मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एनाटोल कालेत्सी
२०७५ माघ १६ बुधबार ०९:५९:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

विश्व अर्थतन्त्र : पूर्वानुमान गर्नै सकिन्न

Read Time : > 3 मिनेट
एनाटोल कालेत्सी
२०७५ माघ १६ बुधबार ०९:५९:००

पछिल्लो वर्ष अर्थशास्त्री तथा लगानीकर्ताले निकालेको विश्वव्यापी वित्तीय संकटयताकै एउटै मात्र निष्कर्ष के हो भने हलिउडमा चलचित्रजस्तो ‘कसैलाई केही पनि थाहा छैन’ । चलचित्र उद्योगमा सबैभन्दा धनी र अनुभवी स्टुडियो र निर्माताहरूले दर्शक अनुसन्धानमा ठूलो रकम खर्चिएको भए पनि आफ्ने सिर्जना हिट वा फ्लप के हुन्छ भन्ने उनीहरूलाई कुनै आइडिया छैन । त्यो भने वित्तीय बजार, कमोडिटीको भाउ, नीति निर्माण र कर्पोरेट काममा पनि यस्तै हुँदा भने आश्चर्य मान्नुपर्ने के कारण छ त ?

क्रिसमस सकिएलगत्तै चीनमा एप्पलले कतिवटा आइफोन बिक्री गर्छ भन्ने कुरा यसै भन्न नसकिने स्वीकार गर्‍यो । त्यस्तै, ऊर्जा व्यापारीले विश्वव्यापी आपूर्ति अभावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल १ सय डलर माथि पुग्न सक्छ वा बजारको स्थिति हेरेर भाउ ५० डलरमा आउँछ भन्ने अनुमान गर्‍यो । अथवा, अमेरिकी राष्ट्रपतिले विश्व व्यापारलाई माया वा घृणामध्ये के गर्ने उनी आफैँलाई थाहा छैन वा ऋणपत्र बजारले मन्दीको अनुमान गरेका वेला सेयर बजारले भने विश्वव्यापी आर्थिक उछालको अनुमान लगाउँछ ? यस्ता कुराहरू स्वीकार गर्दा झट्का लाग्नुपर्ने कुरा के नै छ र ?

गत वर्षको यही अवधिमा विश्वका अधिकांश आर्थिक प्रक्षेपणहरू सकारात्मक थिए । सन् २००८ को वित्तीय संकटपछि विश्वका हरेक क्षेत्रमा आर्थिक उछाल आएको थियो । आर्थिक बृद्धिसँगै केन्द्रीय बैंकरहरू आफ्नो अद्वितीय मौद्रिक प्रोत्साहन नीति रद्द गर्न सुरु गर्न सकिनेमा विश्वस्त थिए र सेयर बजार लगानीकर्ताहरू पनि सर्वसम्मतिले बुलिस भए । तैपनि गत वर्ष लगानीकर्ताका लागि वित्तीय संकटयताकै सबैभन्दा खराब वर्ष बन्न पुग्यो । केन्द्रीय बैंकरहरू मौद्रिक नीतिलाई सामान्य बनाउने योजनाबाट पछि हट्न, अर्थशास्त्रीहरू वृद्घि प्रक्षेपण घटाउन बाध्य भए भने अधिकांश व्यवसायहरू पनि यो वर्ष र सन् २०२० को मन्दीको सामना गर्न तयार भएर बस्न बाध्य भए । 

गल्ती कहाँ भयो त ? गत वर्षको दोस्रो अर्धवार्षिक अवधिमा आर्थिक तथ्यांक अनुमान गरेभन्दा थोरै मात्रै कमजोर थियो । उदाहरणका लागि, विश्व बैंकले सन् २०१८ र सन् २०१९ को विश्व आर्थिक बृद्धिको प्रक्षेपण क्रमशः शून्य दशमलव १ प्रतिशत र २ दशमलव ९ प्रतिशतले मात्रै घटाएको थियो । 

