मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
केदार दाहाल काठमाडौं
२०७७ असार २८ आइतबार ०८:३०:००
Read Time : > 2 मिनेट
अर्थ

आगामी सिजनका लागि पर्यटन क्षेत्रको २० प्रतिशत बुकिङ यथावत्, पर्यटन क्षेत्र खुलाउन व्यवसायीको लबिङ तीव्र

Read Time : > 2 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ असार २८ आइतबार ०८:३०:००

कोभिड-१९ का कारण ठप्प पर्यटन क्षेत्रमा आगामी सिजनका लागि २० प्रतिशतभन्दा बढी बुकिङ अझै रद्द नभएको व्यवसायीहरूले बताएका छन् । सरकारले विगत ४ महिनादेखि जारी राखेको लकडाउनका कारण एयरलाइन्ससहित पर्यटन व्यवसाय बन्द छ । 

भदौसम्म सम्पूर्ण तयारी गरेर पर्यटन क्षेत्र खोल्न सकेमा अझै २० प्रतिशत विदेशी पर्यटक नेपाल भ्रमणमा आउने अनुमान व्यवसायीहरूले गरेका छन् । विशेष गरी पदयात्रामा आउने पर्यटकहरूले बुकिङ रद्द गर्न मानेका छैनन् । यस्तो भएमा ८० हजार हाराहारी पर्यटक अनुमान गरिएको छ । ‘अक्टोबरसम्म खोल्ने हो भने २० प्रतिशत पर्यटक आउनेछन्, नयाँ बुकिङ पनि आउने संकेत देखिएको छ,’ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले भने ।

सरकारले बनाएको प्रोटोकल लागू गरेर अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान खोल्नतर्फ पहल गरेमा व्यवसायीलाई राहत हुने सुवेदी बताउँछन् । पदयात्रामा करिब ४ लाख हाराहारी पर्यटकहरू जाने गरेका छन् । नेपालमा ३ हजारभन्दा बढी ट्रेकिङ कम्पनीहरू छन् भने ५ लाखभन्दा बढीले रोजगारी पाइरहेका छन् । 

नेपालको पदयात्रा कोभिड–१९ पछिको पर्यटकको मुख्य रोजाइको गन्तव्य हुन सक्ने भएकाले सोहीअनुसार प्रवद्र्धनतर्फ लाग्नुपर्ने उनको भनाइ छ । ‘विश्वका अन्य देशको तुलनामा नेपाल सुरक्षित देश हो, सहरभन्दा गाउँकेन्द्रित पर्यटक गन्तव्य नेपालको छ,’ सुवेदीले भने ।

यता आन्तरिक उडानका कम्पनीहरूले पनि सबै प्रोटोकलको तयारी गरिसकेकाले उडान खोल्न दबाब दिँदै आएका छन् । बुद्ध एयरले कोभिड–१९ पछिको डेमो उडानसमेत गरिसकेको छ । सरकारले अब आन्तरिक उडान खोल्न ढिलाइ गर्न नहुने बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत बताउँछन् । सरकारले साउन १७ पछि उडान खुलाउनेमा आशावादी रहेकोसमेत बस्नेत बताउँछन् ।  

होटेल व्यवसायीहरूले पनि अब पर्यटन क्षेत्र खुलाउन ढिला गर्न नहुने भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई ज्ञापनपत्र नै बुझाइसकेका छन् । अन्य दर्जनभन्दा बढी पर्यटन व्यवसायीका संघसंस्थाहरूले पर्यटन क्षेत्र खुला गर्ने टाइमलाइन सार्वजनिक गर्न माग गर्दै आएका छन् ।

नेपाल एसोसिएसन अफ नेपाल टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्ट)का अध्यक्ष अच्युत गुरागाईं पनि आउने सिजन थोरै भए पनि पर्यटक आउने बताए । एयरलाइन्स खुलेमा टिकेटिङ गर्ने व्यवसायीलाई पनि केही राहत हुने अध्यक्ष गुरागाईंले बताए । नेपालमा टुर एन्ड ट्राभल कम्पनी नै २ हजार ५ सयभन्दा बढी दर्ता रहेका छन् ।   

यता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई तत्काल उडान र पर्यटन क्षेत्र खुला नहुने बताउँछन् । ‘अहिले प्रोटोकलहरू जारी भएका व्यवसायीहरूले त्यसमा पोख्त भएपछि बिस्तारै खुलाउनेछौँ,’ मन्त्री भट्टराईले भने । सबै क्षेत्रमा तयारी पूरा भएपछि खुलाउने मन्त्री भट्टराईले बताए ।

सरकारले पर्यटन क्षेत्रमा कोभिड–१९ का कारण ४१ अर्ब नोक्सानी व्यहोर्नुपर्ने प्रक्षेपण गरिएको छ । लकडाउनयताको तीन महिनामा मुलुकको पर्यटन तथा हवाई क्षेत्रमा ३४ अर्ब रुपैयाँको नोक्सानी भएको अनुमान छ । साउनसम्म थप ७ अर्ब नोक्सानी व्यहोर्ने अनुमान गरिएको छ ।

एक हजार व्यवसायीलाई तालिम

कोभिड–१९ पछि पर्यटन क्षेत्र खुला गर्नका लागि सरकारले ‘अपरेसन गाइडलाइन प्रोटोकल’ सार्वजनिक गरिसकेको छ । पर्यटन व्यवसाय कोभिड–१९ पछि खुला गर्दा अपनाउनुपर्ने गाइडलाइनहरू तय गरिएको छ । होटेल, रेस्टुरेन्ट, टुर एन्ड ट्राभल, पर्यटक बसदेखि साहसिक पर्यटनमा पर्यटक र व्यवसायीले अपनाउनुपर्ने प्रोटोकल तयार पारिएको छ । नेपाल पर्यटन बोर्डले प्रोटोकलको तालिम १ हजार व्यवसायीलाई दिइसकेको छ । 

६२ पृष्ठ लामो प्रोटोकल नमान्ने व्यवसायी र पर्यटकलाई प्रतिबन्ध लगाइनेछ । टुर प्याकेज बिक्री गर्ने व्यवसायीहरूले नेपाल घुम्न आउने पर्यटकलाई गाइडलाइनको विषयमा पहिले नै अवगत गराएर सहमति लिनुपर्ने हुन्छ । नेपाल भ्रमणमा आउने पर्यटकले स्वस्थ रहेको प्रमाण पेस गर्नुका साथै घुम्दा र बस्दासमेत सबै गाइडलाइनको फलो गर्नुपर्ने हुन्छ । पर्यटकहरूलाई प्रयोग गरिने यातायातमा पनि भौतिक दूरी कायम गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । जसमा तीन सिटको कारमा दुईजना मात्रै बस्नुपर्ने व्यवस्था छ । 

१२ सिट क्षमताको गाडीमा ६, २२ सिटको गाडीमा ११ जना र ३५ सिटको गाडीमा १५ जना मात्रै बस्नुपर्ने व्यवस्था गरिएको छ । घुमाउने गाइडदेखि पर्यटकसम्मले पालना गर्नुपर्ने नियम तयार पारिएको छ । जसमा एउटै समूह हुनुपर्ने, एउटै परिवार हुनुपर्ने र १५ जनाभन्दा ठूलो समूह बनाउन नपाउने व्यवस्था गरिएको छ । खासगरी चिनियाँ, कोरियन र जापानिजहरूले सयौँको समूह बनाएर घुम्ने गरेका छन् । अबको नयाँ प्रोटोकलले ठूलो समूह बनाएर घुम्न आउनेलाई रोक्नेछ ।