विराटनगर महानगरपालिका– १२ सिमराही टोलका गरिब मुसहरहरू बीस वर्षदेखि हरेक वर्षायाममा घर डुबानमा परेपछि विस्थापित हुन्छन् । हरेक वर्ष बाढीले घर डुबाएपछि शैक्षिक संस्थाका भवनमा शरण लिने उनीहरू राहतमा पाएकाे चिउराले पेट भर्ने गर्छन् । कहिले पानी घट्ला र आफ्नो घरमा फर्किन पाइएला भन्ने चिन्तामा उनीहरू रहन्छन् । हरेक वर्ष वर्षायाममा उनीरूकाे अवस्था यस्तै हुन्छ ।
यो वर्ष उनीहरूलाई अरू वर्षभन्दा धेरै चिन्ता छ । किनकि कोरोना भाइरसको संक्रमण बढिरहेकाले त्यसकाे अलग्गै पिरलो थपिएकाे छ । भगवानकाे भरोसामा बसेका सुमन्ती ऋषिदेव भन्छिन्, ‘हामीलाई वर्षौंदेखिको बाढीबाट अहिलेसम्म भगवानले जोगाए, यसपालि कोरोनाबाट पनि जोगाउँछन् ।’
२८ असारबाट विद्यालयको चिसो भुइँमा शरण लिइरहेका उनीहरूलाई कहिले घर फर्कन पाउने हो थाहा छैन । वर्षायाम भर्खर सुरु भएको छ । अझै साउन र भदौ दुई महिना विद्यालयकै वास हुन्छ । अहिले विद्यालयमा शरण लिएर ४० जना बालबालिका, ६ जना गर्भवती महिलासहित डेढ सय स्थानीय उचित आहार अभावमा चिसो भुइँमा रात काटिरहेका छन् । यस्ताे दु:खले पनि उनीहरूको मुहारकाे मुस्कान खाेस्न सकेका छैन । उनीहरू भन्छन्–मुटुमाथि ढुंगा राखी हाँस्नु पर्या छ ।