वित्तीय बजारको व्यवहार नै यस चिन्ताको प्रमुख कारण थियो । डिसेम्बरमा दीर्घकालीन ब्याजदर र सेयर मूल्यमा आएको कमीलाई अधिकांश लगानीकर्ताले मन्दीको संकेतका रूपमा लिए । या त लगानीकर्ताहरूलाई तथ्यांकमा प्रमाणित नभएका भयंकर कुराबारे थाहा छ अथवा व्यवसाय वा उपभोक्तालाई कटौती गर्न लगाएर बजारको घट्दो मनोबल आत्मनिर्भर भविष्यवाणी बन्न सक्छ । 

तर, वित्तीय बजारले भविष्यको आकार कोर्न र अनुमान लगाउन सक्छ भन्ने निष्कर्षमा पुग्नुअगाडि आर्थिक र नीतिगत परिवर्तनले वित्तीय अनुमानलाई चलाउँछ भन्ने कुरा हामीले बिर्सिनु हुँदैन ।

त्यसो भए बजार अस्थिरताबाहेक अन्य के कुराले मन्दी र विश्वव्यापी आर्थिक सुस्ती निम्तिन्छ त ? यसको सबैभन्दा लोकप्रिय उत्तर हो– समय । सन् २००९ मा सुरु भएको आर्थिक विस्तार झन्डै १० वर्ष चल्यो । यदि सन् २०२० मा अमेरिकामा आर्थिक मन्दी आएन भने उसले इतिहासकै सबैभन्दा लामो निरन्तर आर्थिक विस्तारको अनुभव गर्नेछ । 

बृद्धि उमेरसँगै मर्दै जान्छ वा मन्दी असामान्य हुन्छ भन्ने कुरा कुनै पनि आर्थिक सिद्धान्त र ऐतिहासिक अनुभवले सुझाउँदैन । तर, वृद्ध उमेरको रोगका लागि वृद्घि कमजोर भने हुन्छ । सम्पत्तिको अस्थायी उच्च भाउ अचानक पतन भएपछि उच्च ब्याजदर, ऊर्जाको बढ्दो भाउ, बढ्दो मुद्रास्फीति र बैंकिङ संकटजस्ता समस्या निम्तिन्छन् । यदि यीमध्ये कुनै पनि आर्थिक क्षतिका घटना भएनन् भने बिस्तारै राजनीतिक नेताहरू अति आत्मविश्वासी हुन्छन् जसले गर्दा युद्ध, व्यापार तनाव वा कुल बजेटको अव्यवस्थापनजस्ता समस्या आउँछन् । 

गत वर्ष यीमध्ये अधिकांश समस्याहरू अर्थतन्त्रमा देखा पर्न सुरु भए । अमेरिकामा बढ्दो ब्याजदर, इटाली र युरोपका अधिकांश राष्ट्रमा वित्तीय कडाइ, अमेरिका र चीनबीचको बढ्दो महसुल युद्ध र विश्वका अधिकांश स्थानमा ऊर्जाको बढ्दो मूल्यलगायतका समस्या गत वर्ष विश्व अर्थतन्त्रमा देखिए । त्यसैकारण गत वर्ष अधिकांश अर्थविद्को अनुमानविपरीत विश्व अर्थतन्त्र सुस्ताउनुमा कुनै आश्चर्य छैन । 

तर, गत वर्ष विश्व अर्थतन्त्र सुस्ताउनुमा प्रमुख कारण रहेका तत्वमध्येका अधिकांश यो वर्ष पछाडि हट्दै गएका छन् । तेलको भाउमा कमी आएको छ, अमेरिकी ऋणपत्रको प्रतिफल पनि झन्डै गत वर्षको सुरुवातमा रहेकै स्तरमा पुगेको छ, व्यापार युद्धले पनि समाप्ति हुने छाँट देखाएको छ र चीनले बृहत् आर्थिक नीतिलाई केही हदसम्म भए पनि खुकुलो पार्दै छ । 

