Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवीन अर्याल काठमाडाैं
२०७७ असार ३० मंगलबार ०८:१९:००
Read Time : > 3 मिनेट
नयाँCity प्रिन्ट संस्करण

भिन्टेज संग्रहालय

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७७ असार ३० मंगलबार ०८:१९:००

तिलगंगा अस्पताल हुँदै अगाडि बढ्दा बागमती किनारमा नेपाली मौलिकता झल्काउने भव्य भवन देखिन्छ । बाहिरैबाट देखिने रंगीचंगी भिन्टेज गाडीको लस्करले म्युजियम पुगेको झल्को दिन्छ । सञ्चालनको तयारीमा रहेको ‘आनन्द पशुपति’ होटेल परिसरमा सञ्चालक आनन्दराज बतासले पुराना गाडी संग्रह गरेका छन् । होटेलमै भिन्टेज गाडीको संग्रहालय खोल्ने उनको सोच छ । हालसम्म १२ वटा गाडी संकलन गरेका छन् । र, अरू पनि थप्दै जाने योजनामा छन् ।

उनी गाडीका सौखिन होइनन् । मनग्य पैसा कमाएर भिन्टेज गाडीको संग्रह पनि थालेका होइनन् । भिन्टेज गाडी किनेर चलाउने सोख पनि छैन । अटोमोबाइल्स व्यवसायबाट उदाएका बतास नेपालमा भित्रिएका गाडीको इतिहास जोगाउन कस्सिएका हुन् । भन्छन्, ‘म कम्पनीको पैसा चलाउँदिनँ, आफ्नो तलबबाट केही रकम छुट्याएर भिन्टेज गाडी किनिरहेको छु ।’

सबै गाडी बतास फाउन्डेसनमातहत छन् । र, भविष्यमा तिनीहरूको संग्रहालय पनि फाउन्डेसनले नै सञ्चालन गर्नेछ । करिब एक दशकयता बतासले भिन्टेज गाडी संग्रह थालेका हुन् । पाँच वर्षभित्र ४० वटा गाडी संग्रह गर्ने उनको लक्ष्य छ । ‘म्युजियम बनाउन सकियो भने पुराना गाडी संरक्षण हुने मात्र होइन, नयाँ पुस्ताले पनि थाहा पाउँछन्,’ उनी भन्छन् । बहुमूल्य भिन्टेज गाडी कौडीको भाउमा कवाडीमा बिक्री भइरहेको देखेर उनी संग्रहालयतिर आकर्षित भएका हुन् ।

उनले फियाटको पुरानो मोडेल ललितविक्रम शाहसँग खरिद गरेका हुन् । सडकमा निकाल्नयोग्य त्यस गाडीलाई उनले १० लाख रुपैयाँ तिरे । ‘यो गाडीमा उहाँको सेन्टिमेन्टल भ्यालु रहेछ,’ उनी भन्छन्, ‘मैले पुराना गाडी संरक्षण गर्न लागेको हो, तपाईंलाई चलाउन मन लाग्यो भने ल्याउनुहोला भनेर लिएर आएँ ।’ बतास अर्गनाइजेसन आफैँ फियाट गाडीको नेपाली विक्रेता हो ।

यस्तै, काठमाडौंकै ज्योति शाहसँग पुरानो अमेरिकी जिप थियो । एक करोड रुपैयाँ दिन्छु भन्दा पनि उनले बिक्री गरेकी थिइनन् । उनका म्यानेजरसँग बतासको चिनजान थियो, उनैमार्फत जिप खरिद गर्न छलफल अगाडि बढाए । तर, शाहले बिक्री गर्न मानिनन्, प्रदर्शनमा राख्न मात्र गाडी उपलब्ध गराइन् ।

बिरा फर्निचरकी सञ्चालक अनिता श्रेष्ठसँग १९३१ मोडलको रातो रङको गाडी किनेका छन् । करिब ९० वर्ष पुरानो यो गाडी मकवानपुरको भीमफेदीबाट ६० जनाले बोकेर काठमाडौं ल्याएका थिए । यो गाडीको भित्री इन्टेरियर काठबाट बनाइएको छ । नेपाः ब्याङ्क्वेटका दिनेश श्रेष्ठसँग पनि तीनवटा भिन्टेज गाडी उनले खरिद गरेका छन् । ‘उहाँले अरू गाडी किन्न पनि सहयोग गर्नुभयो । अहिले संकलित ६० प्रतिशत गाडी उहाँले नै खोजेर ल्याइदिनुभयो,’ बतास भन्छन् ।

व्यवसायी आनन्दराज बतास पुराना गाडी र मोटरसाइकल संकलन गरेर ‘भिन्टेज गाडी संग्रहालय’ स्थापना गर्दै छन् । तिलगंगास्थित उनको होटेल परिसरमा ती गाडी संगृहीत छन् ।

