मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा मापदण्डविपरीतको सिमेन्ट प्रयोग भएको पाइएको छ ।
सुरुङ निर्माण गर्दा अल्कालीको मात्रा बढी भएको सिमेन्ट प्रयोग गरिएको हो । परीक्षणका लागि सुरुङमा हालेको पानीको दबाब थेग्न नसकेर १७ नं. गेट फुटेपछि यस्ताे आशंका भएको हो ।
गेट फुटेपछि निरीक्षणका लागि मुहानस्थल अम्बाथाङ पुगेर सुरुङ अवलोकन गरेका हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले सुरुङको ५० मिटरजति भागमा जताततैबाट पानी चुहिएर बाहिर निस्केको बताए ।
‘भित्री सुरुङ नै कमजोर भएको पाएँ, सुरुवातमै यस्तो छ भोलि त के होला ?’ प्रश्न गर्दै शेर्पाले भने, ‘गेट मात्रै फुटेको होइन, सुरुङ नै भत्केको छ ।’
अल्कालीको मात्रा शून्य दशमलव ६ भन्दा तलको सिमेन्ट मात्रै प्रयोग गर्न सकिने इन्जिनियरिङ स्पेसिफिकेसनमा स्पष्ट उल्लेख गरिएको छ ।
तर, बीचैमा काम छोडेर भागेको इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी सिमेन्तेस्टी दी रेभेना (सिएमसी) ले मापदण्डविपरीत अल्कालीको मात्रा शून्य दशमलव ६ भन्दा माथिको सिमेन्ट सुरुङ निर्माणमा प्रयोग गरेको हो ।
सिएमसीले लामो समयदेखि सुरुङमा अर्घाखाँची सिमेन्ट प्रयोग गऱ्याे । तर, ल्याब टेस्टमा फेल भएपछि सो सिमेन्टलाई रद्द गरेर सगरमाथा सिमेन्ट प्रयोगमा ल्याएको थियो ।
ल्याब टेस्ट गर्दा सगरमाथा सिमेन्टमा अल्कालीको मात्रा शून्य दशमलव ७१ देखिन आएकोले फेरि अर्घाखाँची सिमेन्ट नै प्रयोग गरेको इप्टिसा कन्सल्टेन्सीका सहायक प्रमुख प्रद्युम्नलाल प्रधानले जानकारी दिएका थिए ।
ल्याब टेस्ट गर्दा अर्घाखाँची सिमेन्टमा स्पेसिफिकेसनअनुसार नै अल्काली पुष्टि भएकोले सोही सिमेन्ट प्रयोगमा ल्याएको उनको भनाइ थियो ।
तर, विज्ञका अनुसार अर्घाखाँचीमा अल्कालीको मात्रा शून्य दशमलव ६ भन्दा माथि रहेको छ । अल्कालीको मात्राले सिमेन्टको गुणस्तर निर्धारण गर्छ ।
अल्कालीको मात्रा शून्य दशमलव ६ भन्दा कम भएमा सिमेन्टको गुणस्तर राम्रो हुन्छ ।
त्यसप्रकारको सिमेन्टको आयु एक सय वर्षसम्म हुन्छ । अल्कालीको मात्रा बढी भएमा सिमेन्टको गुणस्तर कमसल हुन्छ ।
त्यसैले इन्जिनियरले पहाडी क्षेत्रको निर्माण कार्यका लागि ‘लो अल्काली’ सिमेन्ट प्रयोग गर्ने मापदण्ड बनाउने गरेका छन् ।
सुरुङको भित्री भागका लागि ०.६ भन्दा कम अल्काली सिमेन्ट प्रयोग गरिन्छ ।
अल्काली सिमेन्ट बनाउने कच्चा पदार्थ चुनढुंगा (लाइम) मा पाइन्छ । जुन पानीमा घुल्छ ।
