मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार २९ सोमबार ०८:३०:००
Read Time : > 5 मिनेट
दृष्टिकोण

राष्ट्रको भ्रम

स्वाभिमानको अर्थमा राष्ट्रवाद भ्रम मात्र हो, सत्य भनेको देश हो, जसमा सबैको पसिना र पौरख समाहित हुन्छ

Read Time : > 5 मिनेट
२०७७ असार २९ सोमबार ०८:३०:००

राष्ट्र होइन, देशको कुरा गरौँ । नेपालमा राष्ट्र एउटा भ्रमबाहेक केही होइन । अधिकतम यो पारम्परिक शासकको पहाडिया हिन्दू उच्च जातीय खस अहंकारवाद थोपर्ने निहुँ मात्र हो । हामी गणतन्त्रको नयाँ युगमा छौँ, जहाँ हामीले एकीकृत देशभक्तिको परिभाषा खोज्नु आवश्यक छ ।

परम्परागत राष्ट्रवादको परिभाषाले विभाजनबाहेक अरू केही दिँदैन । इतिहासको समीक्षा गर्ने हो भने नेपाल जतिवेला नेपालको नामले चिनिएको पनि थिएन, त्यतिवेलादेखि नै यहाँ विविध समयमा विविध समुदाय आएका र उनीहरू अन्तरविरोध, अन्तरसम्बन्ध संघर्ष, सहचर्य र आ–आफ्ना विशिष्टता तथा साझापनसहित बस्न थालेको देखिन्छ । यसप्रकार नेपाल सुरुदेखि नै विविध भाषा, क्षेत्र, आर्थिक जीवनशैली र सांस्कृतिक मनोविज्ञान भएको समुदायको साझा स्थलका रूपमा विकास हुँदै गएको हो । 

अहिले परिभाषित राष्ट्रवाद, जसले हामीलाई गोर्खाली शाहवंशीय अभिमानलाई देशको स्वाभिमानको रूपमा सबैमा थोपर्न खोज्छ, शासकवर्गीय इतिहासको स्वीकृतिबाहेक अरू केही होइन । खसहरूको वीरता वा गोर्खाली शाहवंशीय गर्व कुनै जातीय समुदायका निम्ति गर्वको विषय हुन सक्छ, यस अर्थमा सम्मान पनि गर्न सकिन्छ । तर, यसलाई समग्र देशको परिचय र गर्वको रूपमा थोपर्नु पश्चगामिता मात्र हुनेछ र यसलाई स्विकार्नुको अर्थ सांस्कृतिक र क्षेत्रीय रूपमा गरिएका शासकीय शोषण र भेदभावलाई स्विकार्नु पनि हुनेछ । गणतन्त्र आए पनि शासनमा हाबी प्रायः सबै राजनीतिक दल यस एकलकाँटे दक्षिणपन्थी चेतनाको वर्चस्वबाट मुक्त हुन सकेका छैनन् ।

ऐतिहासिक धारामा यस देशमा आएका समुदायको समीक्षा गर्ने हो भने अहिले नेपालमा आफूलाई राष्ट्रको पर्यायवाचीको रूपमा प्रस्तुत गर्न खोजिरहेको गोर्खाली खस समुदाय यस देशमा सबैभन्दा पछि आउने समुदाय हो । उसको पुस्ताको एउटा चतुर राजा पृथ्वीनारायण शाहले आफ्ना भारदार र सेनापति बाहुन, क्षेत्री, मगर र गुरुङको लडाकुपनको खुबी प्रयोग गरी यहाँका विविध साना–ठूला रजौटा र राज्यहरूलाई जितेर एउटा केन्द्रीकृत सामन्तवादी साम्राज्य स्थापित गरेको विजयी इतिहासलाई सबैको साझा राष्ट्रको इतिहासको रूपमा प्रस्तुत गर्न खोज्नु अहिलेको गणतान्त्रिक नेपालमा इतिहासविरोधी र पछौटे चेतना मात्र हो । किनभने वर्तमान नेपाल न त सीमाको रूपमा त्यति वेलाको नेपाल हो, यसमा अनेकौँ परिवर्तन भएका छन्, न त शासकीय संरचनाको दृष्टिले पुरानो नेपाल हो ।

यो नेपाल कुनै एकल अथवा केही जातीय समुदायको पौरख पनि होइन । यसमा गोर्खाली शाहवंशीय सामन्तवादसहित सबै प्रकारका सामन्तवादविरुद्ध देशका सबै वर्ग, जाति, क्षेत्र र लिंगको पौरख खर्च भएको छ । यसमा गोर्खाली शासकवर्गबाहेकको खसको पनि पौरख खर्च भएको हो । त्यसैले यो पुरानो नेपाल होइन । 

