मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ३० मंगलबार १०:०२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निक्षेपमा ब्याजदर घटाउँदै बैंकहरू, भद्र सहमति तोडियो 

मुद्दती निक्षेपको ब्याजदरमा १ प्रतिशत र साधारण बचतमा ० दशमलव ५ प्रतिशत ब्याजदर घटाउने संकेत 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ३० मंगलबार १०:०२:००

वाणिज्य बैंकहरूले निक्षेपमा दिँदै आएको ब्याजदरको वृद्धि रोक्न २ वर्षअघि राष्ट्र बैंकको रोहबरमा भएको भद्र सहमति सोमबारबाट तोडिएको छ । नेपाल बैंकर्स एसोसिएसनको सोमबार बसेको बैठकले भद्र सहमति तोड्ने निर्णय गरेको हो । 

यससँगै बैंकहरूले मुद्दती निक्षेपको ब्याजदरमा १ प्रतिशत र साधारण बचतमा ० दशमलव ५ प्रतिशत ब्याजदर घटाउने संकेत गरेका छन् । यसअघि नै बैंकहरूले निक्षेपको ब्याजदर घटाइसकेका छन् । बैंकहरूले यसअघि मुद्दती निक्षेपमा ९ प्रतिशतबाट घटाएर ८ दशमलव ७५ मा र सामान्य निक्षेपमा ६ प्रतिशतबाट घटाएर
५ दशमलव ५ प्रतिशत बनाइसकेका छन् । 

भद्र सहमतिअघि मुद्दती निक्षेपको ब्याजदर १२ प्रतिशतसम्म र साधारण निक्षेपको ब्याजदर ८ प्रतिशतसम्म पुगेको थियो । बैंकहरूबीच निक्षेप खोसाखोसको अवस्था आएकाले राष्ट्र बैंककै प्रस्तावमा ब्याजदरलाई माथि जान नदिन सहमति भएको थियो । ब्याजदरको वृद्धि रोक्न गरिएको यस्तो सहमतिको बजारमा लगानीका लागि पर्याप्त तरलता भएपछि तोडिनुको खासै अर्थ भने छैन । 

‘सो समय पनि राष्ट्र बैंकले निक्षेपको ब्याजदर तल्लो सीमालाई समेत नघटाउन भनेको थियो,’ एक बैंकरले भने, ‘अहिले पनि राष्ट्र बैंकले ब्याजदरलाई अस्थिर नबनाउन भने आग्रह गरेको छ ।’ संघले समेत बैंकहरूलाई यस्तै आग्रह गरेको छ । तैपनि, बैंकहरू निक्षेपको ब्याजदर घटाउन अब स्वतन्त्र हुनेछन् । 

कोभिड–१९ को प्रभाव कम गर्न बैंकहरूले लागत घटाउने सबैभन्दा ठूलो अस्त्र ब्याजदर कटौतीलाई नै मानिरहेका छन् । ३२ खर्ब निक्षेप रहेका बैंकहरूले अन्य खर्चमा गर्ने कटौतीले मात्रै १० अर्बबराबरको पुँजीको लागत घट्ने बताउँदै आएका छन् । राष्ट्र बैंकले ब्याजदरलाई स्थिरता कायम गर्न मुद्दती निक्षेपको ब्याजदर एकपटक प्रकाशित गरेर सार्वजनिक गरेपछि ३ महिनासम्म परिवर्तन गर्न नपाइने व्यवस्था गरेको छ । संस्थागत निक्षेपलाई भने यसरी प्रकाशित गरेको दरमा १ प्रतिशतले मात्रै थपघट गर्न सक्ने व्यवस्था छ । 

असारको दोस्रो सातासम्म बैंकहरूको कर्जा लगानी वृद्धिदर ऋणात्मक थियो । अहिले यसमा केही सुधार भए पनि बैंकहरूसँग पर्याप्त पुँजी रहेका कारण ब्याजदर घटाउनुपरेको बैंकरहरूले बताएका छन् । हाल वाणिज्य बैंकहरूको कर्जा लगानी जेठको पहिलो साताको तुलनामा १२ अर्ब रुपैयाँले बढेर २८ खर्ब ४२ अर्ब पुगेको छ । त्यस्तै, निक्षेपमा भने सोही अवधिमा १ खर्ब ६९ अर्बले वृद्धि भएर ३३ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । कर्जा र निक्षेपको मात्र अनुपात भने ८३ प्रतिशत हाराहारी छ । प्राथमिक पुँजी र निक्षेपसहितको रकमको तुलनामा भने कर्जा लगानी अनुपात ८० प्रतिशत हुनुपर्छ । हाल यस्तो अनुपात ७३ प्रतिशत हाराहारी रहेको बैंकहरूले बताउँदै आएका छन् । 

बैंकहरूको कर्जाको ब्याजदर औसतमा १० देखि १२ प्रतिशत रहेको संघले उल्लेख गरेको छ । केही समयअघि बैंकहरूले निक्षेपको ब्याजदर घटाएसँगै राष्ट्र बैंकले कर्जाको ब्याजदरसमेत २ प्रतिशतले घटाउन निर्देशन दिएको थियो ।