१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
जयन्ती स्पन्दन
२०७७ असार २७ शनिबार ०४:००:००
Read Time : > 2 मिनेट
Read Time : > 2 मिनेट
जयन्ती स्पन्दन
२०७७ असार २७ शनिबार ०४:००:००

विधान आचार्य पेसाले विश्वविद्यालयका प्राध्यापक हुन् । उनले अनेकौँ विद्यार्थीलाई ज्ञान र विचार प्रदान गरेर दीक्षित बनाइसकेका छन् । सोसल एन्ड एकेडेमिक इन्नोभेसन्स प्रालि (साइपल), ललितपुरले प्रकाशन गरेको उनको ‘कमाइ’ लघुकथासंग्रहमा जम्मा ४६ वटा कथा समाविष्ट छन् ।

सबै लघुकथा सर्सती अध्ययन गर्दा देश, विदेशका समसामयिक विशेषता पाउन सकिन्छ । ‘कमाइ’मा फेसबुकको लघुकथा कुनोमा राखिएका लघुकथा र लघुकथाका अन्त्यमा समावेश गरिएका समालोचनात्मक टिप्पणी र सुझाबहरूलाई समेत प्रतिनिधिमूलक ढंगबाट प्रस्तुत गरिएको छ । केही लघुकथामा उत्तरकथासमेत टिप्पणीमा राखी नौलो प्रयोग गरिएको यस संग्रहका लघुकथाले पाठकमा नौलो अनुभूति प्रदान गर्न सक्छन् । 

सार्वजनिक जीवनका सामान्य विषयवस्तुलाई पनि सरल ढंगले संयोजन गरी चोटिलो प्रभाव छाड्दै लघुकथाहरूलाई सफल बनाइएको छ । समग्र लघुकथाहरूमा सामाजिक, राजनीतिक, सांस्कृतिक, लैंगिक विसंगतिको चित्रण रोचक किसिमले गरिएको छ । कथाहरू पढ्दै जाँदा प्रखर रूपमा वैचारिकता प्रकट भएको पाउन सकिन्छ । नवीन शिल्पशैलीलाई अगालिएको छ । प्रायः सबै लघुकथामा भाव र सन्देश प्रवल रूपमा प्रस्तुत गरिएको छ ।

वास्तवमा अहिलेको मानिस देखावटी प्रवृत्तिमा रमाउँदै गएको छ । उसले आफ्नो धरातल बिर्संदै गएको छ । सेवाभाव गर्नेभन्दा पनि प्रचारको अभिलाषा बोक्ने हुटहुटीले गाँजिएको छ । यस्तै स्वार्थ, लिप्सा र आडम्बरको खोलभित्र रमाउनेहरूका लागि च्वास्स मन चस्कन सक्छ यी कथाहरू अध्ययन गर्ने हो भने । 

पहिलो लघुकथा ‘कमाइ’ शीर्षकमा लेखेर पुस्तकको नाम नै ‘कमाइ’बाट जुराइएको छ । लेखकको जीवनमा प्राप्त यो कमाइले अन्य अध्ययनशील स्रष्टाहरूका लागि पनि लघुकथामा नयाँ गोरेटो बनाउन सहयोग पुग्न सक्छ भन्ने मैले ठानेकी छु । लघुकथामा प्रयुक्त भाषा सरल, सुबोध्य, सटिक र स्पष्ट लाग्छ । लघुकथाहरू विम्बात्मक र प्रतीकात्मक छन् । व्यग्यांत्मक शैलीलाई समेत शालीन र मन छुने किसिमले व्यक्त गरेको पाउन सकिन्छ ।

लघुकथाहरू अध्ययन गर्दै जाँदा लेखक गुणस्तरीय लेखनीमा रमाउने स्रष्टा हुन् भन्न सकिन्छ । लेखकले जिम्मेवारीपूर्वक गहन रूपमा लघुकथाहरूका कथानक बुन्दै गएका छन् । लघुकथाहरू पढ्दै जाँदा र त्यहाँ उठाइएका प्रसंगहरूले व्यावहारिक जीवनमा पनि लेखक पोख्त छन् झैँ लाग्छ । 

केही लघुकथामा शैक्षिक र प्राज्ञिक क्षेत्रमा देखापरेको विकृतिलाई ऐनामा झैँ छर्लंग उतारिएको छ । यसैगरी पशुपक्षी र मानिसबीचको मित्रतालाई उजागर गरिएको छ । श्रीमान् र श्रीमतीका, प्रेमी प्रेमिकाका, समाजभित्रका र विभिन्न नातागोतामा हुने माया प्रेम, घुर्की, छलछामका साथै तिनीहरूबाट उत्पन्न आरोह–अवरोहका डोरीहरूलाई फुकाउने प्रयास गरिएको छ । 

