मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७७ असार २५ बिहीबार १५:२१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिन्धुपाल्चोक बाढी : बेपत्ता सबैको पहिचान खुल्यो

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७७ असार २५ बिहीबार १५:२१:००

रातभरि परेको चीनजोड्ने सिन्धुपाल्चोकका कोदारी राजमार्ग किनारका तीन गाउँ बगाएको छ । बाह्रबिसे नगरपालिकाको जम्बु, खाकदल र भोटेकोसी गाउँपालिकाको बुल्कोटे क्षेत्रमा बाढीले बितण्डा मच्चाएको हो । 

बाढीले जम्बुमा १४ घर, खाकदलमा २० घर र भोटेकोसीको वडा ४ मा रहेको बुल्कोटे गाउँको दुई घर बगाएको हो । सिंगार्चेबाट झरेको याल्मो खोलामा आएको पहिरो मिश्रित बाढीले बाह्रबिसे नगरपालिका– ५ को जम्बु बजार बगाएको छ ।

ठाडो खोलाले भोटेकोसी नदीलाई थुनेपछि पानीको बहाब बढेकोले तटीय क्षेत्रको थुप्रै घर र सडक कटान गरेर क्षतविक्षत भएको हो । त्यसैगरी खाकदल र बुल्कोटे खोलामापनिपहिरो मिसिएर आएको बाढीले गाउँ बगाएको हो । बाढी र पहिरो आएको पहिल्यै थाहा भएकाले  खाकदलका २० घर परिवार भने भाग्न सफल भएका छन् । 

बाढीमा परेर जम्बुनिवासी २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरीको मृत्यु भएको छ । शव स्थानीयले बजारभन्दा एक सय मिटर तल बिहान पाँच बजे फेला पारेका थिए । बाढीले घर बगाउँदा सख्त घाइते अवस्थामा भेटिएका बुल्कोटे बस्तीका फुर्वा तामाङ र उनका १० दिने बालकलाई गाउँपालिकाले हेलिकोप्टरबाट काठमाडाैं  लगिएको छ । त्यसैगरी जम्बुमा घाइते सुवेश तामाङ र सविता तामाङलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । उनीहरूको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । 

बाढीमा जम्बुका भीमबहादुर वाइबा, चीनमाया वाइबा, लीलामाया वाइबा, पासाङडोल्मा वाइबा, निमाडोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाला वाइबा, जनकबहादुर थिङ, सलिना तामाङ, आकाश तामाङ, तोकबहादुर तामाङ, समेली तामाङ, सुवेश तामाङ, युक्तबहादुर तामाङ,मध्यभोटेकोसी लजविद्युत् आयोजनाका साइट सेक्रेटरी हिमेश शर्मा र जाइकामा कार्यरत इन्जिनियर आकाश केसी बेपत्ता छन् । 
 त्यसैगरी भोटेकोसी– ४ कानिमादोर्जे तामाङ, मञ्जु तामाङ, पासाङ नोर्बु तामाङ र साहिल तामाङलाई पनि बाढीले बगाएर बेपत्ता पारेको छ । 

उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी भोटेकोसी नदीको तटीय क्षेत्रमा क्रियाशील रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । 

जम्बुको ११ घर बगाएको छ । तीन घरमा आंशिक क्षति पुगेको छ । बेपत्ताको खोजी कार्य भइरहेको बाह्रबिसे नगरका मेयर निम्फुञ्जो शेर्पाले बताए । उद्धार कार्यमा सबै सुरक्षा अंगलाई परिचालन गरिएको उनले बताए । जुरेमा पहिरो आएकोले अरनिको राजमार्ग अवरुद्ध छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुख प्रहरी  नवराज न्यौपानेले निरन्तर वर्षात् भइरहेको र सडक बन्द भएकोले उद्धार कार्यमा कठिनाइ भएको बताए ।