मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार २७ शनिबार ०४:१०:००
Read Time : > 11 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

महामारीमाथि मौसमी विपत् : दुई दिनमा २६ को ज्यान गयो, ६० हराइरहेका छन्

बुधबार राति सिन्धुपाल्चोकमा हराएका २१ जना नभेटिँदै बिहीबार देशका विभिन्न भागमा बाढीपहिरोमा ३९ जना बेपत्ता

Read Time : > 11 मिनेट
२०७७ असार २७ शनिबार ०४:१०:००

हेमन्त केसी (जाजरकोट), रोहितराज पराजुली र गाेविन्द सुवेदी (कास्की), शान्ता कमली (लमजुङ), कमल खत्री (म्याग्दी), मनिष खड्का (पश्चिम रुकुम), रामकृष्ण थापा (सिन्धुपाल्चोक)

बाढीपहिरोले देशभर वितण्डा मच्चाएको छ । दुई दिनमा २६ जनाले ज्यान गुमाएका छन् । देशभर ६० जना बेपत्ता छन् । ७१ परिवार विस्थापित भएका छन् भने २६ जना घाइते भएका छन् । 

जाजरकोट र कास्कीमा सात–सात, लमजुङ, म्याग्दी र सिन्धुपाल्चोकमा तीन–तीन, रुकुम पश्चिममा दुई र गुल्मीमा एकजनाको मृत्यु भएको छ । म्याग्दीमा ३१ र जाजरकोटमा आठजना बेपत्ता छन् । सिन्धुपाल्चोकमा बिहीबार हराएका २१ जना पनि अझै फेला परेका छैनन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घन्टामा मात्रै बाढीपहिरोबाट दुई करोड सात लाखभन्दा बढीको धनमाल क्षति भएको छ । 

जाजरकोटको बारेकोट र जुनिचाँदे गाउँपालिकामा गएको पहिरोमा परी सातजनाको मृत्यु भएको छ भने आठ बेपत्ता छन् । अविरल वर्षासँगै बिहीबार राति आएको पहिरोले बारेकोट गाउँपालिका–४ जिरी सार्कीटोलका गोपाल सार्की र कलु सार्कीको घर बगाएको हो ।

पहिरोमा पुरिएर गोपालसँगै उनका ११ वर्षीय छोरा अर्जुन, पाहुना आएका कुशे गाउँपालिका–९ चौताराका २० वर्षीय डिल्ली सार्की र १८ वर्षीय वीरेन्द्र सार्की तथा कलु सार्कीकी १४ वर्षीया छोरी तीर्खाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी किशोर श्रेष्ठले बताए । दुई शवको अझै सनाखत हुन सकेको छैन । पाँचजना बेपत्ता रहेको प्रहरीले जनाएको छ । 

त्यस्तै, बारेकोट–६ धुमामा आएको बाढीमा बगेर स्थानीय बासिन्दा २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने बेपत्ता भएका छन् । उनीहरूसँगै बगेका रामचन्द्र चलाउने र विज्ञान बोहरालाई भने स्थानीयले उद्धार गरेका छन् । रामचन्द्र गम्भीर घाइते रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले बताए । 

यसैगरी जुनिचाँदे गाउँपालिका–११ चैतेका डिल्लीबहादुर चँदारा जुनिचाँदे–३ स्थित सानाखोलामा लडेर बेपत्ता भएका छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पोखराका विभिन्न ठाउँमा शुक्रबार गएको पहिरोमा पुरिएर एकै परिवारका तीनसहित सातजनाको मृत्यु भएको छ । ११ घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार पोखरा महानगरपालिका–१८ सराङकोटमा पाँच तथा वडा नम्बर २५ हेम्जा र वडा नम्बर २६ पैतेको डाँडामा एक–एकजनाको मृत्यु भएको छ । सराङकोट गोठादीका ५० वर्षीय टंकबहादुर थापा, उनकी पत्नी ४५ वर्षीया सोममाया, ६ वर्षीय नाति सुवान (दाइको नाति), तनहुँ दमौली घर भएका भतिजा आठ वर्षीय शीतल श्रेष्ठ (सोममायाकी बहिनीका छोरा) र छिमेकी १९ वर्षीया इशिका थापाको मृत्यु भएको छ । उनकै घरमा रहेका आठजना घाइते भएका छन् । 

