मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन गुरुङ संखुवासभा
२०७७ असार ३० मंगलबार २०:०३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभा पहिरो अपडेट : बेपत्ता ११ जना अझै भेटिएनन्

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७७ असार ३० मंगलबार २०:०३:००

संखुवासभाको सिलिचोङ गाउँपालिका– १ बेसिन्दा गाउँमा गएको पहिरोमा परी बेपत्ता भएका ११ जनालाई अझै फेला पार्न सकिएको छैन । शनिबार राति गएको पहिरोमा परी ११ जना बेपत्ता भएका थिए । 

बेपत्ताहरूको स्थानीयवासी, नेपाली सेना, प्रहरी र सशस्त्रले खोजी जारी राखे पनि मंगलबारसम्म फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोषकुमार राईले स्पष्ट पारे । उनका अनुसार पहिरोको उच्च जोखिममा रहेको बेसिन्दा गाउँका ७३ घरका तीन सय ५० जनालाई सुरक्षित स्थान चित्रेमा सारिएको छ । पहिरोको खबर प्रहरीलाई दिने र उद्धारमा सक्रिय रूपमा खटिरहेका २५ वर्षीय मदन राईको हृदयाघातका कारण आइतबार मृत्यु भएको थियो । मदन दमका बिरामी थिए । 

एकदशक अगाडि पनि सिलिचोङ गाउँपालिकाको सिकदिम भन्ने ठाउँमा पहिरो जाँदा ११ जना बेपत्ता भएका थिए । उनीहरूको अहिलेसम्म केही चिनोचपेटो भेटिएको छैन । 

पहिरोपीडितका लागि राहत 
पहिरोपीडितका लागि मंगलबार हेलिकोप्टरमार्फत राहत सामग्री र औषधि पुऱ्याइएको छ । विराटनगरबाट आएको सेनाको हेलिकोप्टरले राहत सामग्री सिलिचोङ गाउँपालिकाको बुधबारे बजारमा झारेको हो । यस्तै पहिरो प्रभावित बेसिन्दा गाउँका सर्वसाधारणलाई सुरक्षित स्थान चित्रेमा सारिएको छ । चित्रेमा हेलिकोप्टर अवतरण हुन नसकेपछि बुधबारे बजारमा राहत सामग्री झारिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए । उनका अनुसार चित्रेमा दिउँसोसमेत बाक्लो हुस्सु र कुहिरो लागेको कारण सेनाको हेलिकोप्टर बस्न सकेन । बुधबारेबाट चित्रेमा पुग्न करिब तीन घन्टा उकालो हिँड्नुपर्छ । 

राहत सामग्रीसहित घटनास्थलमा प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतम, पूर्वराज्यमन्त्री तारामान गुरुङ, प्रजिअ जीवनप्रसाद आचार्य, डिएसपी नवराज मल्ल र पत्रकारहरू पुगेका थिए । पहिरोपीडितको पुनर्स्थापना र राहतमा सक्दो प्रयास गरिरहेको पूर्वराज्यमन्त्री तारामान गुरुङले बताए । उनले गाँस, वास र कपाससँगै प्राथमिकताका साथ उद्धार गर्न जोड दिए । प्रतिनिधिसभाका सदस्य राजेन्द्र गौतमले सर्वसाधारणको पीडासँग नजिक भएर उद्धारमा आग्न आग्रह गरे । 

उक्त हेलिकोप्टरमा प्रदेश १ का आन्तरिक मामिला मन्त्रालयबाट दुई हजार दुई सय ५० केजी चामल, दाल चार सय बोरा, तेल एक सय २० लिटर, नुन एक सय केजी, बिस्कुट १३ कार्टुन, चाउचाउ १० कार्टुन, जीवनजल दुई कार्टुन, टेन्ट ५३ थान, मेट्रिक्स तीन रोल, त्रिपाल पाँच थान, कम्बल ३५ केजी र औषधिलगायतका सामग्री लगिएको थियो । 

यसैबीच पूर्वराज्यमन्त्री दीपक खड्का र पर्यटन व्यवसायी मिङ्मा शेर्पाले निजी पहलमा हेलिकोप्टरमार्फत गम्भीर बिरामीलाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याएका छन् ।