मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
लमजुङको मध्यनेपाल नगरपालिकामा पहिरोले पुरेको घर ।
२०७७ असार ३१ बुधबार ०७:१४:००
Read Time : > 6 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पहिरोले स्याङ्जामा पूर्वगाविस अध्यक्षसहित तीनको मृत्यु, संखुवासभामा ११ जना अझै भेटिएनन्

Read Time : > 6 मिनेट
२०७७ असार ३१ बुधबार ०७:१४:००

बर्खा लाग्नेवित्तिकै हरेक वर्ष विराटनगर सिमराही टोलका ५० मुसहर परिवार घर छाड्न बाध्य, झापा गाउँपालिकाका १०७ सन्थाल परिवार विस्थापित

हिँड्दै गरेकालाई माथिबाट आएको पहिरोले पुर्‍यो 
स्याङ्जाबाट नारायण विश्वकर्मा
पहिरोले पुरिएर स्याङ्जामा पूर्वगाविस अध्यक्षसहित तीनजनाको मृत्यु भएको छ । एकजना बेपत्ता भएका छन् । दुईजनाको जीवितै उद्धार गरिएको छ । मंगलबार बिहान मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका–४ खहरेका ६५ वर्षीय इमानसिंह राना, ६० वर्षीय जिमानसिंह थापा, ५० वर्षीय टीकाबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । पूर्वगाविस अध्यक्षसमेत रहेका इमानसिंहको उपचारको क्रममा बिर्घा स्वास्थ्य चौकीमा मृत्यु भएको र अन्य दुईजना खोजतलास गर्ने क्रममा मृत भेटिएको अधिकारीले बताए । पहिरोमा पुरिएका ६० वर्षीय प्रेमचन्द्र पाण्डे अझै बेपत्ता छन् ।

पहिरोमा पुरिएका ६८ वर्षीय होमनाथ पाण्डे र ५५ वर्षीय वीरबहादुर रानाको युनाइटेड मिसन अस्पताल पाल्पामा उपचारको भइरहेको छ । होमनाथ पाण्डे वडा नम्बर ४ को वडा सदस्यसमेत हुन् । पहिरोमा परी मृत्यु हुने, घाइते र हराएका ६ जना एकै गाउँका हुन् । धारोमा पानी नआएपछि मंगलबार बिहान ८ बजे पानी बनाउन उनीहरू घरबाट हिँडेका थिए । बाटोमा हिँड्दै गरेका उनीहरूलाई माथिबाट आएको पहिरोले पुरेको डिएसपी अधिकारीले जानकारी दिए । उनका अनुसार सोही स्थानको खहरे खोलामा बाढी आई खोलाले धार परिवर्तन गर्दा चार घर जोखिममा परेका छन् । स्थानीय वीरबहादुर राना, देवबहादुर थापा, जिमानसिंह थापा र तिलिसरा थापाको परिवार विस्थापित भएको उनले जानकारी दिए । 

तनहुँमा थप एकको शव भेटियो, मृतकको संख्या ११ पुग्यो
तनहुँबाट उपेन्द्र खनाल

पहिरोमा परी बेपत्ता भएका थप एकजनाको शव फेला परेको छ । मंगलबार दिउँसो व्यास–११ ओडारेका ५२ वर्षीय पदमबहादुर भुजेलको शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए । 

उनका अनुसार निरन्तरको वर्षाका कारण गएको पहिरोमा परी सोमबार तनहुँमा दशजनाको मृत्यु भएको थियो । दुईजना बेपत्ता भएका थिए । सोमबार बेपत्ता भएकाहरूको नेपाली सेना, सशस्त्र, जनपद प्रहरी र स्थानीयवासीले खोजी गरेको भए पनि फेला पर्न सकेको थिएन । मंगलबार डोजरको प्रयोग गरी खोजी गरिएकोमा भुजेल मृत अवस्थामा भेटिएका हुन् । योसँगै तनहुँमा पहिरोमा परी ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । अर्का हराइरहेका व्यास–९ माझफाँटका २० वर्षीय राजेश थापाको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

