मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ असार २९ सोमबार १५:२९:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

गाउँगाउँमा भ्रष्टाचारको लहरो : शुक्लाफाँटा नगरपालिकाको ‘सहरी स्वास्थ्य भवन’ बन्यो भ्रष्टाचारको नमुना

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ असार २९ सोमबार १५:२९:००

दुईकोठे टिनले छाएको सानो घर र एउटा शौचालय बनाउन नेपालमा कति खर्च लाग्छ होला ? 

त्यो पनि सजिलो गरी निर्माणका सामग्री ढुवानी गर्न सकिने तराई क्षेत्रमा । हो, केही लाख रुपैयाँमा उक्त भवन बन्छ नै होला । 

तर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ६ कसरौलमा निर्माण भएको सहरी स्वास्थ्य भवनको निर्माण लागत १८ लाख रुपैयाँ लागेको छ ।   

दुईकोठे टिनले छाएको संरचना र एउटा शौचालय निर्माणका लागि यत्रो पैसा खर्च भएको देखाएपछि स्थानीयले गाउँगाउँमा सिंहदरबार भ्रष्टाचारको लहरो बोकेर आएको अनुभूति गरेको जनाएका छन् । 

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयबाट आएको सहरी स्वास्थ्य भवन निर्माणको काम भ्रष्टाचारको नमुना बन्न पुगेको छ ।

छतमा टिनले छाइएको र  कच्चा तरिकाले बनाइएको भवनमा सीधै भ्रष्टाचार भएको भन्दै स्थानीयले विरोध गरेका छन् । 

स्थानीय दीपक भट्टले सानो भवन निर्माणमा ठूलो बजेट खर्च भएको र भवनको अवस्था दयनीय देखिएको बताए । 

उनले सामान्य आँखाले हेर्दा निर्माणमा आवश्यक पर्ने स्रोतसाधनको स्थानीय मूल्य हेर्दा र बनेको भवनको अवस्था हेर्दा सीधै भ्रष्टाचार भएको देख्न सकिने भए पनि सबैजना चुप लागेर बसेकोमा आश्चर्य व्यक्त गरे । 

भवन निर्माणमा सबैले मिलेर रकम हिनामिना गरेकाले सबैजना तैँ चुप मै चुप भएको उनले बताए । 

दुईकोठे भवन र शौचालयका लागि प्रदेशको मन्त्रालयबाट आएको बजेटभन्दा उपभोक्ता समितिले बढी खर्च देखाइएको छ । 

प्रदेशबाट आएको बजेटभन्दा चार लाख ४० हजार रुपैयाँ बढी खर्च देखाइएको हो । 

विभिन्न २१ शीर्षकमा खर्चको विवरण राखेर  समितिले सम्झौताअनुसार भुक्तानीका लागि स्वास्थ्य कार्यालयमा निर्णयसहित पठाएको छ । समितिले १८ लाख १५ हजार रुपैयाँ खर्च भएको देखाएको छ । 

उपभोक्ता समितिले विभिन्न २१ शीर्षकमा खर्च देखाइएको छ । जसमा अधिकांश दोहोरिएका छन् । 

भवन चिनाई तथा प्लास्टर कार्यमा शीर्षक राखेर एक लाख ७२ हजार पाँच सय र त्यही विषयमा अर्को शीर्षक राखेर भवन चिनाई तथा प्लास्टर ढलान भनेर एक लाख ३९ हजार आठ सय रुपैयाँ देखाइएको छ । 

बालुवा, गिटी, ढुंगा र काठ ढुवानी भनेर एक लाख २५ हजार देखाइएको छ । ज्याला तथा हरेक सामग्रीको मूल्य बजारभन्दा धेरै चर्को राखिएको छ । 

स्थानीय चक्र साउदले बाहिरबाट हेर्दा उपभोक्ता समितिले स्टिमेट अनुसार नै काम गरेको तर दायाबाया भएको भए थाहा नभएको बताए ।

लकडाउनका कारण निर्माण सामग्रीको मूल्य वृद्धि हुँदा खर्च भएको उपभोक्ता समितिको दाबी छ । उपभोक्ता समितिका अध्यक्ष लालमन रानाले इन्जिनियर र प्राविधिकले जे–जे भन्यो त्यहीअनुसार काम गरेको बताए । 

‘हामीले स्टमेटअनुसारै काम गरेका छौँ,’ उनले भने, ‘हामीबाट कमी–कमजोरी भएको छैन, इन्जिनियर प्राविधिकबाट भएको हामीलाई थाहा छैन ।’ 

स्थानीय जनप्रतिनिधिले समेत भवन निर्माणमा अनियमितता भएको आशंका गरेका छन् । 

भवन निर्माणका लागि खटिएका प्रदेश मन्त्रालय, प्राविधिकबाटै भ्रष्टाचार भएको जनप्रतिनिधिको दाबी छ । 

शुक्लाफाँटा नगरपालिका– ६ का वडाध्यक्ष जग्ता रानाले स्टमेट गलत बनाएर प्राविधिकबाटै त्रुटि भएको बताए । 

‘सानो भवन निर्माणमा बढी रकम लाग्दैन,’ उनले भने, ‘अनियमितता गर्ने जोकोही भए पनि कारबाही हुनुपर्छ ।’ 

भवन निर्माण गर्दा वडासँग जमिन र सिफारिसबाहेक कुनै पनि समन्वय नगरिएको उनले बताए ।