१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मुस्ताफा अकियोल
२०७७ असार २६ शुक्रबार ०७:२७:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

शक्तिशालीहरू कमजोरलाई मार्न सक्छन्

कुरान सातौं दशकमा लेखिएको हो र त्यसमा ब्लड मनीको अवधारणा एक बिलकुल फरक समाजको फरक उदेश्य पुर्ति गर्न ल्याइएको थियो 

Read Time : > 2 मिनेट
मुस्ताफा अकियोल
२०७७ असार २६ शुक्रबार ०७:२७:००

सन् २०१८ अक्टोबरमा साउदी पत्रकार जमाल खसोगीको हत्याको घटना विश्वभर समाचार बन्यो । जमाल खसोगी साउदी युवराज मोहम्मद बिन सलमानका आलोचक थिए । खसोगी आफ्नो सुरक्षाका लागि निर्वासित जीवन बाँचिरहेका थिए, तर विवाहका लागि कागजात मिलाउन इस्तानबुलस्थित आफ्नो देशको वाणिज्य दूत पसेका खसोगी फेरि फर्किएनन् । उनी वाणिज्य दूतावासभित्रै मारिए । 

यो हत्याले पश्चिमी विश्वमा तरंग ल्यायो । उता साउदी अरब भने यो घटनालाई ढाकछोप गर्न केन्द्रित भयो । पहिले साउदी पदाधिकारीले वाणिज्य दूतावासभित्र खसोगीको हत्या नभएको जिकिर ग-यो । पछि खसोगी विशेष स्क्वाडबाट मारिएको साउदी प्रशासनले स्विका-यो । तर, साथमा खसोगीको हत्या प्रकरणबारे युवराजलाई कुनै जानकारी नरहेको बताइयो । अहिले आएर जमाल खसोगीका जेठा छोरा सलाह खसोगीले आफूले पिताका हत्यारालाई माफी दिएको घोषणा गरेको खबर आएको छ । साउदी कानुनअनुसार सलाहको घोषणा यो मुद्दा बन्द गराउन पर्याप्त हुन्छ ।

अप्रिलमा सलाहलगायत जमालका अन्य सन्तानले साउदी शासकबाट तिनको पिताको हत्याको क्षतिपूर्तिबापत दसौँ हजार डलर पाएको र दसौँ लाख डलरबराबरको घरजग्गा पाएको समाचार आएको थियो । परिवारको एक सदस्यको ‘माफी’बाट कसरी हत्याको घटना बन्द हुन सक्छ ? र, यसका लागि परिवारका सदस्यले ठूलो रकम पाउने कुरा कानुनी र सांस्कृतिक रूपमा कसरी मान्य हुन्छ ? जवाफ ‘दिया’ अथवा ‘ब्लड-मनी’को अवधारणामा भेटिन्छ । साउदी अरबमा दशकौँदेखि यो व्यवस्था अभ्यासमा छ । 

कुरानले ब्लड–मनीलाई कबिलाबीचको रक्तपात रोक्ने ‘जीवनदान’को मार्गको रूपमा अघि सारेको थियो, धनीहरूलाई जघन्य अपराधबाट मुक्त गर्न होइन 

दिया अथवा ब्लड–मनी ‘हत्या सधैँ दण्डित हुनुपर्ने अपराध नभएर व्यक्तिगत क्षतिपूर्तिमार्फत पनि हानि पूर्ति गर्न सकिन्छ’ भन्ने अवधारणामा आधारित छ । अर्को शब्दमा भन्दा यदि मैले तपाईंको छोरी मारेँ भने तपाईंले या त मेरो मृत्युदण्ड माग गर्न सक्नुहन्छ या मबाट तपाईंले सहमतिअनुरुपको ब्लड–मनी स्वीकार गर्न सक्नुहुन्छ । यदि मैले सहमत भएको पैसा तिरेँ भने म कुनै कानुनी कारबाही नभोगी उम्किन सक्छु । यस अभ्यासको प्रतिरक्षा गर्नेहरू यो न्यायको एक विधि भएको बताउँछन् । तर, यो अभ्यासमा टेकेर शक्तिशालीले कमजोरलाई मार्न सक्छन् । साउदी अरबमा व्यापक रूपमा यो अभ्यास हुने गर्छ । 

