१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नारायण सिवाकाेटी काठमाडौं
२०७७ असार २६ शुक्रबार ०७:४१:००
Read Time : > 3 मिनेट
अर्थ

'वर्क फ्रम होम' कमजोर वर्गलाई लाभदायक देखिएन : आइएमएफ 

विद्यमान असमानतालाई थप बलियोसँग गहिर्‍याउने निश्चित

Read Time : > 3 मिनेट
नारायण सिवाकाेटी काठमाडौं
२०७७ असार २६ शुक्रबार ०७:४१:००

रोजगारीको दुनियाँमा नवीन संस्कृतिका रूपमा उदाउँदै गएको वर्क ट्रेन्ड ‘वर्क फ्रम होम’ कमजोर वर्गका लागि फलदायी देखिएन । तर, यो प्रवृत्तिले विद्यमान असमानतालाई थप बलियोसँग गहिर्‍याउने भने निश्चित भएको छ । 

अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)ले ३५ वटा विकसित र उदीयमान मुलुकमा (१ सय ८९ सदस्य मुलुकमध्येबाट) ‘वर्क फ्रम होम’को सम्भाव्यताबारे गरेको अध्ययनमा ती मुलुकका झन्डै १० करोड कामदार घरबाट काम गर्न असमर्थ रहेको पाइएको छ । सोही कारण उनीहरूको रोजगारी उच्च जोखिममा रहेको भेटिएको छ । जुन संख्या ती मुलुकको कुल श्रमबलको १५ प्रतिशतबराबर हो ।

कोभिड–१९ को महाव्याधिले विश्व श्रम बजारको काम गर्ने तौरतरिका र संस्कृतिलाई बदल्दै लगेको छ । तर, ‘वर्क फ्रम होम’ एवं ‘रिमोट्ली वर्किङ’जस्ता नयाँ कार्य संस्कृति महाव्याधिका कारण सबैभन्दा बढी प्रभावित समूहका लागि भने प्रभावकारी नहुने आइएमएफको अध्ययनले देखाएको छ ।

बेलायतको पछिल्लो तथ्यांकले काम गर्ने उमेर समूहका झन्डै आधा अर्थात् ४९ प्रतिशतले घरबाटै काम गरिरहेका छन् । महाव्याधिअघि यो संख्या केवल ५ प्रतिशतको हाराहारीमा थियो । यद्यपि, बढी मारमा परेको समूह भने यो नवीन संस्कृतिबाट समेत उल्टो प्रताडित हुने देखिएको छ । 

कोभिड–१९ को महाव्याधिले श्रम बजारमा करोडौँले रोजगारी गुमाएका छन् । थुप्रै पेसाको भविष्यलाई नै अन्योल बनाइदिएको छ । सामाजिक दूरीको मापदण्डले कार्यस्थलमा भौतिक उपस्थिति अपरिहार्य हुने खालका र प्रत्यक्ष अन्तक्र्रिया हुने कामलाई बढी जोखिममा पारेको छ । जो घरबाट काम गर्न असमर्थ छन्, तिनको रोजगारी गुमेको छ ।

न्यून वेतनयुक्त काम गर्ने कम शिक्षित, गरिब, महिला र भर्खरका युवायुवतीको रोजगारी सबैभन्दा बढी गुमेको छ । रेस्टुराँ, होटेल, होलसेल तथा थोक व्यापारजस्ता धेरै मारमा परेका अनौपचारिक क्षेत्रको काम वर्क फ्रम होम मिल्ने प्रकृतिको छैन । अर्काे यी क्षेत्रमा काम गर्ने कामदारमा त्यसखालको सीप, साधन र योग्यतासमेत हुँदैन । त्यसैले उनीहरूमध्ये धेरै या त बेतलबी बिदामा छन्, या त सधैँका लागि रोजगारी गुमाएका छन् । 

अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार कोभिड–१९ ले श्रम बजारमा अपेक्षा गरिएभन्दा कडा प्रभाव पारेको छ । महिला, न्यून ज्याला र अनौपचारिक क्षेत्रमा काम गर्नेहरूले सबभन्दा बढी रोजगारी गुमाएका छन् । जसबाट विश्व अर्थतन्त्रले यो वर्षको दोस्रो त्रैमासिकमा ४० करोड पूर्ण रोजगारीबराबरको क्षति साक्षात्कार गरेको छ ।

यो वर्षको बाँकी अवधिमा विश्व श्रम बजारले विश्वव्यापी कार्यघन्टामा ४ दशमलव ९ प्रतिशतको क्षति भोग्ने र त्यसबाट १४ करोड पूर्ण रोजगारीबराबरको क्षति हुने प्रक्षेपण आइएलओले गरेको छ । तर, संक्रमणको दोस्रो इनिङ सुरु हँुदा ३४ करोड पूर्ण रोजगारीबराबरको क्षति हुने आइएलओको प्रक्षेपण छ । 

‘हाम्रो वर्क फ्रम होमको सम्भाव्यताको सूचकांकले एउटै पेसामा पनि मुलुकैपिच्छे उल्लेख्य भिन्नता रहेको देखायो । टेलिवर्क गर्न नर्वे र सिंगापुरमा सबैभन्दा सजिलो छ । त्यसपछि टर्की, चिली, मेक्सिको, इक्वेडर र पेरु आउँछन् ।