त्यस्तै, हेम्जास्थित मेलबोटका रामचन्द्र अधिकारीको घर पहिरोले पुरिँदा उनकी ७० वर्षीया आमा हिमकलीको मृत्यु भएको छ । पैतेको डाँडामा गएको पहिरोमा परी अन्दाजी ३५ वर्षका दुर्गाबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बिहीबार थापाको घरमा २२ वर्षीया छोरी पिंकीको जन्मदिनको कार्यक्रम रहेकाले परिवारका सदस्यसँगै आफन्त र छिमेकी गरी १३ जना जम्मा भएका थिए । जन्मदिन मनाएर उनीहरू सुतेकै अवस्थामा बिहान करिब पौने ३ बजेतिर घरमाथिको पाखोबाट पहिरो खसेको थियो । जसले उनको घर नै पुरियो । मृतक सबैको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा राखिएको छ । 

पहिरोमा परी मृतक थापाका छोरीहरू पिंकी र आशा, पाँच वर्षीया नातिनी (पिंकीकी छोरी) पिरिसा, दमौली घर भएकी साली सरस्वती श्रेष्ठ, भतिजा सन्देश श्रेष्ठ (सरस्वतीका छोरा) तथा छिमेकीहरू अनिश तामाङ, रशि थापा र रश्मी थापामगर घाइते भएका छन् । उनीहरूको पश्चिमाञ्चल क्षेत्रीय र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

पैतेको डाँडाका दुर्गाको ब्लकले बनेको र टिनले छाएको दुईकोठे घर पहिरोले पुरिएको थियो । घरमा रहेका अन्य मानिस भागेर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ । हेम्जाका अधिकारीको घरमा रहेका तीन बाख्रा पनि पहिरोमा पुरिएका छन् । 

घरमाथिबाट आएको पहिरोमा परी पोखरा–१७ छोरेपाटन सिमलटुँडाका ६० वर्षीय चन्द्रबहादुर मगर, उनकी पत्नी ५० वर्षीया शान्ति र दश वर्षीय छोरा सुशान सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, लगातारको वर्षाले सेती नदीमा आएको बाढी पोखरा–१० रामघाटस्थित सुकुम्बासी बस्तीमा पस्दा स्थानीयले व्यावसायिक रूपमा पालन गरेका एक सय ५८ बंगुर र १९ वटा कुखुरा बगाएको डिएसपी हमालले बताए ।

पोखरा–१९ तल्लोडाँडामा खसेको पहिरोले स्थानीय गिरिधारी बाँस्तोलाको अन्नपात, वस्तुभाउ बाँध्ने धन्सार भत्काएको छ । पहिरोमा उनका एक गोरु र एक भैँसीको पाडो पुरिएका छन् ।

०००

लमजुङमा एकै परिवारका तीनको मृत्यु

शान्ता कमली/लमजुङ 

लमजुङमा बिहीबार राति आएको पहिरोमा परी एकै परिवारका तीनजनाको मृत्यु भएको छ । बेँसीसहर नगरपालिका–७ सातबिसेको तल्लो क्षेत्रमा बस्ने ३० वर्षीय दीपक तामाङ, उनकी पत्नी २६ वर्षीया बिमाया र नौ वर्षीय छोरा छेवाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगाबहादुरले थापाले बताए ।

बिहीबार राति ११ बजेतिर दीपक बस्ने घरमाथि पहिरो खसेको थियो । घरमा उनका आमाबुबा र छोरी पनि बस्दै आएका थिए, तर बिहीबार भने उनीहरू आफन्तको घर गएका थिए । पहिरोमा परी दीपकसँगै काम गर्ने बेँसीसहर नगरपालिका–७ का २६ वर्षीय सन्तबहादुर गुरुङ, बेँसीसहर–१० पांग्रेक्युका २३ वर्षीय अनिल गुरुङ र २३ वर्षीय सुमन गुरुङ घाइते भएका छन् । उनीहरू स्थानीय अस्पतालमा उपचारपछि घर फर्केको डिएसपी थापाले बताए । 

