मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २६ शुक्रबार २१:४८:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतीय प्रधानमन्त्री मोदीले भने– कोभिडविरुद्धको खोप उत्पादनमा भूमिका खेल्छौँ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २६ शुक्रबार २१:४८:००

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड– १९ विरुद्ध लड्ने खोपको विकास र उत्पादनको  अन्तर्राष्ट्रिय प्रयासमा भारतीय कम्पनी सक्रिय रहेको बताएका छन् । शुक्रबार इन्डिया ग्लोबल विक २०२० लाई सम्बोधन गर्दै मोदीले कोभिडविरुद्धको खोपको आविष्कार, विकास र उत्पादनमा भारतको अहं भूमिका रहनेसमेत जिकिर गरेका छन् ।

भारत औषधि उत्पादनका लागि विश्वकै सम्पत्ति भएको पनि प्रधानमन्त्री मोदीको दाबी छ ।  ‘आज पनि हाम्रा कम्पनीहरू कोभिड–१९ का विरुद्ध लड्ने खोपको विकास तथा उत्पादनका लागि सक्रिय छन्,’ भारतीय दूतावासका अनुसार प्रधानमन्त्री मोदीले भनेका छन्,  ‘म विश्वस्त छु, यस खोपको आविष्कारसँगै यसको विकास तथा उत्पादनमा भारतको अहं भूमिका हुनेछ ।’ भारतले विकासोन्मुख मुलुकहरूका लागि औषधिमा लाग्ने लागत घटाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि दाबी गरेका छन् । 

मोदीले विश्वव्यापी पुनर्जागरणमा भारतको नेतृत्वदायी भूमिका हुनेसमेत बताएका छन् । भारतीय प्रतिभा  तथा सुदुढ र पुनर्जागृत भारतीय क्षमताको व्याख्या गर्दै भारतले सामाजिक र आर्थिक चुनौतीलाई पार गर्दै आएको र अब पनि चुनौतीमाथि विजय हासिल गर्ने मोदीको भनाइ छ ।  मोदीले भनेका छन्, ‘एकातिर भारतले विश्वव्यापी महामारीविरुद्ध लडिरहेको छ  भने अर्कातिर सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राख्दै अर्थतन्त्रको स्वास्थ्यबारे पनि उत्तिकै ध्यान दिनुपरेको छ । जब भारतले पुनर्जागरणको कुरा गर्छ, त्यो संरक्षणसहितको पुनर्जागरण, संवेदनासहितको पुनर्जागरण र वातावरण र अर्थतन्त्र दुवैलाई दिगो बनाउने पुनर्जागरण हुन् ।’ 

महामारीको समयमा भारतले जनतालाई राहत प्रदान गरेको, संरचनात्मक सुधार गरेको भन्दै मोदीले भारतीय अर्थतन्त्रलाई थप प्रतिस्पर्धी, लगानीमैत्री र फलदायी बनाएको पनि जिकिर गरेका छन् । उनले विश्वका ठूला कम्पनीहरूलाई भारतमा आउन र आफ्नो उपस्थिति स्थापित गर्न निमन्त्रणासमेत गरेका छन् । 
मोदीले लगानीकर्ताहरूलाई भारतमा किसानहरूको परिश्रममा प्रत्यक्ष लगानी गर्न आग्रह गरेका छन् । भारतको सूक्ष्म, लघु तथा मध्यम उद्यम मन्त्रालय (एमएसएमई) ले ठूला उद्योगलाई टेवा दिएको तथा रक्षालगायतका क्षेत्रमा वैदेशिक लगानीका अवसर दिएको पनि मोदीको भनाइ छ । ‘विदेशी प्रत्यक्ष लगानी (एफडिआई) को लचिलो मापदण्डसहित विश्वकै सबैभन्दा ठूलोमध्येको एक भारतीय सेनाले यहाँहरूलाई भारतमा आउन र यसका लागि सामग्री उत्पादन गर्न आह्वान गर्दछ,’ मोदीले भनेका छन्, ‘अन्तरिक्ष क्षेत्रमा निजी लगानीको लागि अहिले अझ बढी अवसरहरू छन् । यसको अर्थ मानिसको फाइदाका लागि अन्तरिक्ष प्रविधिको व्यावसायिक प्रयोगमा बढी पहुँच हुनेछ ।’ भारतको प्रविधि तथा नयाँ स्थापित व्यावसायिक क्षेत्र रहरलाग्दो भएको तथा  लाखौँ डिजिटल रूपमा सशक्त र आकांक्षी व्यक्तिहरूको बजार रहेको पनि मोदीको भनाइ छ ।