सोडियम हाइड्रोअक्साइड, पोटासियम हाइड्रोअक्साइड, क्याल्सियम हाइड्रोअक्साइड, क्याल्सियम कार्बोनेट र म्याग्नेसियम हाइड्रोअक्साइड सम्मिश्रणको मात्रा अल्काली कम भएको सिमेन्टको विशेषता हो ।
ल्याब टेस्ट गरेर अल्कालीको मात्रा पत्ता लगाइन्छ ।
पहिलो ठेकेदार चिनियाँ रेल्वे कन्स्ट्रक्सन कम्पनीले मेलम्ची खानेपानी आयोजनाको काम गर्दा मापदण्डअनुसार रासिगोल्ड सिमेन्ट प्रयोग गरेको थियो ।
रासिगोल्डमा अल्कालीको मात्रा ०.६ भन्दा कम छ । तर, इटालियन कम्पनी सिएमसीले भने मापदण्डविपरीत ‘हाई अल्काली’ सिमेन्ट प्रयोग गरेको स्रोतले जनाएको छ ।
त्यसैले सुरुङको गुणस्तर कमजोर भएको बताइएको छ ।
भारबहन क्षमता अल्कालीको मात्रामा निर्भर हुन्छ । कमजोर चट्टानका कारण सुरुङ ढलानमा ढिलाइ भएको आयोजनाले बताउने गरेको थियो ।
यद्यपि, तोकिएको मापदण्डअनुसारको सिमेन्ट प्रयोग नगरेकोले ढलान ढिलो हुँदा काम पनि ढिलो भएको हो ।
इन्जिनियरिङ स्पेसिफिकेसनमा ०.६ भन्दा मुनि अल्काली भएको सिमेन्ट प्रयोग गर्न स्पष्ट तोकिएको भए पनि सिमेन्ट ठेकेदारसँग कमिशन खाएर सिएमसीले मापदण्डविपरीतको सिमेन्ट प्रयोग गरेको थियोे ।
आयोजनाका वरिष्ठ इन्जिनियर तथा प्रवक्ता राजेन्द्र पन्तले सुरुङमा नेपाली सिमेन्ट सगरमाथा प्रयोग भएको बताए ।
नेपालका सबै सिमेन्टमा अल्कालीको मात्रा शून्य दशमलव ६ भन्दा माथि रहेको उनले सुनाए ।
प्रतिघनमिटर बालुवा, गिटी र सिमेन्टको मिक्स्चरमा तीन किलोग्राम अल्काली प्रयोग हुने गरेको उनले बताए ।
सुरुङ ढलानमा ब्रिटिस स्ट्यान्डर्ड १२ को गुणस्तर प्रयोग भएको उनले दाबी गरे ।
इप्टिसा कन्सल्टेन्सी र आयोजनाका प्रवक्ता पन्तको भनाइ एक–आपसमा बाझिएको छ ।
पन्तले ढुंगागिटी, बालुवा र सिमेन्टको मिक्सचरमा प्रतिघनमिटर तीन केजी अल्काली प्रयोग भएको बताएका छन् ।
तर, कन्सल्टेन्सीले भने प्रतिघनमिटर सिमेन्टमा तीन केजी अल्कालीको मात्रा प्रमाणित भएर प्रयोग भएको बताएको छ ।
सुरुङ निर्माणको काम तोकिएको मापदण्डअनुसार गुणस्तरयुक्त भएको पनि पन्त र प्रधान दुवैले दाबी गरेका छन् ।
सिमेन्टको गुणस्तर चेकजाँच गर्न स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन् ।
सिएमसीले प्रत्येक महिना सिमेन्ट ठेकेदार फेर्ने गरेको थियो । कतिपय ठेकेदारलाई आयोजनाले हालसम्म पनि भुक्तानी दिएको छैन ।
सिएमसी भागेपछि काम सम्हालेको चिनियाँ कम्पनी सिनो हाइड्रोले पनि सगरमाथा सिमेन्ट नै प्रयोग गरेर मुहानस्थल अम्बाथाङमा ड्याम बनाइरहेको छ ।