यस्तै, नेपाल वायु सेवा निगमका क्याप्टेन विजय लामाका बाबुसँग १९६८ मोडेलको गाडी खरिद गरेका छन् । अमेरिकी दूतावासमा काम गर्ने श्रीलंकाका नागरिकसँग क्याप्टेन लामाका बाबुले ०३० सालतिर ५५ हजार रुपैयाँमा त्यो गाडी खरिद गरेका थिए । सुरुमा गाडी बिक्री गर्न उनी तयार भएनन् । तर, संग्रहालयको योजना बताएपछि उनी राजी भए । राजा महेन्द्र चढेको र उनले कसैलाई उपहार दिएको इंग्ल्यान्डमा बनेको कालो कलरको गाडी पनि उनको संकलनमा छ ।

खोज्दै जाँदा पोखरामा फियाटका ‘पद्मिनी’ र ‘एम्बास्डर’ मोडेलका दुईवटा गाडी भेटे । एम्बास्डर ४० वर्ष पुरानो गाडी थियो । दुवैका मालिक एकै थिए, जसले ट्याक्सीका रूपमा ती गाडी प्रयोग गरेका थिए । बतास आफैँले ती गाडी गुडेको देखेका थिए । दुवै गाडी खरिद गरे । दुवै गाडी पोखरामै छन् । बतासको सोच छ, पोखरामा पनि पुराना गाडीको संग्रहालय खोल्ने । उनलाई साथीभाइले संग्रहालयका लागि पोखरा पनि उपयुक्त हुने सुझाइरहेका छन् । धुम्बाराहीस्थित अल्टरनेटिभ फर्निचरका सञ्चालकसँग दुईवटा भिन्टेज गाडी संगृहीत छन् । दुवै गाडी खरिद गर्ने सुरसारमा छन्, बतास ।

हिप्पी संस्कृतिसँगै नेपालमा भित्रिएका थिए, मर्सिडिजका मिनी बस । नयाँ पुस्ताका लागि हिप्पी संस्कृति एकादेशको कथा बनेको छ । तर, त्यसलाई सम्झाउन उनी मर्सिडिजको मिनी बस पनि खरिद गर्ने योजनामा छन् । यस्तै, यातायात व्यवस्था विभागमा थन्किएका ट्रली बस, भक्सवागनका बिटल्स र पुराना भ्यान, पुरानो डोजर, पुरानो दमकल र ट्रक पनि किन्ने सोचमा छन् । 

‘मसँग एउटा बिटल्स गाडी थियो, वर्कसपमा राख्दाराख्दै बिग्रेर फाल्नुपर्‍यो,’ बतास भन्छन् । उनको संग्रहमा पुरानो मर्सिडिज, मोरिस र ल्यान्डरोभर गाडी पनि छन् । तीनवटा पुराना मोटरसाइकललाई उनले होटेलभित्र सजाएका छन् । जापानी र अमेरिकी ब्रान्डका ती बाइक करिब ८५ वर्ष पुराना हुन् ।

                                                                 ......

बतास परिवारले पोखराबाट व्यवसाय सुरु गरेको हो । यो परिवारले ०४४–४५ सालतिर पोखरामा मारुती र महिन्द्राको सोरुम खोलेको थियो । पछि टिभिएस बाइकको सोरुम पनि खोले । आनन्दराज काठमाडौं आएपछि विभिन्न ब्रान्डका गाडीको आधिकारिक विक्रेता बने । ‘काठमाडौं आएको करिब २० वर्ष भयो, यहाँ भिन्टेज गाडी कवाडी पसलमा देखेँ,’ उनी भन्छन्, ‘यसरी कवाडीमा बिक्री गर्दै जाने हो भने नेपालमा गाडीको इतिहास नै समाप्त हुने ठानेर संकलन गर्न थालेको हुँ ।’ कवाडीले बहुमूल्य भिन्टेज गाडी ५० हजारमै खरिद गर्थे । खासमा भिन्टेज गाडीको महत्व नै कसैलाई थाहा थिएन ।

उनले काठमाडौंका कवाडी पसल चहारेर काट्न ठिक्क पारिएका तीनवटा भिन्टेज गाडी खरिद गरे । अहिले पनि भिन्टेज गाडीको खोजीमा कवाडी पसल चहार्छन्, उनी । ‘डेढ–दुई लाखमा किनेर रङरोगन गरी चिटिक्क पारिएका गाडी २०–२२ लाखमा खरिद गर्न ग्राहक आइरहेका छन्, तर मैले बिक्री गर्न संकलन गरेको होइन,’ उनी भन्छन् । २० वर्ष पुराना गाडी सडकमा निकाल्न सरकारले बन्देज लगाइसकेको छ । तर, अनुमति पाए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट होटेलसम्म विदेशी पर्यटक ल्याउन प्रयोग गर्ने उनको सोच छ ।