म्याग्दीमा तीनको मृत्यु, ३१ बेपत्ता

कमल खत्री/म्याग्दी

अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी म्याग्दीमा तीनजनाको मृत्यु भएको छ, ३१ बेपत्ता छन् । बाढी र पहिरोले धौलागिरि, मालिका र रघुगंगा गाउँपालिकामा जनधनको ठूलो क्षति गरेको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार धौलागिरि–६ मराङमा पहिरोले दुईजनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता छन् । बेपत्ता २४ मध्ये दुईजनाको शव भेटिएको छ, तर उनीहरूको सनाखत हुन सकेको छैन । त्यस्तै, रघुगंगा गाउँपालिका–६ ठाडाखानीका ललिमान छन्त्यालको मृत्यु भएको छ । शुक्रबार दिउँसो उनको शव भेटिएको प्रहरीले जनाएको छ । 

पहिरोले घर बगाउँदा मालिका गाउँपालिका–७ बिममा आठजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी किरणजंग कुँवरले बताए । उनका अनुसार मालिका गाउँपालिका–६ स्थित दुखु खोलामा आएको बाढीले बगाएर एक बेपत्ता भएका छन् । 

पहिरोमा बेपत्ता भएका र अलपत्र परेकाको खोजी तथा उद्धार कार्यमा जनप्रतिनिधि, स्थानीयवासी, सुरक्षाकर्मी र स्वयंसेवक खटिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । खराब मौसमका कारण हेलिकोप्टरमार्फत बेपत्ताको खोजी र अलपत्र परेकाको उद्धार गर्न नसकिएको उनको भनाइ छ । पहिरो र बाढीको चपेटामा परी अलपत्र परेका ८० जनालाई मराङबाट सुरक्षित स्थानमा उद्धार गरिएको छ । बिममा अलपत्र परेका स्थानीयलाई पनि उद्धार गरिएको प्रहरीले जनाएको छ । बेनी नगरपालिका–४ सिंगामा म्याग्दी नदीमा दाउरा टिप्न गएर नदीमै अलपत्र परेका दुईजनाको सुरक्षाकर्मीले उद्धार गरेका छन् । 

रघुगंगाले बेलिब्रिज बगायो

रघुगंगा नदीमा आएको बाढीले बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउँपालिका–३ राहुघाटको सिमानामा पर्ने राहुघाट बेलिब्रिज बगाएको छ । यससँगै रघुगंगा र अन्नपूर्ण गाउँपालिका हँुदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । कटानले झोलुंगेसहित राहुघाटमा रहेका २१ घर जोखिममा परेको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । जोखिममा परेका २१ घरधुरीलाई सुरक्षित स्थानमा सारिएको छ । 

रुकुम पश्चिममा आमाछोराको मृत्यु, छोरी घाइते 

मनीष खड्का/रुकुम पश्चिम 

पहिरोले घर पुर्दा रुकुम पश्चिममा एकै परिवारका दुईजनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । शुक्रबार बिहान ६ बजेतिर आएको पहिरोमा पुरिएर आठबिसकोट नगरपालिका–३ रेझेखोलाकी २८ वर्षीया सीता दमाईं र उनका ६ वर्षीय छोरा हाविलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ठगबहादुर केसीले बताए । 

पहिराले सीताकी आठ वर्षीया छोरी हिरा घाइते भएकी छिन् । उनको अवस्था खतरामुक्त रहेको डिएसपी केसीले बताए । सीताका पति तुलबहादुर भने कामको सिलसिलामा घरबाहिर थिए । पहिरोले घर पुरिएलगत्तै स्थानीय बासिन्दा र प्रहरी उद्धारमा खटिएका थिए । हिराको जीवितै उद्धार भए पनि सीता र हाविलको शव मात्रै भेटिएको थियो । 