लमजुङका डेढ सय परिवार सुरक्षित ठाउँमा स्थानान्तरण
लमजुङबाट शान्ता कमली

अविरल वर्षापछि आएको बाढी–पहिरोका कारण लमजुङका विभिन्न स्थानमा जोखिममा परेका घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । मध्यनेपाल नगरपालिकाका एक सय नौ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । अविरल वर्षापछि बाढी–पहिरोका कारण जोखिममा परेकामध्ये मध्यनेपाल नगरपालिका–६ लामासोतीका २७, रानीपानीका ३१, भदौरेका ११ र गुम्बाबेँसीका ९ घरपरिवार छन् । त्यस्तै मध्यनेपाल ९ रातामाटेका २१, मध्यनेपाल ३ सूर्यपालका ६, वडा नम्बर २ पराजुलीबेँसीका तीन घर र वडानम्बर १ जिताका एक घरपरिवार रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । 

बाढी–पहिरो प्रभावितमध्ये ३७ परिवारलाई भोर्लेटारस्थित इशानेश्वर माध्यमिक विद्यालयमा अस्थायी स्थानान्तरण गरिएको मध्यनेपाल नगरपालिका नगरप्रमुख रमेशकुमार पाण्डेले बताए । वर्षात्का कारण घर जोखिममा परेसँगै अर्को व्यवस्थापन नभएसम्म तत्कालका लागि उनीहरूलाई सुरक्षित रहन अस्थायी स्थानान्तरण गरिएको नगरप्रमुख पाण्डेले बताए । स्थानीय गुम्बाखोला, रिस्तीखोला, चर्दीखोला, गलादीखोलामा आएको बाढीले विभिन्न स्थानमा क्षति पुगेको स्थानीयको भनाइ छ । यसैगरी, पहिरोको जोखिममा परेका जिल्लाको बेँसीसहर नगरपालिका, मस्र्याङ्दी गाउँपालिका, दोर्दी र क्होलासोँथार गाउँपालिकाका थप ३७ घरपरिवारलाई पनि सुरक्षित स्थानमा अस्थायी स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

प्रजिअ शर्माका अनुसार अन्य स्थानीय तहका ३७ घरपरिवारका एक सय ७५ जनालाई सुरक्षित स्थानान्तरण गरिएको छ । वर्षात्का कारण घर जोखिममा परेसँगै अर्को व्यवस्थापन नभएसम्मका लागि अस्थायी स्थानान्तरण गरिएको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । दोर्दी गाउँपालिकाका १८ घर, मस्र्याङ्दी गाउँपालिकाका पाँच घर, क्होलासोँथार गाउँपालिकाको ६ घर र बेँसीसहर नगरपालिकाको चार घर स्थानान्तरण भएका हुन् । स्थानान्तरण गरिएका घरपरिवारमध्ये कतिपयलाई सामुदायिक भवन, विद्यालय र कतिपयलाई छिमेकी वा आफन्तको घरमा राखिएको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । 

अविरल वर्षाले गत बिहीबार घरभित्र पहिरो पस्दा मृत्यु भएका बेँसीसहर नगरपालिका–७ सातविसेका दीपक तामाङको परिवारलाई स्थानीय सरकारले राहत वितरण गरेको छ । मंगलबार बेँसीसहर नगरपालिकाले मृतकका परिवारलाई राहतस्वरूप तीन लाख रुपैयाँ सहयोग गरेको हो । नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले मृतक दीपकका बुबा हर्कबहादुर तामाङ र आमालाई तीन लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् । बेँसीसहर नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले मृतकका परिवारलाई जनही एक/एक लाखका दरले तीन लाख रुपैयाँ राहतस्वरूप सहयोग गर्ने निर्णय गरेको थियो । यसअघि जिल्ला विपत् व्यवस्थापन समिति लमजुङले मृतक परिवारजनलाई एक/एक लाखका दरले तीन लाख रुपैयाँ राहत प्रदान गरेको थियो । अविरल वर्षाले घरमाथिबाट पहिरो खस्दा एउटै परिवारको दीपक तामाङसहित उनकी श्रीमती बिमाया र छोरा छेवाङ तामाङको पहिरोमा पुरिएर मृत्यु भएको थियो ।

