कक्षा ७ मा पढ्ने सीता ढकाललाई टेलिभिजनबाट पढाइ हुन्छ भन्ने थाहा छ । होस्टेलमा बस्ने उनी आफ्नो सेड्युलअनुसार टेलिभिजनबाट पढ्न सक्दिनन् । खगेन्द्र नवजीवनमै पढ्ने उनी भन्छिन्, ‘सबैको कक्षाको समय एउटै छैन । एकजनाले मात्र टिभी हेर्न मिल्दैन अनि कसरी पढ्नु ?’ १ कक्षादेखि नै खगेन्द्र नवजीवनमा पढिरहेकी सीता इन्टरनेटको पहुँचमा भए पनि उनीसँग स्मार्टफोन छैन । जसकारण टेलिभिजनबाहेक अन्य माध्यमबाट पढ्न उनलाई अप्ठ्यारो छ ।

विद्यालयका प्रधानाध्यापक राघवप्रसाद दवाडीका अनुसार चार सयभन्दा बढी विद्यार्थीमध्ये ५ प्रतिशत विद्यार्थी मात्र स्मार्टफोन र इन्टरनेटको पहुँचमा छन् । ९५ प्रतिशतभन्दा बढी विद्यार्थी इन्टरनेटको पहुँचबाहिर भएकै कारण विद्यालयले अनलाइन कक्षा चलाउन नसकेको उनको भनाइ छ । ‘टेलिभिजन, रेडियो कक्षाको सेड्युल सबै विद्यार्थीलाई दिएका छौँ । तर, हाम्रा विद्यार्थी विभिन्न प्रकारका अपांगता भएका छन् । त्यसैले उनीहरूलाई यसरी डिजिटल माध्यमबाट पढ्न, पढाउन सम्भव छैन,’ दवाडीले भने । विद्यालय परिसरभित्रको होस्टेलमा धेरै विद्यार्थी बस्ने भए पनि अहिले पाँचजना मात्र छन् । बाग्लुङका खुमबहादुर पाण्डे ९ कक्षामा पढ्छन् । युट्युबलगायतका डिजिटल माध्यमबाट पढाइ हुने थाहा पाएका उनी डिजिटल माध्यमको पढाइ बुझ्नै नसक्ने बताउँछन् । ‘यसरी त पढेजस्तै लाग्दैन । केही बुझ्दिनँ,’ उनी भन्छन् । 

अपांगता भएका विद्यार्थीलाई डिजिटल माध्यमबाट पढ्न र पढाउन मुस्किल भएको प्रधानाध्यापक दवाडीले बताए । उनी भन्छन्, ‘अपांगता भएका विद्यार्थीलाई सामान्य विद्यार्थीभन्दा बढी अन्तक्र्रिया र टेक केयर गरेर पढाउनुपर्छ । त्यसैले पनि डिजिटल माध्यममा उनीहरूलाई बुझ्न गाह्रो हुन्छ ।’

अनलाइन र दूरशिक्षाबाट पढाउन सम्भव नभएपछि फोनबाटै काउन्सिलिङ

केन्द्रीय बहिरा उच्च माध्यमिक विद्यालयका विद्यार्थीले पनि लकडाउन भएदेखि पढ्न पाएका छैनन् । करिब चार सयजना विद्यार्थी रहेको विद्यालयका ८० प्रतिशतभन्दा बढी विद्यार्थी इन्टरनेटको पहुँचबाहिर रहेको प्रधानाध्यापक उपेन्द्र पोखरेलले बताए । पूर्वप्राथमिकदेखि १२ कक्षासम्म पढाइ हुने बहिरा उच्च माध्यमिक विद्यालयले अनलाइन कक्षाको परीक्षण गरे पनि मोबाइलको सानो स्क्रिन र सुस्त इन्टरनेटका कारण सांकेतिक भाषामा पढाउन सम्भव नभएको उनको भनाइ छ । 

‘८० प्रतिशत विद्यार्थी इन्टरनेटको पहुँचमा छैनन् । पहुँचमा भएकालाई पनि सांकेतिक भाषामा अनलाइन कक्षा लिन सम्भव भएन । सानो स्क्रिनमा विद्यार्थीले प्रस्टसँग संकेत नै बुझेनन्,’ उनले भने । अनलाइन र दूरशिक्षाबाट पढाउन सम्भव नभएपछि अभिभावकलाई फोन गरेर काउन्सिलिङ गर्न थालिएको पोखरेलले बताए ।

अपांगमैत्री संरचना नभएकै कारण घर जान नपाएर होस्टेलमा बसिरहेका खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयका विद्यार्थी होस्टेलमा एक्लो महसुस गरिरहेको बताउँछन् । ‘स्कुल बन्द छ । साथीहरू छैनन् । गाउँमा ह्विल चेयर चल्दैन । साथीहरू, घरको कस्तो न्यास्रो लाग्छ,’ सीताले सुनाइन् । परिवार र साथीहरूको न्यास्रो मेटाउन सुरञ्जनले होस्टेलको भित्ता अनि दराजमा परिवार, आफन्त र साथीहरूको तस्बिर टाँसेका छन् ।