सिन्धुपाल्चोकमा एकको मृत्यु, दुई दिनदेखि २१ बेपत्ता

रामकृष्ण थापा/सिन्धुपाल्चोक

सिन्धुपाल्चोकमा बाढीले बगाएर शुक्रबार एकजनाको मृत्यु भएको छ । लार्चा खोलामा आएको बाढीमा परेर स्थानीय ५२ वर्षीय नाक्चे मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढीपहिरोमा बिहीबार बेपत्ता भएका २१ जना अझै फेला परेका छैनन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार बाह्रबिसे नगरपालिका–५ जम्बुका १६, भोटेकोसी गाउँपालिका–४ बुल्कोटेका चार र लार्चाका एकजना बेपत्ता छन् । जम्बु बजार बगरमा परिणत भएको छ, दुई दिनदेखि प्रहरीले बेपत्ताको खोजी गरिरहेको छ । बाढी र पहिरोले यहाँका ६० घर पुरिएका छन् । कोदारी, तातोपानी, लार्चा, बुल्कोटे, दशकिलो र पाउगुम्बाका ३० घरमा पूर्ण रूपमा क्षति पुगेको भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताए । 

भोटेकोसी किनारमा बस्ने झन्डै ५० परिवार घर छोडेर कोदारी माविमा बसेका छन् । बाटो भत्किएकाले एक गाउँबाट अर्को गाउँ जान नसकिएको नेकपा भोटेकोसी अध्यक्ष आङछिरी शेर्पाले बताए । बाह्रबिसेदेखि लार्चासम्म चारवटा पुल बाढीले बगाएको छ ।

बाह्रबिसे नगरपालिकाका मेयर निम्फुञ्जो शेर्पाका अनुसार जम्बु र खागदलमा ३४ घर बाढीले बगाएको छ । पीडितलाई खाने–बस्नेको व्यवस्था गर्ने उनले बताए । बाढीको त्रासले तटीय क्षेत्रमा घर भएका सयौँ स्थानीय झिटीगुन्टा बोकेर सुरक्षित स्थानतर्फ गएका छन् । त्यस्तै, भोटेकोसी गाउँपालिकाको लार्चा, कोदारी, तातोपानी, बोलेपा, पाङ्सेर्पुका पाँच सयले घर छोडेका छन् । चारैतिरबाट ठाडो खोला र खोल्सीबाट बाढीपहिरो एकैसाथ आएर भोटेकोसी नदी ह्वात्तै बढेकाले चाकु, दशकिलो र हिन्दीका स्थानीय घर छोडेर सुरक्षित स्थानतर्फ लागेका हुन् ।

त्यस्तै, गुल्मीको कालीगण्डकी गाउँपालिकामा गएको पहिरोमा परी एकजनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा मनसुनयता २४ परिवार विस्थापित

गणेश लम्साल/विराटनगर

मनसुन सुरु भएयता प्रदेश १ मा पहिरोले घर पुरिँदा तथा क्षति हुँदा २४ परिवार विस्थापित भएका छन् । पहिरोले तीन दर्जनभन्दा बढी परिवारको करोडौँको क्षति भएको छ । 

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार शुक्रबार बिहान तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काँडेकी रिना गुरुङको घर पहिरोले बगाएको छ । घर बगाउँदा पाँचजनाको परिवार विस्थापित भएको छ । यसअघि बिहीबार राति सोलुखुम्बुको माप्य दूधकोसी गाउँपालिका–३ का पूर्णबहादुर दमाईंको घर पहिरोले बगाएको छ । घर बगाउँदा उनको परिवार पनि विस्थापित भएको छ । त्यस्तै, २२ असारमा थुलुङ दूधकोसी गाउँपालिका–३ थामडाँडाका युवराज काफ्ले, माप्य दूधकोसी–४ का हस्तबहादुर राई, रामबहादुर राई, विष्णुबहादुर राई, प्रदीप राईलगायत घरमा पहिरोले क्षति पुगेको थियो । 

प्रदेश प्रहरी कार्यालयका अनुसार गत फागुनयता खोला तथा नदीमा बगेर तथा डुबेर ४५ जनाको मृत्यु भएको छ । जसमा सात बालिका छन् । मोरङमा १४, सुनसरीमा पाँच, झापा, इलाम, ताप्लेजुङमा चार–चार, भोजपुर र उदयपुरमा तीन–तीन, पाँचथर, शंखुवासभा र खोटाङमा दुई–दुई तथा तेह्रथुम र धनकुटामा एक–एकजनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ । 

सुदूरपश्चिममा जोखिम क्षेत्रका बासिन्दालाई सतर्क गराइँदै, सुरक्षाकर्मी तयारी अवस्थामा

