मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाै‌
२०७७ असार २७ शनिबार १५:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिन्धुपाल्चाेककाे जम्बुमा बेपत्ताको खोजी जारी, एकको जीवितै उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै‌
२०७७ असार २७ शनिबार १५:०७:००

लगातारको वर्षाले सडक अवरुद्ध हुँदा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बुमा बाढीपहिरोमा परेर बेपत्ता भएका २० जनाको खाेजीकार्यमा कठिनाइ उत्पन्न भएको छ । 

बेपत्ताको खोजी राजधानीबाट शनिबार पुगेका २५ जनाको उद्धार टोलीसहितका सुरक्षाकर्मीले गरिरहेकाे प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । लगातारको वर्षाले आएको बाढीपहिरोबाट जिल्लामा हालसम्म ५२ घरमा क्षति पुगेको छ । जम्बुका विस्थापित ३० परिवारका लागि स्थानीय पालिकासँग समन्वय गरी जिल्ला विपत् व्यवस्थापन समितिले ३० थान त्रिपाल, म्याट्रेस, भाँडाकुँडा र लत्ताकपडा पठाइसकेको प्रजिअ ढकालले जानकारी दिए ।  
    
यसैबीच शुक्रबार बिहान आएको बाढीपहिरोबाट भोटेकोसी गाउँपालिकाको लार्चामा बेपत्ता भएका स्थानीय ४० वर्षीय नाङचे मगरको जीवितै उद्धार गरिएको रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उक्त घटनामा दुई सामान्य घाइते भएका थिए । जिल्लामा बेपत्ताको सङ्ख्यामा २१ पुगेको प्रहरीले जनाएको छ ।

बढीले क्षतिग्रस्त जुरे सडक खोल्ने प्रयास

लगातारको वर्षाले बुधबार राति आएको सुनकोसी नदीको बाढीले कटान गरेको अरनिको राजमार्गको जुरेमा सडक खुलाउने काम भइरहेको छ । बाढीले सम्पूर्ण भाग कटान गरेको करिब १५० मिटर सडक भित्ताको कडा चट्टान काटेर डाइभर्ट गरी निर्माणकार्य भइरहेकाले आज बेलुकासम्म सम्पन्न गरिने सडक डिभिजन कार्यालय दोलखाका डिभिजनल इन्जिनियर विजयकुमार महतोले जानकारी दिए । 

उक्त सडक सञ्चालन भएपछि बाह्रबिसेसम्मको आवागमन सहज हुनेछ । भोटेकोसीको कटान र पहिरोबाट खोर्सानीबारीदेखि माथिका विभिन्न ठाउँमा सडक अवरुद्ध भएकाले आवतजावतमा कठिनाइ उत्पन्न भएको छ । बाढीले बाह्रबिसेको खागदलखोला र भोटेकोसी गाउँपालिका–५ को बुलकोटेमा पक्की पुल बगाएकाले दुई बेलिब्रिज राख्ने विषयमा विभागमा पहल भइरहेको डिई महतोले बताए । रासस