मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ३० मंगलबार १८:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पोलिमार नोटमा भ्रष्टाचार प्रकरण : पूर्वगभर्नर रावलसहित तीनजनालाई सफाइ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ३० मंगलबार १८:३१:००

पोलिमार नोट छपाइसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वगभर्नर डा. तिलक रावलसहित तीनैजनाले सफाइ पाएका छन् ।

डा.रावलसहित राष्ट्र बैंकको नोट विभागका तत्कालीन प्रमुख उपेन्द्रकेशरी पौडेल र ‘नोट प्रिन्टिङ अस्ट्रेलिया’का नेपाली प्रतिनिधि हिमालयबहादुर पाँडेले विशेष अदालतबाट सफाइ पाएका हुन् । 

न्यायाधीश शिवराज अधिकारी, बालेन्द्र रुपाखेती र शान्तिसिंह थापाको इजलासले मंगलबार सो मुद्दाको फैसला गरेको हो । ५  पुस ०७५ मा अख्तियारले  नोट छपाइमा दुई करोड ७३ लाख भ्रष्टाचार भएको ठहर गर्दै जनही ९१ लाख नाै हजार बिगो कायम गरी मुद्दा दायर गरेको थियो । अख्तियारको दाबी नपुगेको भन्दै सफाइको फैसला भएको हो ।  
 
आर्थिक वर्ष ०५८–५९ मा अस्ट्रेलियाको केन्द्रीय बैंकमातहतको ‘नोट प्रिन्टिङ अस्ट्रेलिया’मार्फत १० रुपैयाँ दरका पाँच करोड थान नोट छापिएको थियो । मिलेमतोको आधारमा सो कम्पनीलाई ठेक्का दिइएको र कमसल नोट छपाइ गरेको अख्तियारको अभियोग थियो । कम गुणस्तरको भएकै कारण ती पोलिमर नोट हाल प्रयोगमा छैनन् । 

प्रतिहजार नोट छपाइका लागि ६८ अस्ट्रेलियन डलर लाग्नेमा पछि चार डलर बढाएर बोलपत्र गर्नुलाई अख्तियारले भ्रष्टाचारको प्रमुख आधार बनाई मुद्दा दायर गरेको थियो ।  
 
छपाइको क्रममा नेपाल राष्ट्र बैंकले नोट प्रिन्टिङ अस्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिएको, सञ्चालक समितिका निर्णय चुहाएको र जर्मन कम्पनीसँगको नोट छाप्ने साँचो नोट प्रिन्टिङ अस्ट्रेलियालाई हस्तान्तरण गर्न लगाएको आयोगको दाबी थियो । बोलपत्रअघि नै नोटको डिजाइन गर्न लगाउनुले पनि मिलेमतो प्रस्ट भएको अख्तियारले जनाएको छ ।  यो प्रकरणमा अस्ट्रेलियामा समेत अनुसन्धान भई मुद्दा दायर भएको थियो ।