मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २६ शुक्रबार ०६:१६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

सार्वजनिक यातायात सञ्चालन खुला, भाडा ५० प्रतिशत वृद्धि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २६ शुक्रबार ०६:१६:००

- उपत्यकाबाहिर भने जिल्लाभित्र मात्र सञ्चालन गर्न पाइने

- ट्याक्सीबाहेक अन्य सार्वजनिक सवारीको भाडामा तत्कालका लागि ५० प्रतिशतले वृद्धि 

- सिट क्षमताको आधा मात्र यात्रु बोक्न पाइने 

- जोर–बिजोर प्रणाली सार्वजनिक सवारीमा पनि यथावत् 

- सवारीसाधन नचलाउने यातायात व्यवसायीको प्रतिक्रिया

............................

सरकारले काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला)भरि सार्वजनिक सवारीसाधन सञ्चालन खुला गर्ने निर्णय गरेको छ । त्यस्तै, काठमाडौं उपत्यकाबाहिर भने एक जिल्लाबाट अर्को जिल्लामा सवारीसाधन जान नपाइने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

त्यस्तै, यात्रा गर्ने सबैलाई मास्क अनिवार्य गरिएको छ भने सार्वजनिक सवारीसाधनमा भाडादर ५० प्रतिशत वृद्धि गरिएको छ । ‘सवारीसाधनको सिट क्षमताभन्दा आधा मात्र यात्रु बोक्न पाउने भएकाले सञ्चालन खर्च जुटाउन ५० प्रतिशत भाडा बढी लिन पाउने व्यवस्था गरिएको हो,’ डा. खतिवडाले भने । अहिलेको व्यवस्था कायम रहँदा मात्र यो भाडादर कायम रहने पनि सरकारले स्पष्ट पारेको छ । 

ट्याक्सीमा दुईजना यात्रु बोक्न पाउने, तर भाडा यथावत् रहने 

सरकारले सार्वजनिक यात्रुबाहक ट्याक्सीमा दुईजना मात्र बोक्न पाउने गरी खुला गरिएको छ । एकै परिवारका भए पाँच वर्षमुनिका बालबालिकालाई भने चढाउन पाइनेछ । निजी सवारीसाधन र मोटरसाइकलमा समेत यो नियम लाग्नेछ । अन्य सार्वजनिक सवारीसाधनमा भाडा वृद्धि गरे पनि ट्याक्सीमा भने भाडा वृद्धि गरिएको छैन । 

त्यस्तै, सरकारले उद्योग, प्रतिष्ठान र निजी सेवाप्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारीसाधनमा सिटको एक लहरमा एकजना मात्र राख्न पाइनेछ ।

हामी गाडी चलाउँदैनौँ : यातायात व्यवसायी 

लामो समयदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्नका लागि दबाब दिँदै आएका यातायात व्यवसायीले भने सरकारको निर्णय पालना नगर्ने प्रतिक्रिया दिएका छन् । ‘सरकारले एकलौटी कुनै जानकारीविना सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेको छ । यसलाई हामी मान्दैनौँ,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले भने ।

महासंघअन्तर्गत २ सय ९४ वटा कम्पनी रहेको र ती सबैले सार्वजनिक सवारी नचलाउने उनको भनाइ छ । ‘हाम्रा गाडी सडकमा आउँदैनन्, अरूको आएमा हामीलाई सरोकार भएन,’ उनले भने । शुक्रबार बिहान बैठक डाकिएको र त्यसले के गर्ने भन्ने निर्णय गर्ने अध्यक्ष कर्माचार्यले जानकारी दिए । 

सार्वजनिक यातायात सञ्चालनको स्वास्थ्य मापदण्डमा के छ ?

सार्वजनिक यातायातमा यात्रा गर्दा स्वास्थ्य मापदण्ड पालना अनिवार्य गरिएको । यात्रु चढ्ने वेलामा सवारीसाधनको ढोकामा र सवारीसाधनभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ । चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउनुपर्नेछ ।

त्यस्तै, सवारीसाधनलाई दैनिक निसंक्रमित गर्नुपर्नेछ । सार्वजनिक सवारीसाधनले सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्न पाउनेछन् । ढोकामा स्यानिटाइजर राख्नुपर्ने र सवारीसाधनभित्र सामाजिक दूरी हुने गरी यात्रु राख्नुपर्ने नियम लागू गरिएको छ । जोर–बिजोर प्रणाली सार्वजनिक यातायातका लागिसमेत लागू हुनेछ । सार्वजनिक सवारीसाधनलाई सफा राख्नुपर्नेछ ।  

सम्भव भएसम्म भाडालाई डिजिटल माध्यमबाट गर्ने व्यवस्था गरिनेछ । सार्वजनिक यातायातका साधनमा सिट क्षमताको आधा मात्र यात्रु चढाउन पाइनेछ । यसको नियमन ट्राफिक प्रहरीले नियमित अनुगमन गर्ने योजनासमेत मापदण्डमा छ । यात्रु चढ्दा र ओर्लंदा तोकिएको दूरी कायम गर्नुपर्नेछ । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले तयार भएको मापदण्डलाई कार्यान्वयनमा विशेष जोड दिने बताए ।