मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार २५ बिहीबार १४:२५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काममा फर्किए पूर्वराजाको चियाबगानका मजदुर

Read Time : > 1 मिनेट
२०७७ असार २५ बिहीबार १४:२५:००

झापाको दमकस्थित पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको हिमालय–महालक्ष्मी चियाबगानका मजदुर काममा फर्किएका छन् । समयमा ज्याला नदिएको तथा अन्य सेवा–सुविधासमेत नदिएको भन्दै आन्दोलनमा उत्रिएका मजदुरहरू तीन दिनपछि काममा फर्किएका हुन् ।

मंगलबार र बुधबार काम बन्द गरेर आन्दोलनमा उत्रिएका मजदुरहरूले बिहीबार बिहानभर बगानको कार्यालय घेराउ गरेका थिए । सहमति गर्ने, तर कार्यान्वयन नगरेका कारण आन्दोलनमा उत्रिनुपरेको मजदुरको भनाइ छ । तर, दमक नगरपालिकाका जनप्रतिनिधिले चियाबगानका मालिकसँग समन्वय गरेर सेवा–सुविधा उपलब्ध गराउने भनेपछि मजदुरहरू काममा फर्किएका हुन् । ‘बिहीबार बिहान ९ बजेबाट आन्दोलन स्थगित भयो । केही दिनभित्र बगान सञ्चालकलाई बोलाउने सहमति भएको छ,’ मजदुर नेता दीपक फुँयालले भने, ‘त्यसपछि सबै सेवा–सुविधा माग्ने सहमति भएको छ । वार्ता गर्ने सर्तमा मजदुर काममा फर्किए ।’ 

चिया टिप्ने मुख्य सिजन भएका कारण मजदुरलाई काममा फर्कन आग्रह गरिएको दमक– ४ का वडाध्यक्ष कुमार सम्सुहाङले बताए । ‘नगरपालिकाले भारतीय कम्पनी र सोल्टी ग्रुपलाई पत्र काट्ने निर्णय गरेको छ । बगान सञ्चालक सोल्टी ग्रुपका रवी केसीसँग फोनमा कुरा भयो । उहाँले आफू आउन नसक्ने भन्नुभयो । तर, नगरपालिकाले आउने स्वीकृति दिने निर्णय गरेको छ,’ उनले भने, ‘केही दिनभित्र ज्याला उपलब्ध गराउने र बाँकी सुविधा क्रमशः दिन लगाउने सहमति गऱ्याैँ । मजदुरले अहिले काम गरेनन् भने सिजनको चिया बिग्रेर जान्छ । त्यसैले काममा फर्कन लगाउने भएका छौँ ।’ 

मजदुरको एक करोड ४३ लाख पैसा सञ्चय कोषमा जम्मा हुन बाँकी रहेको मजदुर नेता फुँयाल बताउँछन् ।  सञ्चय कोषको रकम त के बगानबाट सेवानिवृत्त भएका र मृत्यु भइसकेकाले पाउने उपदानबापतको  पाँच लाख ३६ हजार रकमसमेत नदिएको उनले बताए । 

‘बगानमा पसिना बगाएर काम गरेका रिटायर्ड भएका मजदुरले अहिलेसम्म उपदान पाएका छैनन् । उपदान नपाउँदा बिरामी परेका मजदुरले उपचार गराउन पनि पाएनन्,’ उनले भने, ‘केही मजदुरको त मृत्यु भइसक्यो । तर, उपदान भने अझै पाएनन् ।’

यस्तै, सरकारले श्रमिकको ज्याला बढाएको ०७५ साउन १ देखि चैत १६ गतेसम्मको बढेको ज्याला मजदुरहरूले पाएका थिएनन् । सरकारले बढाएको ज्याला माग गर्दै गत साल मजदुरहरू आन्दोलनमा उत्रिएपछि बगान सञ्चालकले उक्त अवधिको ज्याला उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । त्यो समयको ६१ लाख ९८ हजार ७०५ रुपैयाँ रकम पनि एकमुष्ट उपलब्ध गराउन श्रमिकको माग छ ।

यो चियाबगानमा तीन सय १६ जना स्थायी मजदुर कार्यरत छन् । उति नै संख्यामा अस्थायी मजदुर पनि रहेका छन् । श्रम ऐनअन्तर्गत बगानमा कार्यरत मजदुरले दैनिक तीन सय ८५ रुपैयाँ पाउँदै आएका छन् । पूर्वराजाको स्वामित्वमा रहेको यो चियाबगान अहिले सोल्टी ग्रुपले व्यवस्थापन गर्दै आएको छ । उसले भारतीय कम्पनीलाई लिजमा दिएर बगान सञ्चालन गर्दै आएको छ ।