Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
विश्वभाषा क्याम्पसमा सञ्चालित नेपाली (बिए) को परीक्षाका सहभागी । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
२०७७ असार २९ सोमबार ०४:०८:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

थोरै विद्यार्थी भएका दुई विषयको त्रिविले लियो परीक्षा

विद्यार्थी धेरै भएका विषयको परीक्षाबारे त्रिवि अन्योलमै, सहरमा भाडामा बसेका विद्यार्थी आर्थिक संकट झेल्दै

Read Time : > 3 मिनेट
२०७७ असार २९ सोमबार ०४:०८:००

त्रिभुवन विश्वविद्यालयले थोरै विद्यार्थी भएका र बढी शुल्क तिर्न सक्ने विषयमा परीक्षा सञ्चालन गरेको छ । लकडाउनको समयमा त्रिविले विश्वभाषा क्याम्पसमा विशिष्ठ नेपाली (बिए) र सशस्त्र प्रहरीले सञ्चालन गरेको मास्टर्स इन सेक्युरिटी डेभलपमेन्ट एन्ड पिस स्टडिज (एमएसडिपिएस) परीक्षा लिइएको हो । 

धेरै विद्यार्थी भएका विषयमा भने त्रिविले निर्णय गर्न ढिलाइ गरेको छ । कोभिड–१९ महामारीमा पनि त्रिविले परीक्षाका विषयमा पाँच महिनासम्म अनिर्णित हुँदा विद्यार्थी अन्योलमा परेका छन् । विद्यार्थीको स्वास्थ्य, सबै विद्यार्थीलाई समान अवसर हुने गरी निर्णय गर्नुपर्ने विज्ञको तर्क छ । थोरै विद्यार्थी भएका, शुल्क धेरै तिर्न सक्ने र प्रविधिलगायतमा पहुँच भएकालाई मात्र होइन, आमविद्यार्थीलाई हेरेर निर्णय गर्नुपर्ने विज्ञहरूको सुझाब छ ।

त्रिविले समयमै निर्णय लिन नसक्दा काठमाडौंलगायत विभिन्न सहरमा भाडामा बसेर पढ्दै आएका विद्यार्थीले अध्ययनलाई निरन्तरता दिन कठिन भएको गुनासो गर्न थालेका छन् । त्रिविको रसायनशास्त्र केन्द्रीय विभागका विद्यार्थी आकाश घिमिरेले स्नातकोत्तर तह दोस्रो सेमेस्टरको परीक्षाको तयारी गरेका थिए ।

त्रिविका रेक्टर प्रा.डा. शिवलाल भुसाल भन्छन्– परीक्षा दिने विद्यार्थी सबै काठमाडौं उपत्यकामै रहेको र सहभागी हुन सक्ने भएकाले दुईवटा परीक्षा गरेका हौँ, अरू परीक्षाका विषयमा पनि छलफल चलेको छ, छिट्टै निर्णय गर्ने छौैँ ।

रोना भाइरसका कारण लकडाउन भएपछि परीक्षा पनि भएन, अर्को सेमेस्टर पढ्न नपाउँदा निकै तनाव भएको उनले बताए । त्रिविले के गर्ने भन्ने निर्णय नगरिदिँदा मानसिक तनाव र आर्थिक समस्यासमेत भोग्नुपरेको उनले गुनासो गरे । लकडाउन बढ्दै जाँदा धेरै विद्यार्थी आर्थिक रूपमा कठिन परस्थितिमा रहेको उनको भनाइ छ । चार महिनासम्म अनिर्णयको बन्दी भएपछि विद्यार्थीले त्रिवि पदाधिकारीलाई ज्ञापनपत्रसमेत दिएका छन् ।

त्रिविमा स्नातकोत्तर तहमा फिजिक्स पढ्ने विद्यार्थीको पीडा झनै ठूलो छ । पाटन संयुक्त क्याम्पसमा एमएस्सी फिजिक्समा तेस्रो सेमेस्टरमा अध्ययनरत पुनराम पोखरेलले पहिले विवादका कारण सेमेस्टरमा पछि परेको फिजिक्समा कोरोनाले थप तनाव दिएको बताए ।

‘दुई वर्षको कोर्षमा तेस्रो सेमेस्टर पुग्न साढे दुई वर्ष लाग्यो, त्यसमा पनि कोरोनाका कारण परीक्षा हुन नसकेर अड्किएको छ,’ उनले भने, ‘सेमेस्टरमा काम गरेर पढ्न सकिँदैन, काठमाडांैमा जागिर नगरी पढ्दा समयमै कोर्स नसकिएर पैसा जुटाउन पनि समस्या भयो, धेरै दुःख भएको छ, विद्यार्थीको पीडा बुझ्ने कोही भएनन् ।’ प्राध्यापकलाई जिम्मेवार बनाएर अन्तिम मूल्यांकन गर्न भनेर सेमेस्टर सुरु गरे पनि विश्वविद्यालयले शुल्क उठाउन माध्यम मात्रै बनाएजस्तो महसुस भएको विद्यार्थीको भनाइ छ । 

त्रिविका रेक्टर प्रा.डा. शिवलाल भुसालले विद्यार्थी बाहिरबाट आउनु नपर्ने भएकाले विश्वभाषा क्याम्पसमा र सशस्त्र प्रहरीको परीक्षा सञ्चालन गरेको बताए । ‘परीक्षा दिने विद्यार्थी सबै काठमाडौं उपत्यकामै रहेको र सहभागी हुन सक्ने भएकाले दुईवटा परीक्षा गरेका हौँ, अरू परीक्षाका विषयमा पनि छलफल चलेको छ, छिट्टै निर्णय गर्ने छौैँ,’ रेक्टर भुसालले भने । परीक्षाका विषयमा सिफारिस गर्न त्रिविले समिति गठन गरेको छ । समितिले मस्यौदा तयार गरी विभिन्न पक्षसँग छलफल गरिरहेको छ । 