किनकि, अधिकांश उदीयमान एवं विकासशील मुलुकमा आधाभन्दा धेरैसँग घरमा कम्प्युटर नै छैन,’ आइएमएफको प्रतिवेदनमा भनिएको छ । उत्पादन प्रक्रियामा प्रविधिको प्रधानता, डिजिटल पूर्वाधारमा पहुँच, शिक्षा र सीपजस्ता कुरालाई हामीले टेलिवर्किङको सम्भाव्यता भएको कामको सूचकांकमा राखेका छौँ ।

‘होटेल एवं रेस्टुराँ (फुड एन्ड अकोमोडेसन), होलसेल र खुद्रा व्यापारका काम टेलिवर्क गर्न कमै मिल्ने खालका छन् । तर, मार भने यिनै क्षेत्रमा बढी परेको छ । यसको अर्थ हामीले नमुना छनोट गरेकै मुलुकका यी क्षेत्रमा काम गर्ने २ करोडभन्दा धेरै कामदारले रोजगार गुमाउने जोखिम छ,’ आइएमफले भनेको छ, ‘तल्लो उमेर समूह र उच्च शिक्षा हासिल नगरेका कामदारले घरबाटै टेलिवर्क गर्ने सम्भावना कम छ ।

लकडाउन र सामाजिक दूरीको नीतिले जुन उमेर समूहका कामदारलाई बढी मार पारेको छ, तिनै कामदार वर्क फ्रम होमका लागि पनि योग्य छैनन् । त्यसैले यो संकटले अन्तरपुस्तागत असमानतालाई थप चर्काउने खतरा छ ।’

त्यसैगरी, टेलिवर्किङबाट महिला कम लाभान्वित हुँदा लैंगिक समानतामा पछिल्ला दशकमा हासिल भएको उपलब्धि मेटिने खतरा बढेको छ । किनकि, फुड एन्ड एकोमोडेसनजस्ता लकडाउनबाट थलापरेका क्षेत्रमा महिलाहरूको संख्या पुरुषको तुलनामा निकै ठूलो छ । साथै, उनीहरूलाई बालबच्चाको हेरचाह एवं घरधन्दाको बोझ पनि हुन्छ ।

टेलिवर्किङबाट लाभान्वित नहुने समूहमा साना तथा मध्यम खालका कम्पनीका पार्टटाइम कामदार रहेको आइएमएफको अध्ययनले देखाएको छ । किनकि, यो समूहलाई कुनै पनि कम्पनीले अप्ठ्यारो पर्दा पहिले निकाल्छ र परिस्थिति सुधार हुँदा पनि सबैभन्दा अन्तिमा मात्रै हायर गर्छ । साथै, स्वास्थ्य सेवा एवं बिमामा पनि यो समूहको खासै पहुँच हुँदैन । विशेषगरी, विकासशील मुलुकका पार्टटाइम कामदार र अनौपचारिक क्षेत्रका कामदारले रोजगारी गुमाउँदा उनीहरू नाटकीय रूपले गरिबीमा प्रवेश गर्ने जोखिम रहन्छ ।

लकडाउन र सामाजिक दूरीको मापदण्डबाट रोजगारीमा तुलनात्मक रूपमा कम प्रभाव परेको औपचारिक क्षेत्रका कामदार नै टेलिवर्किङबाट पनि लाभान्वित हुँदै छन् । जसकारण समाजमा सदीयाँैदेखि विद्यमान असमानताहरू थप गहिरिने देखिँदै छ । 

‘हाम्रो अनुसन्धानमा वर्क फ्रम होमका लागि सबैभन्दा कम आय भएका कामदार नै सबैभन्दा कम सक्षम पाइए । हामीले लिएको अमेरिका र अन्य मुलुकको बेरोजगारीको ताजा तथ्यांकले यो महाव्याधिको संकटले आयको असमानतालाई थप गहि¥याउने देखाउँदै छ,’ आइएमएफको प्रतिवेदनले भनेको छ । 

जोखिममा परेकालाई कसरी जोगाउने ?

यो महाव्याधिले अधिकांश क्षेत्रको काम गर्ने तौरतरिकालाई बदल्ने देखिँदै छ । अब उपभोक्ताहरू इ–कमर्समा अधिक निर्भर हुने र उनीहरूले एकैपटक धेरै सरसामान मगाउने प्रवृत्तिको विकास हुने हुँदा खुद्रा कामहरूमा कमी आउने, रेस्टुराँका कामदारहरूको श्रम बजार खुम्चिने प्रतिवेदनमा उल्लेख छ ।
 
बढी प्रभावित यो वर्गका कामदार र तिनका परिवारलाई बचाउन अब सरकारहरूले उनीहरूसम्म बिमा एवं सामाजिक सुरक्षाको जालोको विस्तार गर्नुपर्ने सुझाब पनि कोषले दिएको छ । साथै, पारिश्रमिक अनुदान एवं सामुदायिक रोजगारीका कार्यक्रमले उनीहरूलाई पुनर्बहालीको अवधिमा जीवन गुजारा चलाउन सजिलो हुनेछ । 

बढ्दो असमानता घटाउन र भविष्यका कामका लागि कामदारलाई तयार गरी राम्रो भाविष्य दिन सरकारले उनीहरूको शिक्षा र तालिममा जोड दिनुपर्छ । त्यसैगरी, डिजिटल पूर्वाधारमा लगानी र डिजिटल असमानताको अन्तर घटाउँदै पछाडि परेको समूहलाई भविष्यको अर्थतन्त्रमा अर्थपूर्ण सहभागिता गराउन सकिने कोषको सुझाब छ ।