तेजराज भट्ट/धनगढी

देशका अन्य भागमा बाढी र पहिरोले जनधनको क्षति गरेसँगै सुदूरपश्चिमका विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । 

कैलाली र कञ्चनपुरमा वर्षायाममा अत्यधिक डुबान हुने गरेको छ । लगातार वर्षा हुने मौसम विभागको अनुमान रहेकाले डुबान हुने क्षेत्रमा प्रशासनले पनि आवश्यक सतर्कता अपनाएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । ‘स्थानीय बासिन्दालाई सतर्क रहेर बस्न भनेका छौँ । बाढी र डुबान भएको अवस्थामा उद्धारमा खटिनका लागि स्थानीय स्तरमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरी युनिटहरू तयारी अवस्थामा छन्,’ प्रजिअ बोहराले भने । त्यस्तै, नदी, खोलाहरूमा जलस्तर मापन गरेर बाढीको सतह बढेमा समुदायलाई सतर्क गराउने सूचना प्रणालीलाई पनि सक्रिय पारिएको उनले बताए । 

कञ्चनपुरमा पनि डुबान प्रभावित क्षेत्रमा आवश्यक सतर्कता अपनाउन सचेत गराइएको छ । दुई दिनअघि वर्षाले भीमदत्त नगरपालिका–१८ मा डुबान हुँदा ४५ घरपरिवार विस्थापित भएका थिए । वर्षाको पानी जमेपछि डुबान हुँदा एक सय २० जनाको उद्धार गर्नुपरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले बताए । पहाडी क्षेत्रमा पनि जोखिमपूर्ण बस्तीका बासिन्दालाई सतर्क गराइएको उनले बताए । 

गत साता बाढी, पहिरोमा पुरिएर बझाङमा सातजनाको मृत्यु भएको थियो । अन्य जिल्लामा यस वर्ष बाढी, पहिरोको विपत्ले अहिलेसम्म मानवीय र भौतिक क्षति नभएको एसएसपी सिंहले बताए । तैपनि सबै जिल्लामा प्रहरी युनिटलाई तयारी अवस्थामा राखिएको उनले बताए । 

यस्तो छ प्रदेश २ मा विपत् व्यवस्थापन तयारी 

हदिश खुद्दार/जनकपुरधाम

वर्षा सुरु भएसँगै प्रदेश २ मा डुबानको समस्या देखिन थालेको छ । प्रदेश सरकारले पनि विपत् व्यवस्थापनको तयारी थालेको छ । 

शुक्रबारदेखि कोसी, कमला, बागमतीलगायतका मुख्य नदीको पानीको सतह बढ्दै गएको छ । कमला नदीमा पानीको सतह ह्वात्तै बढेपछि धनुषाको कमला नगरपालिका तथा जनकनन्दनी र मुख्यापट्टी गाउँपालिका डुबानमा पर्ने जोखिम बढेको छ । औरही, बरहडी, रातुलगायतका खोलामा पनि पानीको सतह बढ्न थालेपछि तटीय क्षेत्रका बासिन्दा त्रसित बनेका छन् । 

शुक्रबार नै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकाय तथा विभिन्न सरोकारवालासँग छलफल गरेका छन् । मुख्यमन्त्री राउतले बाढीबाट हुन सक्ने जनधनको क्षतिको न्यूनीकरण तथा उद्धारका लागि ‘हाईअलर्ट’ रहन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई निर्देशन दिएका छन् । 

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट प्रदेश २ मा आउन सक्ने विपत् व्यवस्थापनका लागि प्रदेश सरकार पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताए । ‘विपत् व्यवस्थापनका लागि पूर्वतयारी, उद्धार तथा राहतको काम सँगसँगै अगाडि बढाउने तयारी गरेका छौँ,’ मन्त्री यादवले भने । केही दिनअघि बाढी तथा डुबानमा परेकालाई उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका एक सय ३५ जनालाई संयुक्त तालिम दिइएको उनले बताए । 

