मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार २७ शनिबार १६:२१:००
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

चाँगुनारायणको बजेट एक अर्ब ४८ करोड : पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्य प्राथमिकतामा

Read Time : > 2 मिनेट
२०७७ असार २७ शनिबार १६:२१:००

भक्तपुरको चाँगुनारायण नगरपालिकाले पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर एक अर्ब ४८ करोडबराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको सातौँ नगरसभाबाट पारित भएको बजेट, नीति तथा कार्यक्रमबारे पत्रकार सम्मेलन गर्दै मेयर सोमप्रसाद मिश्रले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि एक अर्ब ४८ करोड २७ लाख तीन हजार ६ सय रुपैयाँबराबरको बजेट पारित भएको सार्वजनिक गरे । 

नगरपालिकाले सडक तथा यातायात क्षेत्रको विकासका लागि २८ करोड र एक घर एक धारा कार्यक्रमका लागि चार करोड रुपैयाँ विनियोजन गरेको छ । नगर क्षेत्रका सामुदायिक विद्यालयमा छात्राहरूको शिक्षा, बालविवाह निरुत्साहन र किशोरीहरूको सुरक्षित भविष्य निर्माणमा सहयोगका लागि ‘बचत खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रमका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको मेयर मिश्रले बताए । 

नगरपालिकाले आगामी वर्ष आफ्नै कार्यालय भवन निर्माणलाई प्राथमिकतामा राखेको छ । साढे दुई वर्षभित्र नयाँ भवन निर्माण गरी त्यहीँबाट सेवा विस्तार गर्ने लक्ष्यसहित भवन निर्माणका लागि आगामी वर्ष दश करोड रुपैयाँ विनियोजन गरेको मेयर मिश्रले बताए । ५० करोड लागतमा नयाँ भवन निर्माण गर्ने नगरपालिकाले इष्टिमेट छ ।

भवन निर्माणका लागि नगरपालिकाले वडा नं. ५ को घुमाउनेमा आफ्नै भवन निर्माणका लागि ठेक्का आह्वान गरिसकेको छ । हाल नगरपालिकाले खरिपाटीस्थित साँघुरो भवन भाडामा लिएर कार्यालय सञ्चालन गरेको छ । पर्याप्त ठाउँ नहुँदा काम गर्नै समस्या हुने अवस्था रहेको छ । नयाँ भवन बनुन्जेल साँघुरै भवनमा भए पनि काम चलाउनुपर्ने अवस्था रहेको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाले बताए । 

बेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्यले मेयरसँग उद्यमशीलता कार्यक्रमअन्तर्गत युवाको संवर्द्धन उद्यमशीलता प्रवर्द्धन  कार्यक्रमका लागि तीन करोड रुपैयाँ विनियोजन गरेको छ । नगरमै श्रम पसिना, नगरमै रोजगारी भन्ने नारासहित उद्यमशीलता प्रवर्द्धन कार्यक्रमबाट युवाहरूलाई आत्मनिर्भर बनाउने र समृद्ध नगर बनाउने उद्देश्य रहेको मेयर मिश्रले बताए । यस्तै, उज्यालो चाँगुनारायण कार्यक्रमअन्तर्गत नगर क्षेत्रका मुख्य सडकमा बिजुलीबत्ती जडानका लागि नगरपालिकाले ५० करोड छुट्याएको छ । 

प्रविधियुक्त गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले तीन करोड २८ लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै, नगरपालिकाले विपन्न नगरवासीको स्वास्थ्य बिमा साझेदारीका लागि एक करोड रुपैयाँ विनियोजन गरेको छ भने स्वास्थ्य क्षेत्रका लागि कुल तीन करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको छ । नगरपालिकाले कोभिड नियन्त्रण कोषमा एक करोड रुपैयाँ विनियोजन गरी आवश्यकताअनुसार पिसिआर परीक्षण, तत्काल उद्धार, आइसोलेसन र कन्ट्याक्ट ट्रेसिङ, क्वारेन्टाइन व्यवस्थापनलगायतका कामलाई प्राथमिकतामा राख्ने निर्णय गरेको उपमेयर विना बाँस्तोलाले बताइन् । 

संघ र प्रदेशबाट ९३ करोड अनुदान
नगरपालिकालाई आगामी वर्ष संघ र प्रदेशबाट विभिन्न शीर्षकका अनुदानबापत ९३ करोड २७ लाख रुपैयाँ विनियोजन भएको छ । नगरपालिकाले आन्तरिक आयतर्फ पर्यटन, माटो, पानी टेक्का, घर नक्सालगायतबाट २८ करोड ७१ लाख रुपैयाँ प्रक्षेपण गरेको छ । 

संघीय सरकारबाट वित्तीय समानीकरणतर्फ १६ करोड ५२ लाख, राजस्व बाँडफाँडतर्फ आठ करोड ८७ लाख, विशेष अनुदानतर्फ दुई करोड, ससर्त अनुदानतर्फ २९ करोड ५६ लाख र समपूरक अनुदानतर्फ एक करोड ३६ लाख रुपैयाँ विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिमल्सिनाले बताए । 

यस्तै, प्रदेश सरकारबाट समानीकरणतर्फ तीन करोड २० लाख, ससर्त अनुदानतर्फ दुई करोड ९७ लाख, समपूरकतर्फ एक करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै, जग्गा रजिष्ट्रेसनबाट २५ करोड र चालू आवको बैंक मौज्दातबाट २८ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरेको छ । 

यसवर्ष ११ किमि सडक कालोपत्रे
नगरपालिकाले चालू आर्थिक वर्षमा एघार किलोमिटर सडक कालोपत्रे गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्ष ०७६/७७ मा ११.८१ किलाेमिटर सडक कालोपत्रे भएको जनाएको छ ।  यस्तै, ६ किलाेमिटर ग्राभेल, १.७ किलाेमिटर सडक ढलान र ३.५ किलाेमिटर सडकमा रिटेनिङ वाल लगाइएको छ । तीन किलाेमिटर क्षेत्रमा ड्रेन निर्माण भएको छ भने ११ वटा खानेपानी योजना निर्माण भएका छन् । नगरपालिकाले मुहानपोखरी–महादेव पोखरी क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि चार किलाेमिटर दूरीको पदमार्ग निर्माण गरेको छ । 

तीन करोड १० लाख रुपैयाँ खर्चिएर ४.०२ किलाेमिटर पदमार्ग निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत तिम्सिनाले जानकारी दिए । नगरपालिकाले वडा नं. ६ मा हरिगुरु मार्ग गडगडे बाघमारा पाटी बस्तीहरूलाई जोड्ने कार्य यस आर्थिक वर्षमा सम्पन्न भएको छ । जसले गर्दा काभ्रे जिल्लासमेतलाई चाँगुनारायणसम्मको यात्रा सहज भएको छ ।