कतिपय अवस्थामा लघुकथाहरू पढ्दै जाँदा र चिन्तन गर्दा त्यहाँ प्रयुक्त प्रसंगहरूलाई बुझ्न महाभारतकालीन युगका सन्दर्भहरू पनि बुझ्नुपर्ने हुन्छ । उनले केही लघुकथामा प्राचीन र आधुनिक पात्र र विचारलाई रोचक किसिमले फ्युजन गराएका छन् । केही लघुकथामा रौद्रिगेज नामक पात्रको पुनरागमन गराएर लेखकले यस्तै पात्रले समाजमा प्रभुत्व जमाउन सफल भइरहेको प्रवृत्तिलाई उजागर गरेका छन् ।

सुन्दर र सार्थक अक्षरको खेती गर्न रुचाउने कथाकारले अक्षर शीर्षककै लघुकथामार्फत उपयुक्त विम्ब प्रयोग गरेर कला भर्दै नयाँ कथानक दिन सफल भएका छन् । ‘जीवनमूल्य’, ‘जंगली अर्ना’, ‘मियो’जस्ता लघुकथामा रचनागर्भसमेत समावेश गरिएको प्रसंग पाठकलाई रमाइलो लाग्न सक्छ ।

फेसबुकको लघुकथा कुनोमा समेटिएका कथा, टिप्पणी र टिप्पणीकारहरूलाई पुस्तकमा समेटेर लेखकले अहिलेको नयाँ पुस्तालाई प्रविधिको सही सदुपयोग कसरी गर्नुपर्छ भन्ने सन्देश दिएका छन् । प्रविधिलाई सही किसिमले प्रयोग गर्न जान्नेले कसरी सफलता पाउन र ऊर्जा थप्न सक्छ भन्ने ज्ञान प्राप्त भएको छ । यसर्थ उनले प्रयोग गरेको विधिलाई आत्मसात् गर्न जोकोहीलाई मन लाग्न सक्छ ।

साहित्य अध्ययन गर्नका लागि मात्र नभई आफ्ना कर्मलाई सही किसिमले व्यवहारमा उतार्नका लागि पनि यी लघुकथाले अवश्य मद्दत पु¥याउनेछन् । समग्र कथाहरूमा आशाका किरणहरूलाई आत्मसात् गर्ने ठाउँ भेट्टाउन सकिन्छ । उनको लेखनीमा सकारात्मक चिन्तनसहित समाज सुधारक, विचारहरू मार्गनिर्देशक बनेको देख्न सकिन्छ । अहिलेको समाजलाई ऊर्जा प्रदान गर्न यस्तै लेखक, साहित्यकारले मात्र महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने लाग्छ ।

केही ठाउँमा भाषिक त्रुटि चिप्लनु स्वाभाविक मान्नुपर्छ । लामा कथा हुन सक्ने विषयवस्तु, यात्रासंस्मरण र नाटक नै बन्न सक्ने विषयवस्तुहरूलाई समेत सलल बगाउँदै उत्सुकतामै टुंग्याउन सक्नु र लघुकथा तुन्न सक्नुलाई विशेष खुबी मान्नुपर्छ ।

सूक्ष्म, नवीन विषयवस्तुहरूलाई समेत अत्यन्त मिहिन ढंगबाट अनुसन्धान गरेर लघुकथा बुनिएको छ । लघुकथाको शीर्षकअनुसार प्रस्तुत पात्रहरूको चरित्रचित्रणलाई सार्थक तुल्याइएको छ । शैक्षिक, प्रशासनिक, सामाजिक र राजनीतिक जीवनमा गाँसिएका सबै युवा, प्रौढ पुस्ताका व्यक्तिहरूलाई मानवीय मूल्य–मान्यता बुझ्न र सही किसिमले व्यवहार गर्न यी लघुकथाले पुनः झकझकाउन सक्छन् ।

लघुकथा लेखनीको यात्रामा नामै लिएर गन्नुपर्ने कृतिका रूपमा ‘कमाइ’लाई लिँदा न्यायोचित ठहर्छ । संग्रहित लघुकथाहरूले समाजका विविध पाटालाई अत्यन्त सुन्दर किसिमले उजागर गरेका छन् । मेरा विचारमा बनोटको हिसाबले समग्र लघुकथा दरिला छन् । पढ्नैपर्ने कृतिका रूपमा ‘कमाइ’ लघुकथा संग्रहले उत्कृष्ट स्थान ओगट्न सक्छ । छोटा, मिठा र सार्थक अभिव्यक्तिका लागि लघुकथाकारलाई बधाई !