गत वर्ष बजारमा झट्का आउनुमा नीतिगत परिवर्तन र राजनीतिक गतिविधि नै प्रमुख कारण रहेको स्पष्ट छ । उदाहरणका लागि, अमेरिकी ऋणपत्र प्रतिफलमा वृद्घि र मुद्रास्फीति बढ्ने चिन्ताका कारण जनवरीमा सेयर बजारको सुधार र अस्थिरतामा वृृद्घि भयो । जब मुद्रास्फीतिको चिन्ता केही कम हुन्छ, मूल्य पुनःनिर्धारण प्रक्रिया पनि सीमित बन्छ, सबैतिरका सेयर भाउमा सुधार आउँछ र डलरको भाउ कमजोर बन्छ । इरानी निर्यातमा प्रतिबन्धको चिन्ता, अमेरिका–चीन व्यापार युद्ध र इटालीमा वाम दक्षिणपन्थी लोकप्रियतावादी सरकार गठनजस्ता तीन राजनीतिक झट्काको आँधीका कारण बजार प्रभावित हुँदा मे महिनामा डलरको कमजोरी र विश्व सेयर बजारको वृद्घि अचानक उल्टियो । 

अक्टोबर महिनामा राजनीतिक जोखिममा कमी आएसँगै उदीयमान बजारको गतिविधि पनि उत्कृष्ट बन्दै गयो, सेयर बजारमा पनि स्थायित्व (युरोपमा पनि) आयो, तेलको भाउ पनि प्रतिबन्धपूर्वको समयमा रहेको दर अर्थात् प्रतिब्यारेल ६०–६५ डलरमा फर्कियो र डलरको बृद्धि पनि रोकियो । छोटकरीमा भन्नुपर्दा बजार बदलिँदो राजनीति र बृहत् आर्थिक तत्वहरूसँग अघि बढ्दै गयो । तर, डिसेम्बरको सुरुवातमा यी सबै अचानक अनियन्त्रित बन्न पुगे । डिसेम्बर २४ सम्म अमेरिकी सेयर बजार सूचक कुनै उपयुक्त कारणविना नै १६ प्रतिशतले घट्यो, कच्चा तेल ब्रेन्ट क्रुडको भाउ पनि प्रतिब्यारेल ६१ डलरबाट घटेर ५० डलरमा आयो, डलरको भाउ पुनः बलियो बन्यो र १० वर्षे अमेरिकी ऋणपत्रको प्रतिफल ३ प्रतिशतबाट घटेर २ दशमलव ७ प्रतिशतमा ओर्लियो । 

यो वर्ष आर्थिक वृद्घि गत वर्षको जस्तै सुदृढ वा त्योभन्दा अझ बढी बलियो बन्छ भन्ने यदि प्रमुख आधारहरूले संकेत दिएका छन् भने गत महिना अचानक किन सेयर मूल्य र ऋणपत्र प्रतिफलमा कमी आयो त ? राजनीतिक उथल–पुथलका कारण लगानीकर्ता अन्योलमा परेको र उनीहरूले अब के हुन्छ भन्ने कुराको अनुमान नै गर्न छाडेका कारण यस्तो भएको हो त ?

यदि यस्तो हो भने बजार, प्रक्षेपणकर्ता बन्नुको साटो हालैका घटनाहरूलाई अलग राख्दै प्रतिक्रियाशील बन्ने थियो । ‘कसैलाई केही पनि थाहा नभएको’ विश्वमा लगानीकर्ताहरू भविष्यको अनुमान लगाउने कुरामा हलिउडका उद्यमीभन्दा अरू बढी केही हुन सक्दैनन् ।

एनाटोल कालेत्सी गाभेकल ड्र्यागोनोमिक्सका प्रमुख अर्थविद् तथा उपाध्यक्ष हुन् ।
कपिराइट : प्रोजेक्ट सिन्डिकेट, २०१९
(नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्यमा)
www.project-syndicate.org