नेपाली राजनीतिमा अहिले विगतको दशकमा हाबी प्रगतिशील र सामूहिक चेतनाभन्दा भिन्न चुनावी राजनीतिको कारण भोटबैंक निर्माणको लोभमा फेरि संकीर्ण राष्ट्रवादी भावना बढदै गइरहेको छ । यो भनेको नेपाली राजनीतिमा दक्षिणपन्थी फासीवादी प्रवृत्तिको वर्चस्व हो । संकीर्ण राष्ट्रवाद दक्षिणपन्थी चेतना नै हो, जसले आफूलाई धर्म, वंश, परम्परा र पुख्र्यौली निरपेक्ष गर्वमा अभिव्यक्त गर्छ ।

नेपालको संविधानले नेपालको जनतालाई राष्ट्रको रूपमा परिभाषित गरेको छ । तर, के यथार्थ त्यस्तै छ ? जब नेपाली मिडिया वा कुनै नेताले दार्जिलिङ र सिक्किमका नागरिकलाई नेपाली मूल र तराई–मधेसमा बस्नेलाई भारतीय मूल भन्छ, त्यसको कतैबाट कुनै प्रतिक्रिया हुँदैन । के पहाडिया मूल नेपाली हो ? के तराई–मधेसमा बस्ने भारतीय मूलका हुन् ? यथार्थ त्यस्तो होइन । के नेपाल भनेको पहाड मात्रै हो ? हुन त कुनै वेला नेपाल भनेर काठमाडौं उपत्यका मात्र परिचित थियो– नेपाल खाल्डो, नेपाल मण्डल ।

अहिले नेपाल खाल्डो वा नेपाल मण्डलका बासिन्दा आफूलाई नेवाः अथवा नेवार भन्ने गर्छन् । हिन्दू र बौद्ध पौराणिक ग्रन्थहरू र कौटिल्यको अर्थशास्त्रमा उल्लेख गरिएको नेपालको प्रसंग देखाएर कसैले आफूलाई पौराणिक साबित गरेको पनि पाइन्छ । तर, ती पुरातन उल्लेखहरूले अहिले हामीले भन्ने गरेको नेपाललाई साबित गर्दैन । ती पौराणिक उल्लेखअनुसार कदाचित कसैले त्यसलाई पर्वतीय प्रदेशको रूपमा भन्न चाहेका हुन् भने अहिलेको नेपाल पर्वतीय प्रदेश मात्र पनि होइन । अहिलेको नेपाल हिमाल, पहाड र तराई मधेसको समथर मैदानी क्षेत्र र यहाँ बस्ने सबै जाति, भाषिक र सांस्कृतिक समुदायको साझा स्वामित्वको राजनीतिक भूगोल हो ।

कूटनीतिक मर्यादाविपरीत सरकारी नेकपाका नेतासँग चिनियाँ राजदूतले जसरी भेटघाट गरिरहेकी छिन्, भारत र अमेरिकाले यसैलाई आधार बनाएर नेपालको स्वतन्त्र कूटनीतिमा प्रहार गर्दै छन् ।

वस्तुतः अहिले हामीले चिनेको नेपाल आधुनिक परिभाषा हो, जो राजनीतिक रूपमा ब्रिटिस–नेपाल युद्धकालमा जन्मियो र राणाकालमा स्थापित भयो । यसमा गोर्खाली शासकीय पहाडिया हिन्दू उच्च जातीय सांस्कृतिक चेतना राजा महेन्द्रले भरे । मानवशास्त्र तथा नृतत्वशास्त्रअनुसार न त नेपाली मूल हुन्छ, न त भारतीय मूल नै हुन्छ । पहाडी क्षेत्रमा जन्मने सांस्कृतिक समुदायका मानिस नेपाली मूलका तथा भारत र तराई–मधेसको समथर क्षेत्रमा जन्मेका सांस्कृतिक समुदायका मानिस भारतीय मूलका भन्ने झुटो भ्रम दुवैतिरका दक्षिणपन्थी शासकवर्गको षड्यन्त्र तथा आफ्नो शासकीय दुनो सोझ्याउने दाउ मात्र हो ।

