मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार २६ शुक्रबार ०५:५०:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अनलाइन मात्र पढ्ने विद्यार्थीलाई अमेरिकाबाट फर्काउने निर्णय

Read Time : > 2 मिनेट
२०७७ असार २६ शुक्रबार ०५:५०:००

विश्वविद्यालय तथा कलेजमा अनलाइन कक्षा मात्रै लिने विद्यार्थीलाई फर्काउने अमेरिकी सरकारको निर्णयले १० हजारभन्दा बढी नेपाली विद्यार्थी प्रभावित हुने भएका छन् । कोभिड–१९ का कारण शैक्षिक संस्थामा उपस्थित हुन नसक्ने अवस्था आएपछि अमेरिकामा अहिले अनलाइन कक्षा सञ्चालन भइरहेका छन् । तर, अनलाइन मात्र पढ्ने विद्यार्थीलाई अमेरिका नराख्ने निर्णयले लाखौँ खर्च गरेका विद्यार्थी अप्ठ्यारोमा परेका हुन् । युएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्टले अनलाइन अध्ययन गर्ने विद्यार्थी अमेरिकामा बस्न आवश्यक नभएको भन्दै आफ्नै देश पठाउने निर्णय गरेको हो ।

यो निर्णय कार्यान्वयन भएमा अमेरिकामा अध्ययनरत अन्य देशका विद्यार्थी प्रभावित हुनेछन् । कक्षामा पढ्न नगए देश छाड्नुपर्ने वा अर्को ‘फेस टु फेस’ पढाइ हुने शैक्षिक संस्थामा भर्ना हुनुपर्नेछ । यसले अमेरिकामा अध्ययनरत १० हजार नेपाली विद्यार्थी मर्कामा पर्ने नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेले बताए । सन् २०१८ मा काठमाडौंस्थित अमेरिकी दूतावासले सार्वजनिक गरेको तथ्यांकअनुसार १३ हजार दुई सय ७० विद्यार्थी रहेका थिए । पढाइ सकेका तथा गत वर्ष अमेरिका गएका विद्यार्थीको तथ्यांक विश्लेषण गर्दा १० हजार नेपाली विद्यार्थी अध्ययनरत रहेको अध्यक्ष पाण्डेको भनाइ छ । 

शिक्षा मन्त्रालयका अनुसार ०७३/७४ मा तीन हजार चार सय ८३, ०७४/७५ मा एक हजार सात सय ७४, ०७५/७६ मा एक हजार चार सय ९१ विद्यार्थीले अमेरिकामा अध्ययनका लागि वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लगेका थिए । त्यस्तै, ०७६/७७ मा सात सय ४७ जनाले एनओसी लगेका छन् । चालू आर्थिक वर्षमा कोरोना भाइरसका कारण एनओसी लिनेको संख्या निकै कम छ । अमेरिकामा भिसा लागेपछि मात्र एनओसी लिनुपर्ने भएकाले ९९ प्रतिशत विद्यार्थी जाने गरेको अध्यक्ष पाण्डेले बताए । कतिपय अमेरिका गएपछि एउटै तहमा पनि फरक विषय अध्ययन गर्दै आएका छन् । अमेरिकी सरकारको यो निर्णय आगामी अगस्ट र सेप्टेम्बरबाट कार्यान्वयन हुनेछ । 

विदेशी विद्यार्थीलाई अमेरिकामा बस्ने वातावरण बनाउन केही शैक्षिक संस्थाले केही विषय कक्षामा ‘फेस टु फेस’ र केही विषयको अनलाइन कक्षा गरी हाइब्रिड बनाउने तयारी गरेका छन् । कतिपय विश्वविद्यालयले हाइब्रिड कक्षा सञ्चालन गर्ने निर्णय पनि गरेका छन् । हाइब्रिड कक्षा सञ्चालन गरेमा विद्यार्थी घर फर्कन बाध्य हुने छैनन् । 

अमेरिकामा समय, पैसा र सपना जोखिममा छन् : केशव सापकोटा फ्रांकलिन युनिभर्सिटी, कोलम्बस

म सन् २०१६ मा अमेरिका आएको थिएँ । अहिले फ्रांकलिन युनिभर्सिटीमा कम्प्युटर साइन्समा मास्टर्स डिग्री गरिरहेको छु । कोरोनाका कारण विश्वविद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् । तर, सरकारले अमेरिका आएर अनलाइनमा मात्र पढ्नेलाई घर फर्काउने निर्णय गरेको छ । यो निर्णयले सबै विद्यार्थी तनावमा छन् । विश्वविद्यालयहरू पनि अन्योलमा छन् । हार्वर्ड र एमआइटी विश्वविद्यालयले सरकारको निर्णयविरुद्ध अदालतमा मुद्दासमेत हालेका छन् । यो निर्णय अब आउने सेसनबाट लागू हुनेछ । भर्खरै अमेरिका आएका तथा पहिलेदेखि आएर समय र पैसा खर्च गरेका सबैलाई तनाव छ । पैसा र समय धेरै खर्च भएको छ, पढाइ आधा मात्रै भएको छ । अब नेपाल गएर कोर्स सक्न सम्भव हुँदैन । त्यसैले यतिवेला अमेरिकामा समय, पैसा र सपना जोखिममा छन् । 

शिक्षा मन्त्रालयले पहल सुरु गर्‍यो

शिक्षा मन्त्रालयले अमेरिकामा रहेका विद्यार्थीको अवस्था बुझ्न र समस्या समाधानका लागि पहल सुरु गरेको छ । शिक्षा मन्त्रालयका सहसचिव रामशरण सापकोटाले बिहीबारबाट विद्यार्थीको समस्याका विषयमा छलफल सुरु गरेको बताए । मन्त्रालयले गम्भीर रूपमा लिएको र परराष्ट्र मन्त्रालयमार्फत विस्तृत जानकारी लिने सहसचिव सापकोटाले बताए । 

अमेरिकास्थित नेपाली दूतावासका इकोनोमिक काउन्सिलर होमकान्त भण्डारीले नयाँ नियमका सम्बन्धमा नेपाली विद्यार्थीबाट दूतावासमा गुनासो नआएको, तर गैरआवासीय नेपाली संघलगायतका संघसंस्थाले चासो प्रकट गरेको बताए ।