प्रत्येक वर्ष गाउँमा बाढी पस्छ, तर छैन पूर्वतयारी
झापाबाट चिरञ्जीवी घिमिरे

झापा गाउँपालिका बाढीको उच्च जोखिममा छ । पूर्वमा बिरिङ, बीचमा सानो माई र पश्चिममा कन्काई माईको बीचमा टापुजस्तै बनेको यो गाउँपालिकामा प्रत्येक वर्ष बाढी पस्छ । ठूलो पानी पर्‍यो भने यही क्षेत्रमा सबैभन्दा धेरै क्षति हुन्छ । यसपटक पनि झापामै सबैभन्दा धेरै झापा गाउँपालिका–१ मिलन बस्तीका सन्थाल समुदायका १०७ परिवार विस्थापित भए । उनीहरू अहिले नजिकको दुई विद्यालयमा शरण लिएर बसिरहेका छन् ।

प्रत्येक वर्ष बाढी पस्ने यो स्थानीय तहको पूर्वतयारी भने शून्यजस्तै छ । बाढी पसेपछि राहत दिने र उद्धार गर्नेबाहेक केही काम गर्न नसकेको पीडितको गुनासो छ । स्थानीय सरकारले घटनापछि राहतबाहेक खोला नियन्त्रणको काम नगरेको उनीहरूको आरोप छ । ‘हामी त सधैँ यसरी नै डुब्छौँ । हामीले कतिपटक भन्यौँ कसैले सुन्दैनन्,’ झापा–१ मिलनबस्तीकी बाढीपीडित भन्छन्, ‘बाढीले बगाएपछि यसरी ल्याउनुभन्दा सुरुमै बाँध बाँधिदिए त भाइगयो नि !’ 

यसपटक माई नदी पसेको नयाँ बस्तीको १०७ घर नै सुकुम्बासी हुन् । उनीहरू वर्षौँदेख बाढीबाट प्रताडित हुँदै आएका छन् । ‘पहिला झोडामा बसेका थियौँ । त्यहाँबाट पनि खेद्यो । यहाँ अलिअलि पैसा दिएर किनेर बस्यौँ । यहाँबाट पनि खेद्न खोज्दै छ,’ बाढीपीडित फूलमुनि हस्दा भन्छिन्, ‘प्रत्येक वर्ष खोला गाउँमा पस्छ । बर्खामा सधैँ स्कुलमा आएर बस्नुपर्छ । यसरी त कसरी जीवन चल्छ । सरकारले अर्को ठाउँमा सारे पनि हुने ।’

गाउँपालिका अध्यक्ष जयनारायण साह पूर्वतयारी गर्ने गाउँपालिकासँग क्षमता नभएको बताउँछन् । तर, खोला नियन्त्रणका लागि जनताको तटबन्धसँग समन्वय गरिरहेको उनी बताउँछन् । ‘हामीले खोला बाँध्न सक्दैनौँ । जनताको तटबन्धसँग सहकार्य गरिरहेका छौँ । पहाडको फेदीबाट दुवैतर्फ खोला बाँधेर बोर्डरसम्म पुर्‍याए मात्र समस्याको समाधान हुन्छ,’ उनी भन्छन्, ‘बस्ती स्थानान्तरणको त कुरै छैन । अरू वडा पनि यस्तै छन् । खोला नियन्त्रणको विकल्प छैन ।’ उनका अनुसार झापा गाउँपालिकाको १, २, ३, ५ र ७ वडा नम्बर बाढी प्रभावित हुन् । बाढीबाट बस्ती जोगाउन नसके पनि राहत र उद्धारमा कुनै कमी नराखेको उनी दाबी गर्छन् । 