मूल भनेको त आर्य, द्रविड, आस्ट्रिक र मंगोल हो, जसबाट विकसित आदिवासी, जनजाति र जातीय समुदाय भारत र नेपाल दुवै देशमा बस्छन् । यस आधारमा हेर्दा नेपाल र भारत र यो दुवै मात्रै होइन, विश्वको कुनै पनि देश राष्ट्र होइन । अधिकतम त्यहाँका बासिन्दा सांस्कृतिक समुदायसम्म मात्र हो । यद्यपि अहिलेको हरेक देशको शासकीय परम्पराले आफूलाई राष्ट्रको रूपमा प्रस्तुत गर्ने गर्छ । यो भ्रम पहाड, हिमाल र तराई–मधेस सबैतिर व्याप्त छ । 

देशमा भाषा, क्षेत्र र समुदाय–विशेषको पहिचानका आधारमा गरिएको ऐतिहासिक शासकीय भेदभावको वर्तमान जारी रूपविरुद्धको संघर्ष र आन्दोलन सही भए पनि यसमा वर्ग राजनीतिभन्दा भिन्न संकीर्ण पहिचानको एकलकाँटेपना जसरी विकसित हुँदै छ, त्यसले अन्तमा देशको एकत्वभावलाई खण्डित गरिरहेको छ र चतुर राजनीतज्ञले यसको फाइदा उठाइरहेका छन् । अहिले सरकारी नेकपाभित्रको विवादमा सरकार समर्थकले विरोधीमाथि भारतीय दलालको कुप्रचार तथा सरकारपक्षीयलाई राष्ट्रवादीको जुन नारा लगाइरहेका छन्, त्यसमा पनि तिनै ऐतिहासिक संकीर्ण चेतनाको वकालत छ । 

वस्तुतः नेपाल मात्रै होइन, छिमेकी भारतसहित प्रायः सबैतिर यस्तै स्थिति छ । नेपालमा संकीर्ण ‘खस पहाडिया हिन्दू उच्च जातीय अहंकारी’राष्ट्रवाद छ भने भारतमा नरेन्द्र मोदी सरकार हिन्दू धार्मिक संकीर्ण राष्ट्रवादको वकालत गर्दै छ, अमेरिकी डोनाल्ड ट्रम्प गोरा अमेरिकी राष्ट्रवाद र रुसमा भ्लादिमिर पुटिन रुसी जातीय राष्ट्रवादको बलमा शासन चलाइरहेका छन् ।

चीनमा शासकवर्गमा मातृभूमिको गर्व र कम्युनिस्ट बिरासतलाई विशिष्ट प्रकारको चिनियाँ राष्ट्रवादको रूपमा प्रयोग गरिँदै छ । वर्तमान विश्वको समग्र शासकीय राजनीतिको समीक्षा गर्ने हो भने नवफासीवादी चरित्र केन्द्रमा देखिन थालेको छ । यो पुँजीको सांस्कृतिक साम्राज्यवादी चरित्रको नयाँ वैश्विक विकास हो, जसले समग्र विश्वलाई भयावह अन्तर्साम्राज्यवादी युद्धतर्फ धकेल्दै लगेको छ ।

यस्तोमा जुन ‘वीर पुर्खा’को पौरखलाई वर्तमान गणतान्त्रिक नेपालमा पनि राष्ट्रवादी तर्कको रूपमा प्रस्तुत गरिँदै छ, त्यो आधुनिक देशभक्तिको चेतनाको विरुद्ध त छँदै छ, नेपालको इतिहासबोधको पनि विपरीत छ । यो संकीर्णता शासकवर्गमा मात्र होइन, सांस्कृतिक र क्षेत्रीय भेदभावविरुद्ध लडिरहेका तराई–मधेसका मधेसी अधिकारवादी राजनीतिक आन्दोलन र आदिवासी–जनजातिको एकल आन्दोलनमा समेत देखिन्छ । 

नेपाली राजनीतिको कटु सत्य के छ भने यहाँ वैचारिक राजनीतिको नाममा होस् अथवा क्षेत्रीय, जातीय, सांस्कृतिक आन्दोलन, सबैका अगुवाहरू अन्ततः संसदीय राजनीतिमा नै आफ्नो भविष्य खोज्छन्, जो पटक–पटक असफल सिद्ध हुँदै छ । यस्तोमा नेपाल अहिले विभिन्न आवरणका नवफासीवादी नेताले वकालत गरिरहेको सांस्कृतिक राष्ट्रवादको बाटोमा जान्छ अथवा यहाँको उत्पीडित वर्ग, समुदाय, समूह र सम्प्रदायको एकीकृत देशभक्तिको बाटोमा जान्छ भन्ने प्रश्न अहं् छ । वर्तमान नवफासीवादी नेताहरूले देखाएको सांस्कृतिक राष्ट्रवादको बाटोमा जानुको अर्थ अल्पसंख्यक र शासनइतर समुदायलाई बहिष्करण र भेदभावमा र कुनै न कुनै निहुँमा उनीहरूलाई दोयम दर्जामा नै राख्नु हो ।