त्यसैगरी उद्धारका लागि रोबट बोट, मोटर बोट, लाइफज्याकेटलगायतका आवश्यक सामग्री सुरक्षा निकायलाई उपलब्ध गराइएको छ । डुबान वा कटान भइरहेको क्षेत्रलाई निगरानी तथा अनुगमन गर्न ड्रोन क्यामराको व्यवस्था गरिएको मन्त्री यादवले बताए । डुबान र बाढीमा परेकालाई तत्काल उद्धारका लागि हेलिकोप्टरको समेत व्यवस्था गरिएको उनको भनाइ छ । 

त्यस्तै, सशस्त्र प्रहरीले पनि एसएसपीको कमान्डमा उद्धारका लागि ५० जनाको विशेष उद्धार टोली तयारी अवस्थामा राखेको डिआइजी राजु अर्यालले बताए । प्रत्येक जिल्लामा पनि बाढी तथा डुबानमा परेकाहरूलाई उद्धार गर्न स्पेसल टोली नै तयार गरिएको उनले बताए ।

प्रधानमन्त्रीको अध्यक्षतामा परिषद्को बैठक बस्दै 

प्राकृतिक विपत्का घटना बढ्दै गएपछि शनिबार प्रधानमन्त्रीको अध्यक्षतामा रहेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्ने भएको छ । परिषद्मा सम्बन्धित मन्त्री, प्रमुख प्रतिपक्षी दलको नेता, सातै प्रदेशका मुख्यमन्त्री, योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, प्रधानसेनापतिलगायत सदस्य रहन्छन् । बैठकमा विपत्मा परेकाहरूको उद्धार, राहत वितरण, बसोवासलगायतका तत्काल गर्नुपर्ने काम प्रभावकारी बनाउने सम्बन्धमा छलफल हुने बताइएको छ । 

सरकारको ध्यान महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित : प्रधानमन्त्री

काठमाडौं\प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सारा ध्यान र सम्पूर्ण प्रयास महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित रहेको बताएका छन् । शुक्रबार राति देशवासीका नाममा गरेको सम्बोधनमा प्रधानमन्त्रीले बाढी र पहिरोले पु¥याएको क्षतिको जानकारीले आफूलाई स्तब्ध र दुःखी तुल्याएको पनि बताएका छन् । 

बाढी, पहिरो, प्राकृतिक विपत् र कोरोना नियन्त्रणबारेको सम्बोधनमा प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्को अवस्था देखिएकाले उद्धार, राहत र उपचारको काममा जुट्न तीनवटै तहका सरकार, राजनीतिक दलका नेता–कार्यकर्ता, सुरक्षाकर्मीसहित सबैमा अपिल गरेका छन् ।

‘यतिवेला मेरो ध्यान आमनागरिकको जीवनरक्षामा केन्द्रित रहेको छ । हामीले महामारी र प्राकृतिक विपत्तिप्रति खेलबाड गरेर महाविपत्ति निम्त्याउन किमार्थ पनि मिल्दैन । तसर्थ जहाँ विपत् र विपत्ति आइलागेको छ, त्यहाँ सरकारका तीनवटै तह, जनप्रतिनिधिहरू, राजनीतिक नेता, कार्यकर्ताहरू एकजुट भएर सम्भव सबै प्रकारका उद्धार, सहयोग र तत्काल उपचारको कामलाई प्रभावकारी रूपमा अघि बढाइहाल्नुपर्दछ,’ प्रधानमन्त्रीले सम्बोधनमा भनेका छन्, ‘म यहाँहरू सबैलाई सम्बन्धित स्थानमा उद्धार कार्यमा जुट्न र आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोगमा केन्द्रित हुन विशेष आह्वान गर्न चाहन्छु ।’

उनले नेपालका जुनसुकै भूभागमा आइपर्ने यस्ता संकट र समस्यामा सरकार आफ्ना नागरिकको साथमा रहँदै आएको पनि स्पष्ट पारेका छन् । विपत्तिहरूबाट सुरक्षित हुन सरकारले उद्धार, राहत र पुनस्र्थापनाका कार्यहरूका साथै असुरक्षित बसोवासका स्थानहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा विपत् न्यूनीकरणका उपायहरू अवलम्बन गर्नेजस्ता अनेकौँ दूरगामी महत्वका कार्यक्रमहरू पनि सँगसँगै सञ्चालन गरिरहेको उनले सम्बोधनमा उल्लेख गरेका छन् ।

