मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मोहन विष्ट
२०७५ माघ १६ बुधबार १०:३८:००
Read Time : > 1 मिनेट
प्रदेश

लिज प्रकरणविरुद्ध कञ्चनपुरमा आमहडताल बजार, कार्यालय र यातायात बन्द 

Read Time : > 1 मिनेट
मोहन विष्ट
२०७५ माघ १६ बुधबार १०:३८:००

तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जमिन भाडामा दिएको विरुद्धमा मंगलबारदेखि कञ्चनपुरमा आमहडताल थालिएको छ । सत्ताधारी दलका युवा, विद्यार्थीसहित जिल्लाका विभिन्न ६ राजनीतिक दलका युवा र विद्यार्थीले अनिश्चितकालीन आमहडताल घोषणा गरेका हुन् ।

सत्तापक्षीय दलनिकट युवा संघ, वाइसिएल, अनेरास्ववियु, अखिल क्रान्तिकारी, प्रमुख पतिपक्षीय कांग्रेसनिकट नेपाल दरुण दल, नेविसंघलगायत राष्ट्रिय जनमोर्चा, नेकपा वैद्य–विप्लवनिकटका युवा र विद्यार्थीले बिहानैदेखि महेन्द्रनगर बजार बन्द गराउनुका साथै यातायात बन्द गराएका हुन् । 

अवैध लिज प्रकरणविरुद्ध आन्दोलनमा उत्रेका युवा, विद्यार्थीले कञ्चनपुरको सम्पूर्ण शैक्षिक संस्था, सरकारी कार्यालय, यातायात, उद्योग, कलकारखाना, बजार बन्द गरेका छन् । आमहडतालको असर भीमदत्त नगरपालिकामा बढी परेको छ । 

आन्दोलनका कारण बजार, कार्यालय मात्र बन्द भएनन्,  महेन्द्रनगरदेखि विभिन्न गन्तव्यका लागि छुट्ने सार्वजनिक सवारीसाधनसमेत चल्न सकेनन् । भारतबाट मजदुरी गरी घर फर्किने नेपाली मजदुर मारमा परेका छन् । बस, होटेल बन्द भएपछि उनीहरू चोक–चौतारामा बसेका छन् । 

राजमार्ग क्षेत्रमा चलिरहेका सवारीसाधनका साँचा आन्दोलनकारीले नियन्त्रणमा लिएर बीचसडकमा गाडी तेस्र्याउन लगाएका थिए । आन्दोलनकारीद्वारा भीमदत्त नगरपालिकाको म.१ब ३३८ नम्बरको मोटरसाइकलको हेडलाइट र नम्बरप्लेट तोडफोड भएको छ ।  

संरचना भत्काउन सुरु 

तत्कालीन महेन्द्रनगर नगर विकास समितिको लिज जमिनमा निर्माण भएका संरचना भत्काउन सुरु गरिएको छ । सत्ताधारीलगायत ६ राजनीतिक दलका युवा–विद्यार्थीको चर्को दबाबपछि सरकारी निकायले लिज जमिनमा बनेका संरचना भत्काउन सुरु गरेको हो । मंगलबार भीमदत्त नगरपालिका–४ महेन्द्रनगर खोकाछाप्रामा आबद्ध तीन स्थानीयले बनाउन लागेका पक्की संरचना जेसिभी लगाएर भत्काएको छ । 

प्रहरीको घेराभित्र उक्त संचरना भत्काएको हो । खोकाछाप्रावाला केशव धामी, हरिकृष्ण जोशी र शंकर भट्टले निर्माण गर्न लागेको घरका पिलर र फाउन्डेसन भत्काएको हो । यसअघि पनि भत्काएकै संरचनामा पुनः डोजर लगाइको छ ।

नगर विकासबाट अवैध रूपमा लिजमा लिएर बनाइएका ठूला भवनमा डोजर नलगाएर ०४९ सालदेखि बस्दै आएका विपन्नको घरमा डोजर लगाएपछि त्यसको चौतर्फी विरोध भएको छ । विद्यार्थी आन्दोलन टार्ने र धनाढ्यबाट साँठगाँठ गरेको दाबी गरिएको छ । 

राजनीतिक दलका भ्रातृ संगठनहरू आन्दोलनमा उत्रिएपछि सरकारी पक्ष बाध्य भएर संरचना तोड्न अघि बढेको हो । कञ्चनपुरका खोकाछाप्रावालाले प्रशासन र संघीय आयोजना कार्यान्वयन एकाइ धनगढीले लगत संकलन गरिरहेकै वेला वषौँदेखि बसेका पीडितको बस्तीमा डोजर लगाएको दुखेसो पोखे  ।

संरचना भत्काउने क्रममा महिला, बालबालिका रुँदै–कराउँदै मारिदेऊ भनिरहेका थिए । सोही ठाउँमा बस्दै आएकी लक्ष्मी जोशी मुर्छा परिन् । उनको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।  

कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले संघीय कार्यान्वयन एकाइ धनगढीले सुरक्षा माग गरेबमोजिम मात्रै प्रशासनले सुरक्षा प्रबन्ध मिलाएको बताए । ‘प्रशासनले भत्काएको होइन,’ निमित्त प्रमुख जिल्ला अधिकारी विष्टले भने, ‘सरकारी निकायबाट माग भएबमोजिम भत्काउँदा चाहिने आवश्यक सुरक्षा प्रबन्ध मिलाएका हौँ ।’ भीमदत्त नगरका प्रवक्ता राजेन्द्र पाण्डेले नगर विकास समितिमा बनेका अवैध संरचना भत्काउन नगरपालिकाले निर्णय गरेपछि विधि प्रक्रियाअनुसार भत्काउनुपर्नेमा जोड दिए ।