समस्या संविधानमा पनि छ । संविधानले भाषिक, क्षेत्रीय, लैंगिक उत्पीडित र अल्पसंख्यक समुदायका निम्ति आरक्षित सुविधाको श्रेणीमा सबैभन्दा माथि विपन्न वर्गको नाममा बलजफ्ती घुसाएको खसआर्यलाई स्वीकार गरेको छ । यो भेदभावपूर्ण स्थिति हो । पश्चिमका खस केन्द्रीय शासनबाट क्षेत्रीय शोषणका सिकार ऐतिहासिक रूपमा हुँदै आएको सत्य हो । त्यसो भए संविधानमा ‘कर्णालीका खसहरू’ भनेर स्पष्ट लेख्नु पो उचित हुन्थ्यो । अन्य क्षेत्रका खसमा गरिबी छ भन्ने पनि सत्य हो । तर, के विपन्नता खस समुदायमा मात्रै हो । अरू समुदायमा पनि त गरिब छन् ।

यस्तोमा विपन्नता अर्थात् वर्गीय आधारमा दिइने संवैधानिक आरक्षण र सुविधाको लाभ विभिन्न समुदायभित्रका गरिब, मजदुर, किसान, निम्नमध्यम वर्गले पनि पाउनुपर्ने हो । तर, खसआर्यको जुन बेमेल शब्दावली तयार गरिएको छ, यसमा जसरी बाहुन, क्षेत्री, ठकुरी, दसनामी, सन्न्यासीलाई सीमित गरिएको छ, त्यो तिनै संकीर्ण शासकीय अहंकारवादी सांस्कृतिक तुष्टीकरणको प्रयास हो । संविधानभित्रको यस विपन्न खसआर्यको पोल त्यतिवेला खुल्ने गर्छ, जतिवेला कुनै संसदीय राजनीतिक दलले यस सुविधाअन्तर्गत सम्पन्न वर्गकै कुनै ‘खसआर्य’लाई प्रतिनिधिसभा वा राष्ट्रिय सभाको सदस्यमा मनोनयन गर्ने गर्छ । 

सांस्कृतिक राष्ट्रवादको असत्यता त्यति वेला पनि सावित हुन्छ, जतिवेला सत्तास्वार्थका निम्ति देशहितविपरीत सन्धि–सम्झौता हुने गर्छ र पार्टीलाई समेत उपेक्षा गर्दै मरिहत्ते गर्नु र कूटनीतिक मर्यादाविपरीतका वैदेशिक राजनीतिक सम्बन्ध स्थापित गरिन्छ । कूटनीतिक मर्यादाविपरीत सरकारी नेकपाका गुटीय नेतासँग चिनियाँ राजदूतले जसरी भेटघाट गरिरहेकी छिन्, भारत र अमेरिकाले यसैलाई आधार बनाएर नेपालको स्वतन्त्र कूटनीतिमा प्रहार गर्दै छन् । कूटनीतिक भेटघाट गर्नु नै हुँदैन भन्ने छैन, तर संवेदनशील स्थितिको विचार त गर्नैपर्छ । आफूलाई राष्ट्रवादी देखाउन खोज्ने सरकारले यसमा मुख खोल्न सकेका छैनन् । यथार्थमा यो कूटनीतिक कमजोरी हो, जसले ‘चिनियाँ इसारामा नेपालले भारतसँग सीमाविवाद गरेको हो भन्ने भ्रम फिँजाउन भारतीय पक्षलाई मौका दिएको छ ।

समग्रमा वैश्विकताको वर्तमान युगमा, जहाँ देशको बजेट पनि धनी देशको अनुदानमा बन्छ, राष्ट्रवाद शोषणको कारकको अर्थमा त सही होला, गर्व र स्वाभिमानको अर्थमा भ्रम मात्र हो । सत्य भनेको देश हो, जसमा सबैको पसिना र पौरख समाहित हुन्छ । इतिहास अध्ययनको विषय हो, र वर्तमानलाई गर्व गर्नलायक बनाउन सक्नुपर्छ । यो सोचको सही दिशा हो।