उच्च शिक्षामा करिब ८०% विद्यार्थीको भार त्रिविमा 

त्रिवि प्राज्ञिक परिषद्को ८ असारमा बसेको बैठकले नेपाल चीन सरकारको सम्झौताअनुसार विश्वभाषा क्याम्पसमा नेपाली पढ्न आएका विदेशी विद्यार्थीको लागि अनलाइन परीक्षा सञ्चालन गर्न स्वीकृति दिएको थियो ।

त्रिविको निर्णयअनुसार केही दिनअघि विश्वभाषा क्याम्पसले विशिष्ठ नेपाली (बिए) छैटौँ सेमेस्टरका १० जनालाई क्याम्पसमा सामाजिक दूरी कायम गरेर र चीनमा रहेका तीनजना विद्यार्थीलाई अनलाइनमार्फत परीक्षा लिएको थियो ।

युनान विश्वविद्यालयमा चार सेमेस्टर पढेर आएका १० जना र विश्वभाषा क्याम्पसमा सुरुदेखि नै नेपाली पढिरहेका तीन विद्यार्थी परीक्षामा सहभागी थिए । विश्वभाषा क्याम्पस प्रमुख भीमनाथ रेग्मीले सामाजिक दूरी कायम गरेर परीक्षा सञ्चालनका लागि सफल अभ्यासका रूपमा लिन सकिने बताए । 

त्यसैगरी, सशस्त्र प्रहरीले सञ्चालन गरेको मास्टर्स इन सेक्युरिटी डेभलपमेन्ट एन्ड पिस स्टडिज (एमएसडिपिएस) कार्यक्रम अध्ययन गरेका १९ जना विद्यार्थीको परीक्षा लिएको हो । उनीहरू आवासीय विद्यार्थी हुन् । 

गत ६ चैतबाट सबै शैक्षिक संस्था बन्द र सञ्चालन भइरहेका परीक्षासमेत स्थगित भएका थिए । कतिपय संकायमा आधा विषयमा परीक्षा दिएर चार महिनासम्म त्रिविले अर्को विकल्प नदिँदा विद्यार्थी समस्यामा परेका छन् । लकडाउनअघि व्यवस्थापन संकायका स्नातकोत्तर तहमा दोस्रो र चौथो सेमेस्टरको परीक्षा सञ्चालन भइरहेका थिए । एमए दोस्रो र चौथो सेमेस्टरको परीक्षा सुरु हुन एक÷दुई दिन मात्र बाँकी थियो । इन्जिनियरिङलगायतमा यस्तो समस्या छ । 

काठमाडौं विश्वविद्यालयले सेमेस्टर प्रणालीमा असर नपर्ने गरी शिक्षकले गरेको आन्तरिक मूल्यांकनका आधारमा विश्वविद्यालयका विद्यार्थीलाई सर्टिफिकेट दिने निर्णय गरी कार्यान्वयनमा लागेको छ ।

उच्च शिक्षामा करिब ८० प्रतिशत विद्यार्थीको भार रहेको त्रिविमा छ । त्रिवि रेक्टर भुसालले कोभिड ग्रुप भनेर नाक खुम्च्याउने अवस्था नआओस् भनेर त्रिवि सचेत भएको बताए । कोरोनाको प्रभाव अनिश्चित होला भन्ने नसोचिएका कारण केही ढिलाइ भएको उनको भनाइ छ । विकल्पसहितको तयारी रफ्तारमा रहेकाले छिट्टै निकास आउने उनले बताए । ‘यातायात नखुल्दा सहरमा रहेका विद्यार्थी पनि घर जान सक्दैनन्, यातायात खुले सामाजिक दूरी कायम गरेर परीक्षा लिन्छौँ । परीक्षा गरेपछिको बाटो पनि खुल्नुप¥यो,’ भुसालले भने ।

सम्भव भएसम्म परीक्षा लिन परिपत्र 

विश्वविद्यालय अनुदान आयोगले सम्भव भएसम्म सबै विश्वविद्यालयलाई परीक्षा लिन परिपत्र गरेको छ । विश्वविद्यालय अनुदान आयोगले कोभिड–१९ को सुरक्षा प्रोटोकल कायम गरी विश्वविद्यालयका स्थगित परीक्षा लिन सिफारिस गरेको छ । आयोगले पहिलो प्राथमिकता पारम्पारिक परीक्षालाई दिन र परीक्षा लिन सम्भव नभएका विश्वविद्यालयले विद्यार्थीलाई माथिल्लो सेमेस्टर वा वर्षमा पठनपाठन कायम गरी दुईवटा सेमेस्टरको परीक्षा एकैपटक लिन सिफारिस गरेको हो ।

विश्वविद्यालय अनुदान आयोगका सदस्य–सचिव प्रा.डा. देवराज अधिकारीले सबै विश्वविद्यालयलाई परीक्षा र अनलाइन कक्षासम्बन्धी निर्देशिका पठाइसकेको बताए । विद्यार्थीको शैक्षिक क्यालेन्डर नबिग्रियोस् भन्नेमा विश्वविद्यालय अनुदान आयोगले प्राथमिकता दिएको उनले बताए । विश्वविद्यालयले आफ्नो अनुकूलतामा विद्यार्थीलाई कक्षाकोठामा राखेर, अनलाइन वा अन्य कुनै तरिकाले परीक्षा लिन सक्ने अधिकारीको भनाइ छ ।