मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १ बिहीबार ०५:५६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

भ्रष्टाचार मुद्दामा अख्तियारको नयाँ रेकर्ड,  एक वर्षमा चार सय ४० मुद्दा दायर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १ बिहीबार ०५:५६:००

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि आर्थिक वर्ष ०७६/७७ दुई कारणले विशेष रह्यो । एउटा, यो वर्ष उसले मुद्दाको संख्यामा नयाँ रेकर्ड राख्यो, अर्काे अहिलेसम्मकै हाइप्रोफाइल मुद्दा दायर गर्‍यो । आयोगले यो आवमा चार सय ४० वटा मुद्दा दायर गरेको छ । एक वर्षमा यति धेरै मुद्दा दायर भएको पहिलोपटक हो । यसअघि सबैभन्दा धेरै गत आवमा तीन सय ५१ वटा मुद्दा दायर भएको थियो । मुद्दाको संख्यामा यो वर्ष विगतको रेकर्ड तोडिएको आयोगका प्रवक्ता प्रदीप कोइरालाले बताए । 

धेरैजसो मुद्दा तल्लो तहका कर्मचारीविरुद्ध छ । केही ठूला मुद्दा पनि आयोगले दायर गरेको छ । आयोगले बहुचर्चित बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा आफ्नै पूर्वप्रमुख आयुक्त तथा चार पूर्वमन्त्रीविरुद्ध मुद्दा दायर गरेको थियो । यद्यपि सो मुद्दामा आयोगको प्रशंसाभन्दा आलोचना धेरै भयो । नेकपाका नेता विष्णु पौडेलका छोरा नवीन तथा सर्वाेच्च अदालतका न्यायाधीश कुमार रेग्मीलाई जग्गा फिर्ता दिने सर्तमा उनीहरूलाई मुद्दा नचलाउने निर्णय गरिएको थियो । दबाबको भरमा उनीहरूलाई जोगाइएको आरोप आयोगमाथि लागेको छ । 

नवीनकुमार घिमिरे आयोगको प्रमुख आयुक्त भएपछि आयोगको सक्रियता बढेको छ । तर, आयोगको अनुसन्धान तल्लो तहमा मात्र केन्द्रित भएको आरोप लागेको छ । यो अवधिमा आयोगले कुनै पनि नेताविरुद्ध अकुत सम्पत्ति आर्जनको मुद्दा दायर गर्न सकेको छैन । अन्य भ्रष्टाचारमा पनि तल्लो तहका कर्मचारी मात्र छन् । 

एक वर्षमा एक सय ६९ स्टिङ अप्रेसन 
एक वर्षको अवधिमा आयोगले एक सय ६९ वटा सफल स्टिङ अप्रेसन गरेको छ । जसमा दुई सय ५८ जना पक्राउ परेको आयोगले जनाएको छ । पक्राउ पर्नेमा सहसचिव तहका कर्मचारीदेखि जनप्रतिनिधिसम्म छन् । कर्मचारीलाई घुस दिनेहरूसमेत स्टिङ अप्रेसनमा परेका छन् । स्टिङ अप्रेसनमा दुई हजार रुपैयाँदेखि २० लाख रुपैयाँसम्म बरामद भएको छ । 

जनता मावि धुनषाका शिक्षक महेन्द्र महतो दुई हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए । सबैभन्दा धेरै घुस रकमसहित पक्राउ पर्नेमा डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख धु्रवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन छन् । उनीहरू २० लाख रुपैयाँसहित २५ मंसिरमा पक्राउ परेका थिए । जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी आठ लाख रुपैयाँसहित पक्राउ परेका थिए । 

३६ प्रहरी पक्राउ 
रंगेहात पक्राउ पर्नेमा ३६ जना प्रहरी छन् । जसमध्ये चारजना सशस्त्र प्रहरीका छन् । एक वर्षमा तीन इन्स्पेक्टरसमेत रंगेहात पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाका जय थापा, कैलालीमा कार्यरत प्रकाशसिंह कार्की र सर्लाहीका इन्स्पेक्टर रामकिशोर शाह पक्राउ परेका थिए । वडा प्रहरी कार्यालय भीमफेदीमा कार्यरत इन्स्पेक्टर रामबालक रायलाई भने प्रहरीले नै घुससहित पक्राउ गरी अख्तियारमा बुझाएको थियो ।