कर्णाली प्रदेशमा साेमबार कोरोना संक्रमित र डिस्चार्ज हुनेको संख्या बराबर
कर्णालीमा सोमबार कोरोना संक्रमित हुने र कोरोना संक्रमण निको हुनेको संख्या बराबर रहेको छ ।
पछिल्लो २४ घन्टामा ४७ जनामा कोरोना संक्रमण देखिएको छ भने ४७ जना नै कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
प्रदेश अस्पताल–पशुपक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत जिल्लाका ४१ जना, दैलेख दुईजना जाजरकोट र बाँके एक–एकजना गरी जम्मा ४५ जना र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको पिसिआर प्रयोशशालामा परीक्षणमा रुकुम पश्चिम दुईजना गरी जम्मा ४७ जनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।
‘आज डिस्चार्ज हुने र संक्रमण हुनेको संख्या बराबर रहेको छ,’ उनले भने, ‘४७ जना थप कोरोना संक्रमित हुँदा संक्रमण जित्नेको संख्या पनि ४७ पुगेको छ ।’
कर्णाली प्रदेशमा कोरोना संक्रमितको कुल संख्या एक हजार ६ सय ६३ पुगेको छ ।
सोमबार सल्यान जिल्ला अस्पतालबाट ३४ जना, सुर्खेतको वीरेन्द्रनगर आइसोलेसनबाट १२ जना र दैलेखको आठबिस नगरपालिकाको आइसोलेसनबाट एकजना गरेर जम्मा ४७ जना कोरोना संक्रमण जितेर डिस्चार्ज भएको डा. तिवारीले बताए ।
‘कोरोना संक्रमण जित्नेको संख्या एक हजार चार सय ५५ पुगेको छ,’ उनले भने, ‘हाल कोरोना सक्रिय संक्रमित दुई सय दुईजनाको विभिन्न अस्पताल र ओइसोलेसनमा उपचार भइरहेको छ ।’
कर्णालीमा कोरोनाका कारण हालसम्म ६ जनाको निधन भएको डा. तिवारीले बताए ।