१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
फाइल फोटो
२०७७ असार २७ शनिबार १८:५४:००
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेशमा बाढीपहिरो : ११ महिनामा १२ को मृत्यु, २६ बेपत्ता

Read Time : > 1 मिनेट
२०७७ असार २७ शनिबार १८:५४:००

बागमती प्रदेशमा बाढीपहिरोका कारण चालू आर्थिक वर्षको ११ महिनामा १२ जनाले ज्यान गुमाएका छन् भने २६ जना बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय बागमतीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७६/७७ को साउनदेखि हालसम्म बाढीपहिरोका कारण १२ ले ज्यान गुमाएका छन् भने २६ बेपत्ता र २९ जना घाइते भएका छन ।

गत साउनदेखि हालसम्म बाढीले तीनको मृत्यु, दुई बेपत्ता, पहिरोका कारण नौको मृत्यु, २४ बेपत्ता र २९ जना घाइते भएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले जानकारी दिए । गिरीका अनुसार बाढीले सिन्धुपाल्चोकमा एक, दोलखामा एक, सिन्धुलीमा एक र पहिरोका कारण सिन्धुपाल्चोकमा तीन, काभ्रेमा तीन, दोलखामा एक र रसुवामा दुईजनाको मृत्यु भएको छ । यस्तै रसुवामा बाढीले एक, सिन्धुपाल्चोकमा एक र पहिरोका कारण सिन्धुपाल्चोकमा २२, दोलखामा दुईजना बेपत्ता भएका छन् । पहिरोका कारण हालसम्म सिन्धुपाल्चोकमा १६, रसुवामा सात, काभ्रेमा पाँच र दोलखामा एकजना घाइते भएको एसएसपी गिरीले बताए ।

दुई सय ३१ परिवार प्रभावित 
गत साउनदेखि हालसम्म बाढीपहिरोका कारण दुई सय ३१ परिवार पीडित भएका छन् । ११ महिनामा बाढीपहिरोका कारण घरबारविहीन र आफन्त गुमाएका दुई सय ३१ परिवार पीडित भएका हुन् । बाढीका कारण १० र पहिरोका कारण दुई सय २१ परिवार पीडित भएको प्रदेश प्रहरी कार्यालय बागमतीले जनाएको छ ।

पहिरोका कारण काभ्रेमा एक सय २६, दोलखामा ८९ र सिन्धुपाल्चोकमा ६ घरपरिवार बाढीपहिरोपीडित भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । यसैगरी बाढीका कारण सिन्धुलीमा सात र सिन्धुपाल्चोकमा तीन घरपरिवार बाढीपहिरोपीडित भएको कार्यालयका प्रवक्ता एसएसपी सुदीप गिरिले जानकारी दिए ।

एक सय ६३ चौपाया मरे
११ महिनामा बाढीपहिरोमा परी एक सय ६३ चौपाया मरेका छन् । गत साउनदेखि हालसम्म प्रदेशको १० जिल्लामा बाढीपहिरोका कारण एक सय ६३ चौपाया मर्नुका साथै एक घाइते भएको प्रदेश प्रहरी कार्यालय बागमतीले जनाएको छ । सबै चौपाया पहिरोेमा परी मरेको कार्यालयको तथ्यांकमा उल्लेख छ । सिन्धुपाल्चोकमा ८४, दोलखामा ६२ र काभ्रेमा १७ चौपाया मरेको एसएसपी गिरीले बताए ।

२६ करोड ४८ लाख क्षति
बाढीपहिरोका कारण बागमती प्रदेशको १० जिल्लामा ११ महिनामा २६ करोड ४८ लाख क्षति भएको छ । प्रदेश प्रहरी कार्यालय बागमतीको तथ्यांकअनुसार बाढीपहिरोले गत साउनदेखि हालसम्म २६ करोड ४८ लाख ५४ हजार पाँच सयबराबरको क्षति भएको छ । पहिरोका कारण २५ करोड ७७ लाख ३९ हजार र बाढीका कारण ७१ लाख १५ हजार पाँच सय रुपैयाँबराबरको क्षति भएको तथ्यांकमा उल्लेख छ ।

धादिङमा पाँच लाख, काभ्रेमा एक करोड ३४ लाख ४६ हजार पाँच सय, सिन्धुपाल्चोकमा १५ करोड ४८ लाख ७८ हजार र दोलखामा नौ करोड ६० लाख ३० हजार रुपैयाँबराबरकाे क्षति भएको विवरण छ ।