बाढीले विस्थापित भएर विद्यालयमा बसेकामध्ये साना बच्चा र सुत्केरी महिलालाई समस्या भएको छ । बाढीले विस्थापित बनाएपछि झुल त परको कुरा, लुगाफाटा पनि ल्याउन पाएनन्, उनीहरूले । अहिले गाउँपालिकाले दिएको म्याटमा सुत्नुपरेको छ । बच्चाहरू रोएर सुत्न नदिएको सुत्केरी सुनिता मुर्मु बताउँछिन् । ‘नानीहरू धेरै छन्, लामखुट्टेले टोक्छ । गर्मी हुन्छ । रातभर रोएर सुत्दैनन्,’ उनी भन्छिन्, ‘बिजोग भएको छ । घरमा मान्छे डुब्ने पानी छ । अक के गर्ने होला ?’ उनीहरूका लागि खानाको व्यवस्थापन गाउँपालिकाले गर्दै आएको छ । 

संखुवासभामा चार दिनदेखि ११ जना बेपत्ता
 संखुवासभाबाट नवीन गुरुङ

संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दा गाउँमा शनिबार राति गएको पहिरोमा परी बेपत्ता भएका ११ जना अझै भेटिएका छैनन् । उनीहरूको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको ६० जनाको टोली र स्थानीय बासिन्दाले खोजी गरिरहेका छन् । 

शनिबार गएको पहिरोमा परी ११ जना बेपत्ता भएका थिए । उनीहरूको खोजी गर्दा हृदयघात भएर स्थानीय २५ वर्षीय मदन राईको मृत्यु भएको थियो । चार दिनदेखि सुरक्षाकर्मी र स्थानीय वासिन्दाले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सन्तोषकुमार राईले बताए । पहिरोमा परी गम्भीर घाइते भएका गोवासिंह राई र हस्तीकुमारी राईलाई मंगलबार हेलिकप्टरमार्फत जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ । त्यस्तै, पहिरोको उच्च जोखिममा रहेको बेसिन्दा गाउँका ७३ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको इन्स्पेक्टर राईले बताए । 

यसैबीच, मंगलबार हेलिकप्टरमार्फत पीडितका लागि राहत सामग्री र औषधि पुर्‍याइएको छ । सिलिचोङ गाउँपालिकाको सिसुवास्थित बुधबारे बजारमा झारिएको राहत सामग्री र औषधि बोकेर बेसिन्दा गाउँ पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए । राहत सामग्री र औषधि मंगलबार नै पीडितहरूलाई वितरण गरिएको उनले बताए ।

बाढीपीडित मुसहर भन्छन्– बर्खा लागेपछि हरेक वर्ष घर छाड्नुपर्छ
विराटनगरबाट गणेश लम्साल

जब वर्षायामको महिना नजिकिन्छ अनि विराटनगर महानगरपालिका–१२ सिमराही टोलका ६० वर्षीय बद्री ऋषिदेव घरका भाँडाकुँडा, लत्ताकपडा सबै बाकसमा हालेर राख्ने गर्छन् । उनलाई थाहा छ, वर्षौंदेखि आउने बाढी कहिले आएर घर चुर्लुम्म डुबाउँछ र हरेक वर्षझैँ स्कुलमा हतारहतार ज्यान जोगाउँदै शरण लिन जानुपर्छ । नभन्दै यो वर्ष २८ असार बिहान उनले भाँडाकुँडा लिएर घर छाड्नुपर्‍यो । 

बद्री मात्र होइन, सिमराही टोलका करिब ५० घर मुसहरहरू हरेक वर्ष वर्षायाममा बाढीले गर्दा विस्थापित हुन्छन् । उनीहरूलाई पनि वर्षायामको महिना लाग्नेवेला भएसँगै त्रास सुरु हुन्छ । यसैले सबैजना अगुवा बद्रीले जस्तै आपत् आइलाग्नासाथ विस्थापित हुनुपर्छ भनेर तयार अवस्थामा रहन्छन् ।