३१ जेठदेखि २६ असारसम्म प्राकृतिक विपत्तिका कारण ज्यान गुमाउने सिन्धुपाल्चोकसहित विभिन्न जिल्लाका तीन दर्जन नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना तथा पीडित परिवारप्रति समवेदना पनि व्यक्त गरेका छन् ।

लकडाउनलाई केही खुकुलो पारेसँगै राजधानी काठमाडौंमा कोरोना भाइरस संक्रमणको धेरै जोखिम बढिरहेको भन्दै चिन्ता प्रधानमन्त्रीले व्यक्त गरेका छन् । 

‘लकडाउनलाई केही खुकुलो पारेसँगै संक्रमणको धेरै जोखिम राजधानी उपत्यकातर्फ बढिरहेको छ । गत असार ९ देखि २४ गतेका बीच मात्रै उपत्यकामा संक्रमितहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ । यसले संकेत गरिरहेको छ, राजधानी उपत्यकामा यो महामारी क्रमशः तर तीव्र रूपमा बढ्दै जाँदै छ,’ प्रधानमन्त्रीको भनाइ छ, ‘यो संक्रमण समुदायमा फैलिन गए भयावह अवस्था सिर्जनासमेत हुन सक्छ । तसर्थ हामी सबैमा थप गम्भीरता, अनुशासन र सचेतना आवश्यक रहेको छ ।’

प्रधानमन्त्रीले स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरेर सचेतना अपनाउन आग्रह गरेका छन् । 

‘राजधानी उपत्यकालाई महामारीबाट जोगाउन स्वास्थ्य मन्त्रालय र चिकित्सक–स्वास्थ्यकर्मीहरूबाट सुझाइएको सुरक्षित रहने उपाय कुनै पनि हालतमा अपनाउनुपर्दछ । छोटकरीमा एसएमएस भनिएको– सामाजिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने र समय–समयमा हात धुने कामका लागि म सबैको विशेष ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले सम्बोधनमा भनेका छन् ।

 

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा 

पाँच ठाउँमा १२ हेलिकोप्टर ‘स्ट्यान्डबाई’, पाँच हजार गैरखाद्य सामग्री सेट सातै प्रदेशमा पठाइयो

टेकराज थामी/काठमाडौं

बाढीपहिरोबाट विस्थापितको उद्धारका लागि सेनाले देशका पाँच ठाउँमा १२ वटा हेलिकोप्टर तयारी अवस्थामा राखेको छ । 

प्रदेश १ र २ का लागि पूर्वी पृतना इटहरी, मध्यक्षेत्रको उद्धारका लागि चितवनको भरतपुर, काठमाडौं र आसपासका क्षेत्रको उद्धारका लागि एयर बेस काठमाडौं, गण्डकी प्रदेशका लागि पोखरा र प्रदेश ५, कर्णाली र सुदूरपश्चिमका लागि पश्चिम पृतना एयर बेस सुर्खेतमा हेलिकोप्टर तयारी अवस्थामा राखिएको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए । उनका अनुसार तीनवटा एमआई–१७ र बाँकी लाइट हेलिकोप्टर ‘स्ट्यान्डबाई’ राखिएका हुन् । 

‘विपत्मा उद्धारका लागि हेलिकोप्टर प्रभावकारी साधन प्रमाणित भएको छ । त्यसैले यसपटक हामीले विभिन्न साइजका १२ वटा हेलिकोप्टर तयारी अवस्थामा राखेका छौँ । विपत्का वेला जुनसुकै स्थानमा हेलिकोप्टर प्रयोग हुन सक्नेछन्,’ प्रवक्ता पाण्डेले भने ।

त्यस्तै, विपत्पछिको उद्धारका लागि गुल्म रहेका प्रत्येक जिल्लामा कम्तीमा सय सैनिकलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको उनले बताए । अनाश्रित गुल्म भएको जिल्लाको हकमा ३० सैनिकलाई तयारी अवस्थामा रहन भनिएको छ । 

