मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नारायण सिवाकोटी
२०७७ असार २५ बिहीबार ०६:१७:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

अमेरिकाको एकपछि अर्को तारो बन्दै चिनियाँ कम्पनीहरू

अमेरिकाले चिनियाँ एप टिकटकलगायत अन्य सबैखाले चिनियाँ सामाजिक सञ्जालहरूलाई समेत प्रतिबन्ध गर्न खोज्दै छ

Read Time : > 2 मिनेट
नारायण सिवाकोटी
२०७७ असार २५ बिहीबार ०६:१७:००

चीनलाई जबर्जस्ती व्यापार युद्धमा घिसारेको अमेरिकाले पछिल्लो समय एकपछि अर्काे चिनियाँ प्रविधि कम्पनीलाई तारो बनाउँदै लगेको छ । 

ताररहित टेलिकम्युनिकेसन प्रविधिमा चिनियाँ कम्पनी ह्वावे अमेरिकी कम्पनीहरूभन्दा अग्रणी बनेर निक्लिएपछि ह्वावेले विकास गरेको फाइभजी प्रविधिलाई नै अमेरिकाले प्रतिबन्ध लगाइदिएको छ । साथै, अन्य मुलुकहरूलाई पनि ह्वावेलगायत कुनै पनि चिनियाँ कम्पनीका प्रविधि प्रयोग नगर्न दबाब दिइरहेको छ । 

अमेरिकाले चिनियाँ एप टिकटकलगायत अन्य सबैखाले चिनियाँ सामाजिक सञ्जालहरूलाई समेत प्रतिबन्ध गर्न खोज्दै छ । चीनसँगको सीमा विवादमा भारतीय २० सैनिक मारिएपछि भारतले भने टिकटकलगायतका सबै चिनियाँ एप बन्द गरिदिएको छ । 

प्रविधिमा अग्रणी नबनेसम्म विश्वको आर्थिक महाशक्ति बन्न सकिँदैन भन्ने बुझेको चीनले उन्नत प्रविधिको विकास एवं रणनीतिक वस्तुहरूको उत्पादनमा जोड दिइरहेको छ । यहीबीच चीनको सेमिकन्डक्टर प्रविधि कम्पनी सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेसनल कर्पाेरेसन (एसएमआइसी)ले सेयर बिक्री गरेर ७ अर्ब ५० करोड डलर लगानी जुटाउने भएको छ । एसएमआइसीको लगानी जुटाउने यो प्रयासलाई सिएनएन, ब्लुमबर्गलगायतका विश्वका प्रमुख मिडियाले निकै चासो र महत्वका साथ कभरेज गरेका छन् । यो चीनको सबैभन्दा ठूलो सेमिकन्डक्टर उत्पादक हो । एसएमआइसीले कम्पनीको सेयर सांघाई स्टक एक्सचेन्जमा सूचीकृत गरेर स्वदेशी लगानीकर्ताबाटै यो राशि उठाउन खोजेको छ ।

स्मार्ट फोनदेखि कम्प्युटर र दूरसञ्चार उपकरणहरूमा नभई नहुने सेमिकन्डक्टर प्रविधिमा चीन अमेरिकाभन्दा वर्षाैँ पछाडि छ । चीन स्वदेशी चिप मेकिङ प्रविधिलाई सन् २०३० सम्ममा विश्वका अग्रणीहरूको बराबरीमा उभ्याउन चाहन्छ । ‘मेड इन चाइना २०२५ इनिसिएटिभ’मार्फत उन्नत प्रविधिको विकासमा अमेरिकासँग प्रतिस्पर्धा गर्ने प्रयास गरिरहेको छ । अहिले चीनले उपयोग गर्ने अधिकांश सेमिकन्डक्टर (चिप्स) विदेशी कम्पनीबाट आपूर्ति गर्छ । अघिल्लो वर्ष सन् २०१९ मा चीनले ३ खर्ब ६० अर्ब डलरको सेमिकन्डक्टर (चिप्स) आयात गरेको थियो । यसलाई चीनले कम्प्युटर, स्मार्ट फोन, दूरसञ्चार उपकरणलगायत निर्माणमा प्रयोग गर्छ । 