विराटनगर महानगपालिका–१२ सिमराही टोलका गरिब मुसहरहरू बीस वर्षदेखि हरेक वर्ष वर्षायाममा बाढीले गर्दा विस्थापित हुन्छन् । बाढीले घर डुबाएपछि कसैले नजिकै रहेको विद्यालयमा त कसैले क्याम्पसमा गएर शरण लिन्छन् । विस्थापित भएपछि हरेक वर्ष सरकारी र गैरसकारी संस्थाहरूले बाँडेको चिउराभुजा खाएर जसोतासो ज्यान जोगाउँछन् र पानी घटेपछि आफ्नै घरमा फर्केर बनिबुतो गरेर जीवन बिताउँछन् ।

यो वर्ष उनीहरूलाई अरू वर्षभन्दा अलि धेरै चिन्ता छ । किनभने लकडाउनका वेला कोरोना भाइरस पो सल्किन्छ कि भन्ने पनि उनीहरूलाई डर छ । सुमन्ती ऋषिदेव भन्छिन्, ‘हामीलाई सधैँ बाढीबाट दिनाभद्री भगवान्ले जोगाउँदै आएको छ, यसपालि कोरोनाबाट पनि उसैले जोगाउँछ ।’ 

२८ असारबाट विद्यालयको चिसो भुइँमा शरण लिइरहेका उनीहरू कहिले घर फर्कन पाउने हो थाहा छैन । वर्षायाम भर्खर सुरु भएको छ । अझै साउन र भदौ दुई महिना सिँगै । योबीचमा जतिचोटि विस्थापित हुनुपरे पनि उनीहरू तयार छन् । ४० बालबालिका, ६ जना गर्भवती महिलासँगै डेढ सयजना भोकभोकै चिसो भुइँमा बस्दै आएका छन् । 

वडा नम्बर १२ का अध्यक्ष हिरालाल यादवका अनुसार पश्चिमतर्फ रहेको केशलिया खोलामा दिगो तटबन्ध बनाएमा यसरी बखरी गाउँ डुब्नबाट जोगिन सक्छ । त्यसका लागि कुनै ठूलो योजना पनि चाहिँदैन, मात्र केही लाख खर्च गरे पुग्छ । माफियाहरूले खोलाको जाथभावी दोहन गरेकाले पनि केशलिया खोला गाउँ पस्न थालेको हो । तर, बाढीको समयमा हरेक वर्ष दिगो तटबन्ध बनाउने र बाढीबाट जोगाउने महानगरपालिकाले प्रतिबद्धता जनाए पनि हिउँद लागेपछि सधैँ बिर्सने गर्छ । त्यसैले बीस वर्षदेखि सिमराही टोलका मुसहरहरू विस्थापित हुँदै आएका छन् । 

बाढीपीडितको व्यवस्थापन गर्न समिति गठन 
जनकपुरधामबाट हदिश खुद्दार

बाढीपीडितको व्यवस्थापन तथा राहत उपलब्ध गराउनका लागि प्रदेश २ सरकारले समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीस्तरीय विपद अनुगमन व्यवस्थापन समिति गठन गरेको हो । 

भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलको संयोजकत्वमा गठिन समितिमा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव र उद्योग, वन, पर्यटन तथा संस्कृतिमन्त्री रामनरेश राय सदस्य रहेका छन् । समितिलाई प्रदेशका सबै जिल्लामा आएको बाढीबाट भएको क्षतिको स्थलगत निरीक्षण अनुगमन गरी पीडितलाई उपलब्ध गराउनुपर्ने राहत तथा अन्य मर्मत सम्भारलगायतका कार्यहरूको सिफारिस गर्ने जिम्मेवारी दिइएको छ ।