मुख्य सडक सुरक्षाका लागि पनि सेनाले विशेष सैनिक दस्ता खटाएको छ । पहिरो तथा बाढीबाट हुन सक्ने अवरोध हटाउन एक्स्काभेटर, डोजर तथा एक्रोब्रिज, रिभाई बोटको व्यवस्था गरेको छ । डुबानमा परेकाहरूको उद्धारका लागि विभिन्न खालका एक सय १९ वटा बोट मातहतका निकायमा पठाइएको सेनाले जनाएको छ । 

त्यस्तै, सम्भावित विपत्पछिको उद्धारका लागि सशस्त्र प्रहरीले पनि मातहतका बाहिनी, गण, गुल्मलगायत निकायलाई ‘हाइअलर्ट’ रहन निर्देशन दिएको छ । त्यस्तै, प्रत्येक प्रदेशमा उद्धारका लागि तालिमप्राप्त सुरक्षाकर्मीको प्लाटुन पठाइएको सशस्त्रले जनाएको छ । सशस्त्रका प्रवक्ता डिआइजी प्रवीणकुमार श्रेष्ठले भने, ‘विपत्पछिको उद्धार सशस्त्र प्रहरीको म्यान्डेट हो । यसका लागि सशस्त्रमा तालिमप्राप्त विशेष फौज छन् । उनीहरूलाई हामीले सम्भावित खतरा हुने ठाउँमा पठाइसकेका छौँ । विपत् आइलागेका कतिपय ठाउँमा त उनीहरू खटिई पनि सकेका छन् ।’

नेपाल प्रहरी पनि ‘हाईअलर्ट’मा छ । ७७ वटै जिल्ला कार्यालयलाई सम्भावित विपत्पछिको उद्धारमा खटिन, राहत सामग्री वितरण, पीडितका लागि बन्दोबस्तीका सामग्री व्यवस्थापन गर्नलगायत कार्यका लागि गृह मन्त्रालयले निर्देशन गरेको छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उद्धारपछिको व्यवस्थापनका लागि पाँच हजार गैरखाद्य सामग्री सेट सातवटै प्रदेशमा पु¥याइएको छ । एउटा सेटमा विपत्बाट विस्थापित एक परिवारलाई राख्न सकिन्छ । सेटमा खाद्य सामग्री, लत्ताकपडा, ग्यास, भाँडाकुँडा, म्याट्रेस, प्राथमिक उपचारका सामग्रीलगायत आधारभूत आवश्यकताका सामान हुन्छन् । सामग्री अपुग भए थप्न सकिने प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका कार्यकारी अधिकृत अनिल पोखरेलले उद्धारपछिको जीवन सहज बनाउन प्रत्येक स्थानीय तहलाई सक्रिय बनाइएको बताए । ‘यतिवेला सबै युवा गाउँमा छन् । विपत्का वेला उद्धार गर्न हामीले उनीहरूलाई परिचालन गर्न स्थानीय तहलाई भनेका छौँ । कतिपय ठाउँमा तालिम पनि दिएका छौँ । प्रदेश सरकारसँग पनि समन्वय भएको छ । सय निकायले नै विस्थापितका लागि खाद्य सामग्री, राहतका प्याकेज, लत्ताकपडा, बस्ने ठाउँको व्यवस्था गर्नेछन्,’ उनले भने ।

अलर्ट रहन तीन लाख एसएमएस पठाइए

सम्भावित खतरा हुने क्षेत्रका स्थानीयलाई अलर्ट रहनका लागि सचेत गराउन तीन लाखभन्दा धेरै एसएमएस पठाइएको छ । अत्यधिक वर्षा हुन सक्ने ठाउँ, त्यसबाट हुन सक्ने क्षति विश्लेषणपछि जल तथा मौसम विज्ञान विभागले ‘अलर्ट’ रहन एसएमएस पठाइएको हो ।

‘अलर्ट रहन पूर्वसूचना दिनुपर्ने हुन्छ । हामीले एसएमएसमार्फत खतरा हुन सक्ने ठाउँका स्थानीयलाई सचेत गराएका छौँ । सुरक्षित ठाउँतर्फ जान पनि भनेका छौँ । दुई दिनअघिबाटै यो सेवा सुरु भएको छ । यस क्रममा तीन लाखभन्दा धेरै एसएमएस पठाइसकिएको छ,’ राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ अनिल पोखरेलले भने ।