विश्वव्यापी म्यानुफ्याक्चरिङमा २८ प्रतिशतको हिस्सेदारी भएको चीनको सेमिकन्डक्टरको आयातले चीनको कुल आयातको १५ प्रतिशत ओगट्छ । चीनको म्यानुफ्याक्चरिङको आँकडा अमेरिका, जापान र जर्मनीको कुलभन्दा बढी हो । तर, कम्प्युटर, मोबाइल एवं आधुनिक स्मार्ट उपकरणहरूमा प्रयोग हुने सेमिकन्डक्टरका लागि भने चीन विदेशी प्रविधि कम्पनी खासगरी अमेरिकी कम्पनीहरूमा बढी नै निर्भर छ । सन् २०१८ मा कुल ४ खर्ब ४९ अर्ब डलरको प्रविधि आयात गरेको चीनले यस वर्ष ३ खर्ब ११ अर्बभन्दा बढीको सेमिकन्डक्टर आयात गरेको चाइना मनी नेटवर्कको तथ्यांकले देखाउँछ । 

चिनियाँ आयातमा ठूलो हिस्सा प्रविधिको हुने गरेको तथ्यांकले देखाउँछ । चीनको सेमिकन्डक्टरको आयात कुल प्रविधि आयातको ७० प्रतिशत छ । चीनले सन् २०१८ मा मेमोरी चिप्स मात्रै १ खर्ब २२ अर्ब डलरको आयात गरेको थियो । अन्य खालका सेमिकन्डक्टर १ अर्ब ८९ अर्ब डलरको आयात गरेको थियो । 

एप्पललगायत विश्वका थुप्रै प्रसिद्ध प्रविधि कम्पनीको उपकरण निर्माण गरिदिने चीन ती उपकरणमा प्रयोग हुने उन्नत प्रविधिको चिप्स र कम्प्युटर प्रविधिका लागि भने अमेरिकी प्रविधि चीनकै मुख ताक्छ । सेमिकन्डक्टरको उत्पादनमा दक्षिण कोरियाली कम्पनी सामसङ, अमेरिकी कम् धपनी इन्टेल र एसके हाइनेक्स (दक्षिण कोरिया) पछि चिनियाँ कम्पनी टिएसएमसी चौथो नम्बरमा छ । 

पछिल्लो समय चीनले चिप निर्माणमा अर्बाैं डलर लगानी गरिरहेको छ । जसको पछिल्लो उदाहरण एसएमआइसीको यो सेयर बिक्री योजना हो । किनकि, चीन सेमिकन्डक्टर उत्पादन बढाउँदै लगेर विदेशी कम्पनीमाथिको परनिर्भरता घटाउन चाहन्छ । यो कम्पनीका प्रमुख सेयर होल्डरमा राज्य नियन्त्रित कम्पनीहरू छन् । एसएमआइसी यो पैसा सेमिकन्डक्टर प्रविधिको विकासमा लगाएर आफ्ना विश्वव्यापी प्रतिस्पर्धीसँगको प्रतिस्पर्धामा उत्रिन चाहन्छ ।

त्यसैले एसएमआइसीले सोमबार कुल ७ अर्ब ५० करोड डलरको सेयर बिक्रीका लागि सांघाई स्टक एक्सचेन्जमा निवेदन दिएको छ । जुन सन् २०१० मा चीनको एग्रिकल्चर बैंक एसिजिबिएफको ६८ अर्ब ५० करोड युआनपछिको दोस्रो ठूलो सेयर अफरिङ हो ।

 यो कम्पनी चीनको सबैभन्दा ठूलो चिपमेकर हो । यो कम्पनीले चिप्स उत्पादनबाट सन् २०१९ मा २२ अर्ब युआन (३ अर्ब १० करोड डलर) आम्दानी गरेको छ । आइसी इन्साइटका अनुसार सेमिकन्डक्टरको उत्पादनमा ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टिएसएम), ग्लोबल फन्डराइज र युनाइटेड माइक्रो इलेक्ट्रोनिक्स कर्पाेरेसनपछि एसएमआइसी चौथो नम्बरमा आउँछ ।