सन् १९९० मा यो कानुन पाकिस्तानसमेत निर्यात भयो । पाकिस्तानमा यो कानुन ‘अनर किलिङ’का अपराधीलाई उन्मुक्ति दिने माध्यम बनेको छ । घरकी छोरीले परिवारको कथित ‘प्रतिष्ठा’मा धक्का पु-याएको लागेमा परिवार उसलाई मार्ने निर्णयमा पुग्छन्, पीडितको दाजुभाइ हत्या गर्छन् र घरका पिता हत्यारा छोरालाई ‘ब्लड–मनी’ लिएर ‘माफी’ दिन्छन् । ब्लड–मनी दुरुपयोगका विभिन्न घटनाका कारण एक पाकिस्तानी प्राज्ञ हसन जाभिदले ब्लड-मनीसम्बन्धी सम्पूर्ण कानुन खारेज गर्न आह्वान गरेका छन् । 

ब्लड–मनीसम्बन्धी कानुन पाकिस्तान, साउदी अरेबिया, युएई तथा इरानमा लागू छ । यी देशमा यो कानुनमाथि प्रश्न उठे पनि सुधारको सम्भावना भने कमजोर छ । ब्लड-मनीको अवधारणा कुरानबाट आएको हो । केही मुसलमानहरू कुरानसँग जोडिएका विषयविरुद्ध बहस गर्न चाहँदैनन् । तर, यस्तो विचार राख्नेले एक महत्वपूर्ण ऐतिहासिक पक्षलाई बेवास्ता गरिरहेका हुन्छन् । कुरान सातौँ दशकमा लेखिएको हो र त्यसमा ब्लड-मनीको अवधारणा एक बिल्कुल फरक समाजको फरक उद्देश्य पूर्ति गर्न ल्याइएको थियो । 

यो कुरा हामी १२औँ शताब्दीका सुन्नी प्राज्ञ फकर अल–दि अल–राजीको एक लेखबाट बुझ्न सक्छौँ, जहाँ लेखिएको छ– इस्लामको जन्म हुनुअघि अरब क्षेत्र विभिन्न कबिलाहरूको युद्धक्षेत्र थियो । तिनलाई जोड्ने कुनै कानुन वा प्राधिकार थिएन । यी कबिलामा एक–अर्काको हत्याको बदला हत्या हुने गर्थ्याे । केही कबिला एकको हत्याको बदलामा दुई वा बढी मानिसको हत्याको माग गर्थे । यसले पुस्ताैँ पुस्तासम्म बदला र हत्याको शृंखला सुरु गराउँथ्यो । त्यस समयका केही प्रगतिशील मानिस तथा परम्पराले मानिसको ज्यान लिनुभन्दा ब्लड-मनीजस्तो अभ्यासको परम्परा प्रयोग गर्थे ।

कुरानले त्यसवेलाको यही प्रगतिशील अभ्यासलाई जोड दिएको थियो । त्यसैले कुरानले ब्लड–मनी ‘जीवनदान’को उद्देश्यका साथ कबिलाबीचको द्वन्द्व कम गर्ने उपायको रूपमा ल्याएको थियो, धनी मानिसलाई आफ्नै छोरीको हत्याबाट उम्कने वा शासकले आलोचकलाई मारेर उम्कने बहानाको रूपमा होइन । कुरानका नियमलाई सीधा-सीधा प्रयोगमा ल्याउनुभन्दा तिनमा निहित न्याय प्राप्तिको उच्च उद्देश्य जुन छ, त्यसमा जोड दिइनुपर्छ । त्यही दृष्टिकोण लिएकाले अन्तिम क्यालिफेटको कार्यभार सम्हालेको अटोमन साम्राज्यले ब्लड-मनी लिइए पनि हत्याराले कानुनमा व्यवस्था भएअनुरूप सजाय पाउने व्यवस्था गरेको थियो । 

(मुस्ताफा अकियोल क्याटो इन्स्टिच्युटमा इस्लाम तथा आधुनिकताका सिनियर फेलो हुन् ।)

न्युयोर्क टाइम्सबाट