मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका स्याङ्जा
२०७७ असार ३० मंगलबार २०:५१:००
Read Time : < 1 मिनेट
समाचार

स्याङ्जा पहिरो अपडेट : पूर्वगाविस अध्यक्षसहित तीनजनाको मृत्यु, एक बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, स्याङ्जा
२०७७ असार ३० मंगलबार २०:५१:००

स्याङ्जा कालिगण्डकी गाउँपालिकामा पहिरोले पुरिएर एकैगाउँका तीनजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् । कालिगण्डकी गाउँपालिका– ४ खहरेका ६५ वर्षीय इमानसिंह राना, ६० वर्षीय जिमानसिंह थापा, ५० वर्षीय टीकाबहादुर थापाको पहिरोले पुरेर मंगलबार मृत्यु भएको हो ।

पहिरोमा बेपत्ता भएकाहरूको स्थानीय, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले खोजी  जारी राखेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । पूर्वगाविस अध्यक्षसमेत रहेका मृतक इमानसिंहको उपचारको क्रममा बिर्घा स्वास्थ्य चौकीमा मृत्यु भएको हो भने अन्य दुईजनालाई घटनास्थलमै मृत फेलापारेको अधिकारीले बताए । ६० वर्षीय प्रेमचन्द्र पाण्डे भने पहिरोमा बेपत्ता भएका छन् ।

पहिरोमा पुरिएका ६८ वर्षीय होमनाथ पाण्डे र ५५ वर्षीय वीरबहादुर रानाको युनाइटेड मिसन अस्पताल पाल्पामा उपचारको भइरहेको छ । होमनाथ पाण्डे वडा नम्बर ४ को वडा सदस्यसमेत हुन् । सूचना अधिकारीका अनुसार पहिरोमा परी मृत्यु हुने, घाइते र हराएका ६ जना एकैगाउँका हुन् । धारोमा पानी नआएपछि मंगलबार बिहान आठ बजे पानी बनाउन उनीहरू घरबाट हिँडेका थिए । हिँड्दै गरेका उनीहरूलाई बाटोमाथिबाट आएको पहिरोले पुरेको हो ।

अधिकारीका अनुसार सोही स्थानको खहरे खोलामा बाढी आई खोलाले धार परिवर्तन गर्दा चार घर जोखिममा परेका छन् । स्थानीय वीरबहादुर राना, देवबहादुर थापा, जिमानसिंह थापा, र तिलिसरा थापाको परिवार विस्थापित भएको उनले जानकारी दिए ।