मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असार २६ शुक्रबार २१:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वर्षाले हुम्लाका सातवटै स्थानीय तहमा क्षति 

Read Time : < 1 मिनेट
२०७७ असार २६ शुक्रबार २१:१५:००

एक सातादेखि परेको अविरल वर्षाले हुम्लाका सबै सात स्थानीय तहमा क्षति पुगेको छ ।  जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार चंखेली गाउँपालिका–१ जाँचे खोलामा आएको बाढीले चारवटा घर पुरेको छ भने चंखेली गाउँपालिकाकै वडा नम्बर २ दार्मास्थित दुईतले देवल पहिरोले भत्काएको छ । 

सर्केगाड गाउँपालिका–४ मुण्डीगाउँमा पहिरोले खेतबारी भत्काएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी सूर्यप्रकाश सुवेदीले बताए । यस्तै अदानचुली गाउँपालिका–६ लौठीका रामलाल टमटाको दुईतले घर पनि भत्काएको डिएसपी सुवेदीले बताए । सर्केगाड गाउँपालिका–३ उनापानीको तातोपानी कुण्ड र शौचालय बगाएको स्थानीय छक्क फडेराले जनाकारी दिए । 

यस्तैगरी खार्पुनाथ गाउँपालिका–२ स्थित लक्ष्यखोलाको पुल पनि बाढीले बगाएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए । गाउँपालिकाले निर्माण गरेको काठेपुल बगेको हो । खार्पुनाथ–४ स्थित नल्ला खोलामा रहेको घट्टसमेत बगाएको अध्यक्ष रावलको भनाइ छ । उत्तरी नाम्खा गाउँपालिका लिमीका तीन गाउँमा बाढीपहिरोले बाटो अवरुद्ध भएको छ । वर्षाका कारण लिमीका तिल, जाङ, हल्जी गाउँ आवतजावत गर्न बाटो अवरुद्ध भएको हो । न्यालुदेखि टुम्लिङसम्म आवतजावत गर्ने बाटो बाढीपहिरोले अवरुद्ध बनाएपछि समस्या भएको नाम्खा गाउँपालिका–६ हल्जीका स्थानीय कन्जोक फुरुबु तामाङको भनाइ छ ।