देशको राजनीतिक प्रशासनिक केन्द्र सिंहदरबार यतिवेला पुनर्निर्माणको चरणमा छ ।
१२ वैशाख ०७२ विनाशकारी भूकम्पमा सिंहदरबार पूर्ण रूपमा क्षति भएकाे लामो सयमपछि पुनर्निर्माणको काम थालिएको थियो ।
तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर राणाले बनाएको सिंहदरबार आफैँमा एउटा ऐतिहासिक महत्व बोकेको संरचना हो ।
राणाकालदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सञ्चालन भइरहेको भवन भूकम्पपछि प्रयोगविहीन बन्दै आएको थियो ।
०७२ को भूकम्पले जर्जर पारेपछि यस राणकालीन ऐतिहासिक संरचना नरहने हो कि भन्ने चिन्ता पनि थपिएको थियो ।
तत्कालीन समय ०२९ सालमा सिंहदरबार आगलागी भएपछि सिंहदरबारलाई पूर्वी मोहडा र पश्चिमी मोहडामा विभाजन गरिएको थियो ।
भूकम्पले क्षति भएपछि पुनर्निर्माण प्राधिकरणले यिनै दुई चरणमा विभाजन गरेर निर्माण कार्य अगाडि बढाउँदै आएको छ ।
पुनर्निर्माण प्राधिकरणका अनुसार सिंहदरबारको पूर्वपट्टिको पुनर्निर्माणको काम ८० प्रतिशतभन्दा बढी सकिसकेको छ भने पश्चिम मोहडापट्टिकोे पुनर्निर्माणको काम हालै मात्र सुरु गरिएको छ ।
भूकम्पपछि छानो चुहिने भएको थियो, तर त्यसमा कुनै पनि सरोकारवालाहरूले चासो देखाउन सकेनन् ।
भूकम्प गएको तीन वर्षपछि मात्र प्लाष्टिकले छानो छोप्ने काम भयो । छानो चुहिने समस्याका कारण कतिपय सामान ऐतिहासिक फोटाहरूमा खिया लाग्ने र कतिपय सामान मकिएकोसमेत छ ।
विक्रम सम्वत् १९६० मा बनेको यस दरबार जुन अहिलेको संरचनाभन्दा निकै भिन्न रहेका १४ सय कोठासहित र आन्तरिक चोकसहितको कलात्मक भवनलाई जस्ताको तस्तै बनाउने भन्नेमा पुनर्निर्माणको जिम्मा पाएको प्राधिकरणको दाबी गर्दै आएको छ ।
यसकारण ढिलो भएको थियो पश्चिमपट्टिको पुनर्निर्माण
पुनर्निर्माण प्राधिकरणलाई पूर्वी मोहडाको निर्माण गर्नका लागि समस्या थिएन ।
सिंहदरबारमा तत्कालीन समयमा आगलागी भएपछि त्यस भागलाई तत्कालीन समयमा पुनर्निर्माण गर्दा केही ठाउँमा आधुनिक संरचनमा प्रयोग गरी प्रयोगमा ल्याइएको थियो ।
सिंहदरबार आगलागीबाट थप क्षति हुनबाट बचाउनका लागि तत्कालीन समयमा बमको प्रयोग गरेर भवनलाई दुई भागमा विभाजन गरिएको थियो ।
त्यसकारण पश्चिमपट्टिको मोहडालाई आफैँमा ऐतिहासिक संरचना मानिँदै आएको छ ।
पुनर्निर्माण प्राधिकरणका अनुसार पूर्वी मोहडामा भन्दा पश्चिम मोहडामा बढी क्षति भएको थियो ।
पुनर्निर्माण प्राधिकरणमा सिंहदरबारको पूर्वपट्टिको पुनर्निर्माण कसरी गर्ने भन्नेमै अन्योल सिर्जना भएको थियो ।
विशेषगरी पश्चिमपट्टि ऐतिहासिक संरचना भएकाले त्यसकाे निर्माण कसरी गर्ने भन्नेमै विवाद रहँदै आएको थियो ।
त्यहाँ तत्कालीन समयमा राणाहरूले आफ्नो शासनकालमा गर्ने क्रियाकलापका सामान लगायत अति विशिष्ट कक्षहरू रहेका थिए ।
त्यसलाई मास्न नहुने र ऐतिहासिक संरचना जोगाउने वा भत्काएर आधुनिक शैलीमा निर्माण गर्ने विषयमा छलफल हुँदै आएको थियो ।
भवनको संरचना कस्तो हुने र पुरानो कलात्मक शैलीलाई कसरी जोगाउने भन्ने विषयमा सहरी विकास मन्त्रालय र पुरातत्व विभागबीच आपसमा मतान्तर भएको थियो ।
लामो विवादपछि मन्त्रालयले पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय (भवन) इकाइलाई दिएको थियो ।
भवन निर्माणको जिम्मा पाएपछि भने पुनर्निर्माण प्राधिकरणले पुरातत्व विभाग सहरी विकास मन्त्रालयका पदाधिकारी, पुरातत्वविज्ञलगायतको टोलीसँग लामो समय छलफल गरेर निर्माण प्रक्रिया अगाडि बढाएको थियो ।
पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुरानो भवनलाई आधुनिक शैलीमा नभई पुरानै राणाकालीन संरचनामै निर्माण गर्न लागिएको बताए ।
उनले अधिकांशले भत्काउनका लागि सुझाब दिएको भए पनि आफूहरू यस भवनलाई जसरी पनि बचाउन लागेको बताए ।
उनले भने, ‘हामीलाई भत्काउनका लागि दबाबै पनि नआएको होइन, अब पुरानो ऐतिहासिक संरचना निकै कम भएकाले यसलाई भत्काउनभन्दा पनि जोगाउनुपर्नेमा लागेका हौँ ।’
यसरी हुँदै छ पुनर्निर्माण
यतिवेला सिंहदरबारको पश्चिमपट्टिको भागलाई पहिलाकै गतिमा पुनर्निर्माण गर्ने चुनौती पुनर्निर्माण प्राधिकरणलाई छ ।
‘हामीलाई चुनौती छ, तर हामी पहिलाकै गतिमा फर्काउँछौँ भन्ने आँटले नै जिम्मा लिएका हाैँ र सफल पनि हुन्छौँ,’ ज्ञवालीले भने ।
प्राधिकरणले हालको भवनलाई पहिलाकै अवस्थामा फर्काउन भवनको जग बलियो बनाउन पुरानै पिलरलाई सपोट गर्नका लागि पाइलिङ गरिरहेको छ ।
साथै, भत्किएको भित्तालाई जमिनदेखि नै फलामे पिलरबाट बाँध्ने काम गरिएको छ भने पहिलाकै इँटाको प्रयोग गरिएको छ ।
जुन इँटामा वीर चन्द्रशमशेर लेखिएको छ । तिनै इँटालाई प्रयोग गरेर निर्माण गरिएको छ ।
पुनर्निर्माण प्राधिकरणले राणकालीन समयमा बनेका अधिकांश संरचनालाई पुनर्निर्माण अवधिभरका लागि छुट्टै कोठामा राखेको छ ।
यसरी विभिन्न उपायबाट सिंहदरबारभित्रका संरचनालाई जस्ताको तस्तै पुरानै शैलीमा फर्काउने प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए ।