सिन्धुपाल्चोकमा आएकाे बाढीपहिरोबाट पीडित बनेकाहरूकाे छिटाे उद्धार गर्न देउवाको माग
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकका बाढी र पहिरोपीडितको छिटाे उद्धार गर्न सरकारसँग माग गरेका छन् ।
गए मध्यरातमा सिन्धुपाल्चोकको भोटेकोसी र अन्य साना नदीमा आएको बाढीले पुऱ्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै देउवाले तत्काल युद्धस्तरमा उद्धारको कार्य गर्न सरकारसमक्ष माग गरेका हुन् ।
बाढीमा परेर हालसम्म दुईजनाको मृत्यु भएको छ भने केही बेपत्ता अवस्थामा छन् ।
बाढी र पहिरोको असरले अरनिको राजमार्गसमेत अवरुद्ध भएको छ ।
‘सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न आग्रह गर्नुभएको छ,’ सभापति शेरबहादुर देउवाको तर्फबाट केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सिन्धुपाल्चोकका नेपाली कांग्रेसका साथीहरूलाई सभापति देउवाले तत्काल उद्धारमा खटिन निर्देशन गर्नुभएको छ ।’
बाढीका कारण अमूल्य जीवन गुमाउने दुई नागरिकको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै देउवाले मृतकको आत्माको चिरशान्तिको कामना पनि गरेका छन् ।
साथै, देउवाले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
वर्षाको समयमा अन्य स्थानहरूमा पनि बाढीपहिराेजस्ता विपत्ति आउने भन्दै विपत् व्यवस्थापनको उच्चस्तरीय तयारी गर्न पनि देउवाले सरकारको ध्यानाकर्षण गराएका छन् ।