दार्जिलिङको केन्द्रमै आदिकवि भानुभक्तको सालिक छ । दार्जिलिङ र सिक्किममा आदिकविका धेरै सालिक भेटिन्छन् । निर्देशक यादव खरेलले भानुभक्तको बायोपिक सिनेमा निर्देशन गर्ने भए । यसका लागि एक अध्ययन समिति बन्यो ।
निर्देशक खरेल भन्छन्, ‘उहाँले आर्थिक सहयोग पनि गर्छु भन्नुभयो । तर, भानुभक्तलाई नेपालीको सट्टा गोर्खाली भन्नुपर्छ भन्नुभयो । तर, हामीले उहाँको सर्त मानेनौँ ।’
समितिमा कमलमणि दीक्षित, निर्देशक खरेल र डा. वासुदेव त्रिपाठी थिए । ०५४ सालमा उनीहरू अध्ययनका लागि दार्जिलिङ र सिक्किम पुगे । त्यतिवेला दार्जिलिङका चियाबगानमा कामदारका लागि भानुभक्तरचित रामायण टाउकोमा राखेर शपथ गराउने चलन थियो । ‘अहिले त त्यो चलन हटिसक्यो,’ खरेल भन्छन्।
खरेल, दीक्षित र त्रिपाठी सालिकलगायत भानुभक्तसँग सम्बन्धित विषयको अध्ययन र टिपोट गर्दै हिँडिरहेका थिए । उनीहरूलाई दार्जिलिङका साहित्यकार तुलसी अपतनले सहयोग गरिरहेका थिए । अपतनले तत्कालीन दार्जिलिङ गोर्खा पार्वत्य परिषद्का अध्यक्ष सुवास घिसिङसँग भेटका लागि संयोजन गरे । निर्देशक खरेलले घिसिङलाई फोन गरे । तत्काल समय पनि मिल्यो ।
‘हामीले उहाँलाई सिनेमा बनाउने कुरा बतायौँ । र, उहाँको सहयोग पनि माग्यौँ । उहाँको स्वीकृतिविना सिनेमा बन्न सम्भव थिएन,’ खरेल भन्छन्, ‘उहाँले आर्थिक सहयोग पनि गर्छु भन्नुभयो । तर, भानुभक्तलाई नेपालीको सट्टा गोर्खाली भन्नुपर्छ भन्नुभयो । तर, हामीले उहाँको सर्त मानेनौँ ।’
यादव खरेल, निर्देशक
रेलका अनुसार गोरखाजस्तो सीमित ठाउँबाट अहिले यति ठूलो नेपाल बनिसकेको र भानुभक्तलाई सारा नेपालीले स्विकारिसकेको अवस्थामा गोर्खाली मात्र भन्न सकिँदैनथ्यो । त्यसपछि दार्जिलिङ र सिक्किममा सुटिङ गर्ने सम्भावना ट-यो ।
यसपछि अध्ययनको केन्द्र म्यानमार बन्यो । त्यहाँकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीको नेपाल साइनो पुरानै हो । म्यानमारमा करिब दुई लाख नेपालीभाषी छन् । ‘त्यहाँ पनि सुटिङ गर्ने हिसाबले हामी गयौँ, अध्ययन ग-यौँ,’ खरेल भन्छन् ।
अध्ययन सकिएपछि सुटिङ गर्न सरकारको स्वीकृति आवश्यक भयो । तर, म्यानमार सरकारले सुटिङ गर्न नदिने भयो । म्यानमारमा त्यतिवेला सैनिक शासन थियो । ‘सेनाले बाहिरबाट कुनै पुस्तक भित्र्याउन दिँदैनथ्यो, भन्सारमै खोसिदिन्थ्यो,’ खरेल तितो अनुभव सुनाउँछन्, ‘त्यहाँ पनि सुटिङको सम्भावना रहेन ।’
अब खरेलको टिमसँग एक मात्र विकल्प थियो, भानुभक्त जन्मे-हुर्केको तनहुँको चुँदी रम्घा । चुँदी रम्घामा पनि अर्को समस्या आइपर्यो । भानुभक्तको पुरानो घर जंगलको बीचमा थियो । घरको नाममा इँटाका जग मात्र बाँकी थिए । र, भानुभक्त जन्मस्थल विकास समितिसँग मिलेर खरेलको टिमले उनको पुरानो घरजस्तै आभास दिने भवन बनाए ।
यस सिनेमाको निर्माता पनि सोही समिति थियो । त्यही घरलाई केन्द्रमा राखेर ६० दिनमा सुटिङ सकियो । खरेल भन्छन्, ‘६० मध्ये ३० दिन त्यहीँ सुटिङ गर्यौँ ।’ यस सिनेमाको पटकथा खरेल स्वयंले लेखेका थिए । पटकथाका लागि मोतीराम भट्टको किताबलाई आधार बनाइयो ।
चलचित्र ‘आदिकवि भानुभक्त’ अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया, लस एन्जलस (युसिएलए)ले अध्ययनका लागि लगेको छ । खरेलका अनुसार यो विश्वविद्यालयले संसारभरका राम्रा डकुमेन्टमाथि अध्ययन गर्छ । हाई डिजिटल फम्र्याटमा नेपाली सिनेमा ‘प्रेमपिण्ड’ र ‘आदिकवि भानुभक्त’ लगेको छ । ‘यस्तो ऐतिहासिक र नेपाली साहित्यको जग बसाल्ने पात्रमाथि काम गर्न पाउनु मेरा लागि गर्वको विषय हो,’ खरेल भन्छन् ।