१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ असार २८ आइतबार ०४:००:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

परिवार जसको लागि किरिया बसेको थियो, नौ दिनमा उनी फर्केपछि...

Read Time : > 1 मिनेट
२०७७ असार २८ आइतबार ०४:००:००

किरिया बसेको नौ दिनमा गुल्मीको रुरु गाउँपालिका–५ बम्घा बोटेगाउँका ६६ वर्षीय श्यामशरण भण्डारी घर फर्किएका छन् । उनी घर फर्किएपछि किरिया बसेका परिवारजन र आफन्तजन चकित परेका छन् । 

बोटेगाउँमा सात वर्षदेखि एक्लै बस्दै आएका उनी २५ दिनदेखि बेपत्ता थिए । उनकी पत्नी र छोरा रूपन्देहीको मणिग्राममा बस्दै आएका छन् । उनी हराएपछि आफन्तजले खोजी गरेका थिए । उनीहरूले वडा कार्यालय र प्रहरीलाई पनि हराएको जानकारी दिएका थिए ।

१९ असारमा रुरु गाउँपालिकाको बम्घा र रिमुवानजिक बडिगाड नदीमा एक पुरुषको शव भेटिएको थियो । शरीरमा लुगा नभएकाले पहिचान गर्न सकिएको थिएन । श्यामशरण हराएकाले प्रहरीले उनको परिवारलाई खबर ग¥यो । शवसँग उनका धेरै कुरा मिलेका परिवार र आफन्तजनले स्वीकार गरेको छिमेकी धाता पाण्डेयले बताए । ‘उनीजस्तै थिए, त्यसैले परिवार र सिंगो गाउँलेले नै श्यामशरण नै भनेका हुन्,’ पाण्डेयले भने । 

परिवार र गाउँलेले स्वीकारेपछि प्रहरीले पनि मुचुल्का उठायो । त्यही दिन प्राथमिक स्वास्थ्य केन्द्र, खैरेनीमा शवको पोस्टमार्टम गरियो । २० असारमा परिवार र छिमेकीले रुद्रवेणी घाटमा दाहसंस्कार पनि गरे र काजकिरियामा बसे । 

किरिया बसेको नवौँ दिन शनिबार बिहान ८ बजेतिर पाल्पाको रैनादेवी गाउँपालिका–१ अर्चलेमा श्यामशरण जीवित फेलापरेको भन्ने फोन आउँदा भने परिवारजन मात्रै होइन, गाउँले पनि झस्किए । सबैभन्दा पहिले अर्चलेबाट रुरु गाउँपालिका–५ का वडाध्यक्ष हरिप्रसाद ज्ञवालीलाई खबर आएको थियो । ‘खबर पाएको केहीबेरमै अर्चले पुगेर मान्छे जीवित देख्दा अचम्म लाग्यो,’ वडाध्यक्ष ज्ञवालीले नयाँ पत्रिकासँग भने । त्यसपछि आफन्त र प्रहरीलाई खबर गरेर शनिबार साँझ परिवारलाई बुझाएको वडाध्यक्ष ज्ञवालीले बताए । 

रुरु गाउँपालिका–१ रिडीबाट पत्रकार चुरामणि तिमल्सेनासहित स्थानीय बासिन्दा श्यामशरणलाई लिएर बुटवल पुगेका थिए । ‘शनिबार साँझ ६ बजेतिर उनको घर पुग्दा मान्छेको भिडभाड थियो । श्यामशरणलाई देख्नेबित्तिककै त्यहाँ भएका मान्छे मात्रै होइन, परिवारजन पनि झस्किए,’ तिमल्सेनाले भने । उनलाई बुझाएको फोटो खिच्न खोजे पनि परिवारजनले नमानेको उनले बताए । 

किरिया गरिरहेका श्यामशरण जीवित घर फर्किएपछि अचम्म लागेको उनका आफन्त विष्णु भण्डारीले सुनाए । ‘सानोबुबा जीवित आएकाले अचम्मित भएका छौँ । अर्कैको दाहसंस्कार गरिएकाले तनावमा पनि छौँ,’ उनले भने । 

परिवारजनले हचुवाका भरमा शव स्वीकार गरेकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका डिएसपी केदारराज पन्तले बताए । ‘परिवारले जीवित भेटेकाले पुनः जाहेरी माग्छौँ । त्यसपछि मात्रै दाहसंस्कार गरिएका व्यक्तिको खोजी गर्छौँ,’ डिएसपी पन्तले भने ।